
११ मार्च २०२१ को दिन हङकङको आकास निकै सफा र निलो थियो। कोभिडको कहर चुलिएको त्यो समय हप्तौँसम्म दैनिक पचास हजारभन्दा बढी केस दर्ज र दर्जनौँको मृत्युको समाचारले भने सारा हङकङ सहर त्राहिमाम थियोे। जनस्वास्थ्य सेवामा संसारकै उत्कृष्टमध्ये एक मानिने हङकङमा बिरामीहरु अस्पतालको आँगनमै छटपटाएर बेडको पालो कुर्दाको दृश्य हेर्दा लाग्थ्यो, यो हङकङ नै हो त? मूलभूमि चीनले दर्जनौँ विज्ञ र हजारौँ स्वास्थ्यकर्मी हङकङ पठाएको थियो। युद्धस्तरमा अस्थायी अस्पताल निर्माण गरिँदै थियो।
लडाइँमा जाने सैनिकभन्दा पनि अझै बढी जोखिम मोलेर डाक्टर, नर्सलगायत स्वास्थ्यकर्मीहरु र प्रशासन मानव जीवन बचाउन अहोरात्र लागिपरेका थिए।

मौसमले लोभ्याएपछि सहरभन्दा गाउँतिरै जाने विचार आयो। हङकङको पदयात्रामा खासगरी गर्मीको मौसममा दुर्घटनाका समाचार अलि बढी नै सुनिने गर्छन्। त्यसैले कम्तीमा एकजना मात्र भए पनि साथी हुनपर्ने पुरोधिका बेन्जु गौतमको आग्रह मान्न खोज्दा ढिलो भएकोले कोही उपलब्ध भएनन् त्यो दिन। गर्मीमा हिँड्न उनले पनि जाँगर चलाईनन्।
मोबाइल नेटवर्क टिप्ने, मान्छेहरु धेरै हिँड्ने, सजिलो बाटो र बेलाबेलामा फोन सम्पर्कमा रहने बाचासहित पानीको बोतल, झोला र लट्ठी टेकेर म एक्लै बाटो लागेँ।
यस्ता खाले बाटोमध्ये तुङचुङबाट ऐतिहासिक गाउँहरु पाक मङ, नागु काउ लोङ, ताइ ओ र तिन लिउ हुँदै स्थानीय भाषामा मुइओ भनिने सिल्भर माइन बे करिब साढे दुई घण्टामा पुगिन्छ। यहाँबाट थकाइ लागे बसबाट वा जाँगर चले फेरि हिँडेरै तुङचुङ फर्किन पनि सकिन्छ। अझ फूर्ति आए अर्को डेढ घण्टामा डिस्कभरी बे भनिने हङकङको वातावरणमैत्री सहरी बस्ती जाने मार्ग पुगिने बाटो सजिलो सुरक्षित र असाध्यै रमणीय छ। त्यहाँबाट पनि बस चढेर वा हिँडेरै तुङचुङ र पानीजहाज चढेर मुख्य हङकङ द्वीप पुग्न सकिन्छ।
त्यो दिन कतै नबसी ठिक दुई घण्टा १० मिनेटमा आफैँले नामाकरण गरेको मुइ ओको चौतारो पुगेँ म। नेपालकै याद आउने यो चौतारो भने अचम्मको लाग्छ मलाई जहिल्यै। रुखमा एकैपटक निकै माथि चारैतिर फैलिएका हाँगाहरु र छपक्कै झिँगटीले छाएजस्तो वा सालको पातको लपेस जस्तो टपक्क मिलेको यसका ठूला पातहरुले सानोसानो झरी नै ओत्छजस्तो लाग्छ। ठाउँठाउँबाट सूर्यका किरणहरु भने छिर्ने यो रुख देखाएर म सहयात्री साथीहरूलाई भन्ने गर्छु– ल हेर्नुस् अजङ्गको प्राकृतिक झल्लरी छाता। यो खाले रुखहरु नेपालमा चाहिँ देखिनँ मैले। योसँगै दुई तले सिमेन्टेड घरको भुँइतल्लामा चिसो मादक र गैरमादक पेय पदार्थ सहित तरहतरहका आलु चिप्स, कुरकुरे तथा अन्य हल्का खाजा बेच्न बसेका हँसिला मिजासिला चिनियाँ बाआमाले मलाई चिन्छन्–चिन्दैनन् थाहा छैन। मैले भने चिन्न थालेको वर्षौं भएको छ। हुन त हङकङ नयाँनयाँ छँदा सबै स्थानीय चिनियाँहरु उस्तै लाग्थ्यो मलाई। सायद उनीहरुलाई पनि त्यस्तै भएको हुनपर्छ।
छपक्कै पसिनाले भिजेपछि एउटा मात्र चिसो बियर पिएर डिस्कभरी बे नै पुग्ने सोचाइ आयो। यद्यपि मादक पदार्थ पिएर गरिने पदयात्रा स्वास्थ्यको लागि हानिकारक हो भनिन्छ। तर उखर्माउलो गर्मीमा समुद्र सतह बराबरकै उचाइ भएको ठाउँमा भने थोरै पिउँदा टनिककै काम गरेको अनुभव हुन्छ मलाई चाहिँ।
‘मम्मी, पापा! ले हो मा? एक्को तोङ पिचाउ हुम्कोइ! (बाआमा तपाईंहरुलाई कस्तो छ? कृपया एउटा चिसो बियर दिनुस्),’ मैले भनेँ।
पढदै गरेको स्थानीय अखबार छाडेर आमाले उठेर मलाई हेर्दै ‘अ हौ हौ (मलाई ठिक छ, ठिक छ),’ भनिन्।
बा पनि मतिर हेरेर मुस्कुराए।
यसपालि भने चिनिछन् आमाले, ‘योर पिचाउ’ भन्दै सान मिगल लाईट बियर चाहिँ दिइन् र सोधिन्, ‘साथीहरू खै त? तिमीहरू आउँछौ भनेर राखेको।’ उनले फ्रिजभित्रको हामीले पिउने बियरको कुनिउँ देखाइन्।
मैले भनेँ, ‘आज म एक्लै, अर्कोपटक सबैजना आउँला।’
हङकङको सानमिगेल ब्रुअरीको उत्पादन यो बियरमा सोडियम, सुगर शून्य र अल्कोहलको मात्रा पनि ३.७ प्रतिशत मात्र भएकोले आजकल धेरैको रोजाइमा पर्छ। अझ साथीभाइको घरमा पाहुना खान जाँदा समेत कमलजीको बियर भनेर अगाडि राखिदिन्छन् सबैले। बियरको तलतल पनि मेटिने स्वास्थ्यलाई खासै असर पनि नगर्ने।
बाहिर चौतारोमा राखिएको मेच तानेर बसेँ। समुद्र पारिपट्टि अनुहार फेर्दै गरेको मुइ ओको पुरानो बस्तीबीचमा जेठ र असारमा मकै बढेझैँ निस्केका नयाँनयाँ आवासीय घरहरु, अर्ध चन्द्रमा आकारमा फैलिएको समुद्री तट, लान्ताउ र चिमा वान पेनेन्सुलाको पहाडी सेरोफेरो र थुम्कोहरु सफा मौसमका कारण प्रष्ट देखिन्छ। समुद्रको ज्वारभाटा एकनास आउँदै जाँदै गरेको आवाज र दृश्य हेरेर मन अघाउँदैन। ओहोरदोहोर गरिहेका स्थानीय र विदेशी पदयात्रीहरुको चहलपहल बाक्लै छ।
दृश्यसहित बियरको क्यानको फोटो खिचेर प्रकृतिप्रेमी समूह भन्ने हाम्रो एउटा ह्वाट्सएप समूहमा छोटो कविता सहित पोस्ट गरेँः
थरीथरीका बियरहरुको
कुनिउँ लगाएर
रैथाने बटुवाहरुको बाटो हेर्दै
बसेका बाआमाले
साथीहरू खै त भनेपछि
मात्र एउटा बियरलाई
सहिद बनाएर
बाटो लाग्यो ऊ
फेरि सबैजना आउँला भनेर!
भनिन्छ– यो संसारमा कोही पनि यति धनी छैन, जसले आफ्नो बाल्यकाल र जवानी फिर्ता गर्न सकोस्। साथीहरूले मात्र समयसमयमा बिनाकुनै शुल्क ती क्षणहरु सिर्जना गर्न मद्दत गर्न सक्छन्।
यो भनाइ कसको हो, थाहा भएन। तर हालसालै एकजना मित्रले यो भनाइ सम्प्रेषण गरेका थिए हाम्रो समूहमा।
नेपालका विभिन्न भागबाट कर्मले डोर्याएर हङकङ टेकेपछि चिनाजानी भएका उमेर भोगाइ र विचार मिल्नेहरुको यो समूहलाई कोभिडको कहरले अझै नजिक बनाएको थियो पछिल्लो समय। कहिले ठूलै र कहिले सानो समूहमा मिलेर हङकङका वनजंगल र गोरेटोहरु नापेको दर्जनौँ पटक भयो।
मेरो कवितासहितको फोटो देखेपछि एक जना मित्रले सोही ग्रुपमा लेखे, ‘नसा भएच गाँठे दिनदिनै हिँड्ने। के भएको हो? भोलि त पक्का हो नि बेमान नगर्नु नि।’
‘ए भाइ म सानो टेक्निकल काममा छु भोलि, त्यै भएर गाह्रो नमान्नु,’ मैले लेखेँ।
अर्थात् उनी त्यसको भोलिपल्ट पनि हाइकिङ जान चाहन्थे मसँग। मभन्दा थोरै कम उमेरका उनीसँग तँ तँ म म चल्ने भएकोले उनले स्थानीय चिनियाँ भाषामा ‘तिउ…’ भन्दै भएजति गाली लेखे।
‘चाइनिज संस्कृत नबोल न भाइ, बरु यहाँ बाआमाले सोधेका छन् सबैलाई,’ मैले लेखेँ।
‘इमानदारीका साथ बेमान गरिदिने? यस्तै हो भने त हिन्दीमै दिनुपर्ला जस्तो भो,’ फेरि उनले लेखे।
अनि तुरुन्तै फोन गरे मलाई र भने, ‘धोका नदे न यार, भोलि जाउँ न हाइकिङ प्लिज!’
‘ल त ल त्यसोभए जाउँला। तर अलि ढिलो है। आज पनि थाकियो,’ भन्दै म डिस्कभरी बेतिर उकालो लागेँ।
भोलिपल्ट पनि मौसम असाध्यै सफा भएकाले हङकङको दोस्रो अग्लो लान्ताउ पिकमा जाने र करिब दुईतीन घण्टा बिताउने निधो गर्दै करिब १२ बजेतिर तुङचुङको बस बिसौनीमा भेट्यौँ।
यात्रीहरुको लामै लाईन थियोे। बृटिस शासनकालदेखि नै दक्षिण लान्ताउलाई वातावरणमैत्री क्षेत्र घोषित गरिएकोले यतातिर जान सार्वजनिक बस वा निलो रङको ट्याक्सीहरुलाई मात्रै अनुमति छ।
त्यो क्षेत्रमा स्थायी बसोबास भएकाहरुले भने यातायात विभागको स्वीकृतिमा निजी सवारी साधन चलाएर जान पाउँछन।
हामी बस चढ्यौँ। करिब २० मिनेटमै तुङचुङ र दक्षिण लान्ताउबीचको पाक कुङ आउ भनिने भन्ज्याङमा ओर्लियौँ। जहाँबाट बायाँ लागे सनसेट पिक र दायाँ लागे लान्ताउ पिक पुगिन्छ। हामी दायाँतिर सोझियौँ।
करिब २० मिनेटको उकालोपछि दायाँतिर एउटा विश्रामस्थल छ। चिनियाँ शैलीको यो आधुनिक टहरोमा बस्ने काठको लामो मेचहरु र छेउपट्टिबाट हङकङ विमानस्थल र तुङचुङ सहरको दृश्य हेर्न सकिन्छ।
सन् २००३ अगस्ट २६ मा यहीँ नजिकै हङकङको आपतकालीन हवाई उद्धार सेवाको हेलिकोप्टर दुर्घटना भएको थियो। जसमा अरुको ज्यान बचाउन खटिएका क्याप्टेन पिटर पेङ र उनका सहकर्मी डिक्सन चेन दुवैले ज्यान गुमाएका थिए त्यो दिन। उनीहरुको सम्झनामा यहाँ एउटा शिलालेख सहितको स्मारिका राखिएको छ।
‘ए फोटो खिच् त मेरो यसरी बसेको,’ भन्दै पोज दिए सहयात्री मित्रले। फेरि उठेर अर्को पनि। उनका मात्र दुई वटा तस्बिर खिचेर केही उट्पट्याङ जोकसहित प्रकृतिप्रेमी समूहमा हालिदिएँ। हामी फेरि उकालो चढन थाल्यौँ।
करिब १० मिनेट हिँडेपछि उनले ‘कस्तो छाती अप्ठ्यारो भो, बसौं न है एकछिन’ भने।
‘हुन्छ,’ मैले भनेँ, ‘बिहान ब्रेकफास्ट के खाएको थियो?’
‘प्यानकेक, ससेज, सखरखण्ड,’ सबै मेनु बताए उनले।
‘सायद ग्यास्ट्रिकले होला, मलाई पनि हुन्छ कहिलेकाहीँ,’ मैले भनेँ।
उनलाई खलखल पसिना आयो, अप्ठेरो बढेको महसुस गरेँ मैले।
चैतवैशाखमा गहुँ चुट्ने, मकै रोप्ने, जेठमा गोड्ने, असारमा रोपाइँ गर्ने, भदौरे घाममा मकै भाँच्ने देशका हामी यस्तो कहीँकतै सुनिएन। तरतरी पसिना बगाएर भारी बोकेर हिँड्नेहरुले कुवा, धारो, इनार वा खोला भेटेपछि मात्रै पानी पिउन पाउँथे।
बरु स्कुले जीवनमा गर्मी महिनामा बिहान सतर्क, गोडाफाट्, दायाँ घुम्, बायाँ घुम् भनेर श्रीमान गम्भीर गाउँदा एकदुई जना विद्यार्थी मुर्छा परेर बिउँतिन्थे। उसलाई छारेरोग लागेको छ, जुत्ता सुँघाए ठिक हुन्छ भन्ने देश र जमानाको हामी।
एकैछिनमा चाहिनेभन्दा बढी तरङ्गमा धेरै बहकिएछु। आफूलाई निकै नियन्त्रण गरे पनि साथीको दुखाइ कम हुनुभन्दा बढ्दै गएझैँ लाग्यो। मैले उनलाई जुत्तामोजा फुकालेर टिसर्टको टाँक खोलेर जमिनमा सुत्न भनेँ। त्यसै गरे उनले।
अब भने मलाई निकै डर लाग्न थाल्यो।
हङकङमै प्राथमिक उपचार अर्थात फर्स्ट एडको ३ दिने प्रशिक्षण लिँदालिँदै अल्छी लागेर दुई दिनमै छोडेको थिएँ। म त्यसमा विज्ञ परिनँ। खासगरी हङकङका वनजंगलका खुल्ला ठाउँमा आपतकालीन उद्धारमा हेलिकप्टर आउँछ तर पनि हामी बसेको ठाउँको दायाँबायाँ झपक्कै ठुल्ठूला रुखहरु भएकोले त्यो सम्भव थिएन।
फेरि माथिबाट हेर्दा देखिने विशेष टल्किने पोसाक पनि हामीले लगाएका थिएनौँ।
यत्तिकैमा लान्ताउ पिक तिरबाट दुई जना युरोपेली मूलका पदयात्री ओर्लंदै आए।
‘आर यु गाइज अलराइट? निड एनी हेल्प?’ उनीहरुले रोकिएर सोधे। मैले साथीतिर हेरेँ।
‘सम चेस्ट पेन, सुड बी ओके,’ उनैले भने।
उनीहरुले झोलाबाट एउटा ट्याब्लेट दिएर भने, ‘क्यान ट्राइ दिस, जस्ट च्यु एन्ड स्वालो विद वाटर। यु क्यान फिल बेटर।’ उनीहरु बाटो लागे। त्यो त्यत्तिकै खाइहाल्ने कुरा पनि आएन।
‘एम्बुलेन्स बोलाउँ?’ मैले साथीलाई सोधेँ?
‘हैन कमलजी ग्यास्ट्रिकले होला, गएको महिना पुरै स्वास्थ्य परीक्षण गराउँदा त्यस्तो नराम्रो केही देखिएन। बरु अस्ति भर्खरै कोभिड पोजिटिभ भएको बेला दोस्रो डोज बायोएनटेक लगाएर गल्ती गरिएछ कि क्या हो?’ उनले भने।
‘ठिकै छ, आज लान्ताउ पिक नजाउँला। बरु दुख्न निको भए नजिकै अर्को क्याच वाटर फिस भन्ने तेर्सो बाटो हुँदै सिकपेक रिजर्भ्वायरतिर झरौँला, चिन्ता नगर्नुस्,’ मैले भनेँ। तर एकदम चनाखो भएर हेर्दा उनलाई निकै गाह्रो भएको र उनले निकै सहेको महसुस गरेँ मैले।
‘म एम्बुलेन्स बोलाउँछु अब!’
‘हुन्छहुन्छ,’ उनले मुन्टो हल्लाए। माथि भनिएझैँ दैनिक ५०/६० हजार केस आएको त्यो समयमा ३९ घण्टासम्म एम्बुलेन्स नआएको समाचार पढिएको थियो भर्खरै। झन् डर लाग्यो।
सोझो औँलाले घिउ आउँदैन भनेझैँ अलिकति बढाइचढाइ गरेरै भन्छु भनेर आपतकालीन नम्बर ९९९ घुमाएँ।
‘हेलो दिस इज हङकङ पुलिस,’ उताबाट तुरुन्तै आवाज आयो।
मैले भनेँ , ‘मी एन्ड माइ फ्रेन्ड अन द वे टु लान्ताउ पिक। हि ह्याब हेभी चेस्ट पेन एन्ड आफ्टर द्याट सडेन्ली अनकन्सियस, अर्जेन्टली आइ निड हेल्प प्लिज!’
‘सर, डु यु निड हेलिकोप्टर रेस्क्यु एट लान्ताउ पिक?’ उताबाट आवाज आयो।
‘वि आर नट एट लान्ताउ पिक।’
‘नो हेलिकोप्टर, एम्बुलेन्स सुड बि ओके, वि आर नियर पाक कुङ आउ बस स्टप, जस्ट २०/३० मिनेट अप टु द हिल।’
त्यत्तिकैमा अस्पताल र अग्नि नियन्त्रक पनि फोन वार्तामा जोडिइसकेका रहेछन्।
‘सर होल्ड अन योर फ्रेन्ड, स्टिल ब्रिदिङ?’
मैले नट फिलिङ वेल वा फिलिङ डिजी मात्रै भने उनीहरुले कम प्राथमिकतामा राखेर उद्धार गर्न ढिलो भए जे पनि हुनसक्थ्यो।
‘एस, हि इज ब्रिदिङ बट अनकन्सियस,’ अझै जोड दिएर भनेँ।
त्यसोभए उनलाई समथर जमिनमा सुताएर गोडापट्टिको भाग अग्लो गराउन भने।
मैले साथीको झोला खुट्टामुनि राखेर एम्बुलेन्स आउँदैछ, यु विल बि फाइन भनेर ढाडस दिन लाग्दा तल तुङचुङको रोडमा साइरन बजेको मधुरोमधुरो आवाज सुनेपछि पक्कै यहीँ आउँदै होला भन्ठानेर मन ढुक्क भयो।
एम्बुलेन्सबाटै एक्ज्याट लोकेसनको लागि गुगल सर्चबाट स्क्रिन सट गरेर दिइएको ह्वाट्सएप नम्बरमा पठाउन अनुरोध आयो तुरुन्तै। म टेक्नोलोजीमा उम्दा होइन अब कसरी त्यो गर्नु? बरु दौडँदै तल ओर्लिएर उनीहरूलाई बाटो देखाइदिने सोच आयो।
साथीले वार्तालाप सुनिरहेका रहेछन्। भने, ‘चस्मा दिनुस् म कोसिस गर्छु, बरु गर्मी भयो एकदमै।’
मैले भनेँ, ‘आराम गर्नु, केही हुँदैन म आफैँ तल दौडन्छु’ भन्दै बोतलको पानी उनको निधार र पैतालामा हालिदिएँ।
म उनलाई थुम्थुम्याएर ओरालो दौडिन लागेँ। केही तल पुगेपछि भाग्यवश एउटा युवा जोडी उकालो लाग्दै गरेको देखेँ। भेट्न त भेटियो तर मान्ने हुन् कि हैनन्! कोभिडको कहरले कोही कसैको फोन लिएर फोटो खिचिदिन मान्दैनथे त्यो बेला। परदेखिनै तर्केर बाटो छोड्थे अक्सर सबैले।
‘एक्सक्युज मी, आइ निड योर हेल्प। माइ फ्रेन्ड इज अन्कनसियस जस्ट अप, एम्बुलेन्स इज अन द वे दे निड एक्ज्याकट लोकेसन। क्यान यु प्लिज टेल देम इन योर ल्याङ्वेज?’
मैले अलि छिटो बोलेँ सायद, नबुझेर वा के हो युवक अलि अनकनाए जस्तो गरे। तर युवती टाठी रहिछन् ‘एस एस स्योर’ भनिन्। मैले अघिकै ह्वाट्सएप नम्बर घुमाएँ र दिएँ।
उनले कुरा गरिसकेपछि ‘एस दे अन्डस्ट्यान्ड एक्ज्याक्ट लोकेसन एन्ड अलरेडी एराइभ्ड पाक कुङ आउ बस स्टप’ भनिन्।
उनलाई थ्यांक यु सो मच भन्दै म साथी भएतिरै उकालो लागेँ दौडँदै। ‘एम्बुलेन्स तल आइसक्यो, नआत्तिनु,’ मैले साथीलाई भनेँ, उनले मुन्टो हल्लाए।
त्यतिबेलै दुई जना अग्नि नियन्त्रक स्वाँस्वाँ फ्वाँफ्वाँ गर्दै निथ्रुक्कै पसिनाले भिजेर दौडँदै आइपुगे। उनीहरु आएको हेर्दा यस्तो लाग्थ्यो उनीहरु फायर फाइटर हैनन ओलम्पिक खेलमा गोल्ड मेडल जित्न दौडेका धावक हुन्।
तुरुन्तै रक्तचाप र अक्सिजन लेबल चेक गरे। रक्तचाप निकै बढी र अक्सिजन लेबल भने कम रहेछ। तुरुन्तै झोलाबाट दुई वटा पहेँलो ट्याब्लेट निकालेर भने, ‘क्यान यु च्यु एन्ड स्वालो?’ त्यसपछि वाकीटकीमा कुरा गर्दै अस्थायी अक्सिजन मास्क लगाइदिइ हाले। फोन गरेको करिब १५ मिनेटमै उनीहरु आइपुगेका थिए।
म त्यति आस्तिक नभए पनि यी दुई अग्निनियन्त्रक मान्छे हैनन् साक्षात देवदूत नै हुन् भन्ने लाग्यो मलाई। त्यत्तिकैमा अरु थप अग्निनियन्त्रक सहित प्रहरी र स्वास्थ्यकर्मी गरी १२/१५ जनाको समूह आइपुग्यो। उनीहरुले एकआपसमा कुरा गर्दै एउटा टोलीले स्ट्रेचार तयार गर्यो।
उनीहरुले ढिलो नगरी साथीलाई स्ट्रेचरमा हालेर बोके। बाटो साँघुरो ओरालो भएकाले चार जना फायरफाइटरले बोके भने अरु आठजना पालैपालो उनीहरूलाई सघाउँदै काँध दिँदै तल ओर्लिन लागे। साथीको झोला, जुत्ता र आफ्नो झोला बोकेर म पछिपछि लागेँ।
तल सडकमा ३ वटा प्रहरी, फायर डिपार्टमेन्ट र अस्पतालका भ्यान रहेछन्।
एम्बुलेन्सको पछाडि ढोकामा एउटा सफा फोल्डिङ बेडमा साथीलाई राखे।
यदि संसारमा कुनै अदृश्य दैवी शक्ति छ भने त्यसलाई धन्यवाद दिएँ, साथीको सकुशल उद्धार भएकोमा। एकजना मान्छेको ज्यान बचाउन वा उद्यार गर्न तल पर्खिएकाहरु समेत गन्दा २३ जना जम्मा भएका रहेछन्।
देश र सरकार भनेको यस्तो पो हो त, जनताको जिउधन रक्षाको लागि! मेरो आँखा रसायो।
देश, सिमाना, झण्डा, जातजाति, राजनीति, आस्था, धर्म सबै मान्छेले बनाएका हुन्। यसकै अहंकारमा रुमल्लिएको छ यो दुनियाँ। यी उद्धारकर्मीहरुजस्तै मानवता, करुणा, दया, परोपकारी भावना भएका सबै भइदिए अन्त कतै स्वर्गको कल्पना कसैले गर्दैनथ्यो होला मान्छेले सायद।
राज्य र विद्रोही पक्षबाट १७ हजार जनताले ज्यान गुमाएर परिवर्तन ल्याइएको देशका हामी। अझै परिवर्तनको स्पष्ट खाका देख्न र अनुभव गर्न कति पर्खनु पर्ने हो? पद र कुर्सीको तिकडम हेर्दाहेर्दा सुन्दासुन्दा आँखा टट्टाइसके, कान थाकिसके।
म यसरी अन्तै हराउँदै गर्दा नजिकैबाट आवाज आयो। ‘क्यान वी ह्याभ योर फ्रेन्ड्स पासपोर्ट प्लिज?’ प्रहरी जवानले सोधेका रहेछन्।
‘हि ह्याभ पर्मानेन्ट हङकङ आईडी कार्ड।’
‘ओके, ओके वी विल मिट यु एट लान्ताउ हस्पिटल’ भन्दै भ्यान चढे उनीहरु।
उनीहरूलाई विदेशी देखिने हामी हङकङका स्थायी र अस्थाइ बासिन्दा, पर्यटक वा शरणार्थी भिसा को हुन्, उपचार गर्ने रकम छछैनसँग मतलब थिएन। पहिलो प्राथमिकता बस् ज्यान बचाउनु थियोे, त्यसै गरे।
‘सर यु प्लिज कम फास्ट’ भन्दै एम्बुलेन्स चढ्न इसारा गरे स्वास्थकर्मीले मलाई। प्रहरीको गाडी पछिपछि निकै आपतकालीन अवस्थामा बजाइने साइरन बजाउँदै एम्बुलेन्स हुँइकियो। साथीलाई अझै गाह्रो भएकोझैं लाग्थ्यो। स्वास्थ्यकर्मीहरुले लगातार हातले र सायद विद्युतीय उपकरणले लगातार सीआरपी दिइरहेका थिए।
म आस्तिक नभए पनि त्यो बेला भगवान मेरो साथीलाई केही हुनु हुँदैन भन्दै आँखा चिम्लेर दुई वटा हातका औँला बेस्सरी कस्दै लान्ताउ बुद्ध, गणेश, जिसस क्राइस्ट, शिरडी बाबादेखि पशुपतिनाथ र सम्झेजतिसम्मको काल्पनिक देवताको आकृतिमा पुगेँ मनमनै।
हङकङमा उनीसँग जति म सायदै अरु कसैसँग हात पड्काएर हाँसेको छैन होला। उनकै अगाडि उनकै हुबहु क्यारिकेचर गर्दा जहिल्यै मरीमरी हाँस्छन् उनी र अरु साथीहरू। सधैँ पदयात्रा र भेटघाटमा विश्व राजनीति, अर्थतन्त्र र स्वदेशको राजनीतिक उतारचढाव अनि हङकङको व्यापारव्यवसायबारे मन्थन गर्थ्यौँ हामी जहिल्यै। हङकङमा छोटो समयमै एकल मेहनतमै व्यावसायिक उचाइ हासिल गर्ने नेपालीहरुमध्ये एक हुन् उनी।
भरपुर अनुत्तरित प्रश्नमा भयङ्कर डराएर डग्मगाएको थिएँ म भित्रभित्रै त्यो दिन। बाहिर यसो हेर्दा एम्बुलेन्सले वाइएमसीए स्कुल काटिसकेछ। लगातार उपचारमा एकाग्र स्वास्थकर्मीहरुलाई बिस्तारै सोधेँ, ‘इज हि अलराइट?’
‘हि सुड बि, एन्ड वी आर भेरी नियर टु हस्पिटल एज वेल,’ उनीहरुले भने। पाक कुङ आउबाट हामी करिब १० मिनेटमै नर्थ लान्ताउ हस्पिटलको आकस्मिक कक्षको आँगनमा ओर्लियौँ।
त्यहाँ कुरिरहेका अन्य स्वास्थकर्मीहरुले उनलाई तुरुन्तै एम्बुलेन्सबाट निकालेर आपतकालीन विभागको भित्र लगिहाले।
म बाहिर कुरेर बसेँ।
के सोचेँ मैले, के भयो अहिले भन्ने गीतजस्तै लान्ताउ पिकमा लामो समय बिताउन हिँडेका हामी लान्ताउ पिक हैन अस्पतालमा पो पुग्यौँ केही घण्टामै।
कोभिडको कहरले अस्पतालमा बिरामी समेत भेट्न नपाउने बेलामा भित्र गएर घरीघरी सोध्ने कुरा पनि भएन। यस्तो केसमा कहिलेकहिले पक्षघात जस्ता साइड इफेक्ट पनि हुन्छन्।
करिब २५ मिनेटपछि एकजना नर्सले आएर एक्सिडेन्ट् एन्ड इमर्जेन्सी विभागमा नाम दर्ता गर्न भन्दै केही कागजात दिइन्।
दस्तुर शुल्क १८० हङकङ डलरसहित बुझाउँदा कर्मचारीले भने, ‘सर, दिस काइन्ड अफ केस, नो निड टु पे।’ अर्थात् आपतकालीन उद्धार गरिएको जोकोहीलाई पनि निशुल्क रहेछ।
यता प्रहरी जवानहरुले साथीसँगको मेरो चिनजान, सम्बन्ध र घटनाबारे छोटो सोधपुछ गरे।
करिब ४० मिनेटपछि स्वास्थ्यकर्मीको पोसाकका एक जना मलाई खोज्दै बाहिर आए र भने तपाईंको साथीलाई थप उपचारको लागि लाई किङ्गको प्रिन्सेस मार्गरेट अस्पतालमा लैजाँदै छौँ। स्वास्थ्य स्थितिबारे जानकारी माग्दा उनले स्थिति खतरामुक्त रहेको र अरु बाँकी विस्तृत बिवरण भने उनको परिवारलाई मात्र भन्न मिल्ने बताए।
‘ठिक छ, म पनि सँगै जानसक्छु प्रिन्सेस मार्गरेट?’ मैले सोधेँ।
उनले भने, ‘चिन्ता नगर्नुस् म आफैँ डक्टर हुँ र मेरो साथमा सिनियर नर्स एम्बुलेन्समा जाँदै छौँ उनकै लागि,’ उनले मेरो कुम सुम्सुम्याउँदै भने, ‘तपाईं त्यहाँ जानेभए छुट्टै आउनसक्नु हुन्छ, तर मेरो सुझावमा नजाँदा राम्रो। त्यहाँ पनि तपाईं बाहिरै बस्ने हो।’
‘थ्यांक यु सो मच डक्टर,’ मैले भनेँ।
त्यस्तो कोभिडको हाहाकारको समयमा पनि एक जना व्यक्तिको लागि डक्टर, नर्ससहितको एम्बुलेन्स साइरन बजाउँदै लान्ताउ अस्पतालबाट प्रिन्सेस मार्गरेट जाने हाइवेतिर सोझियो।
अस्पतालबाट एक्कासि फोन जाँदा उनको घरमा परिवार आत्तिएलान् भनेर फोनमा साथीलाई पदयात्रामा अलि सञ्चो नभएपछि हामी फर्किएर अस्पतालमा छौँ, सबै ठिक छ आत्तिनु पर्दैन भनिदिएँ। अस्पतालको आँगनमा निस्केर सिधै माथि देखिने लान्ताउ पिकलाई अघाउञ्जेल हेरेँ र मनमनै भनेँ, आज फर्कियौँ तर एकदिन अवश्य आउछौँ। फेरि तीनचार घण्टा बस्ने समय लिएर। अनि मनभरि कुरा खेलाउँदै गह्रौँ पाइला चाल्दै घर फर्कें।
उनको ह्वाट्सएप अनलाईन थिएन बेलुकी ढिलोसम्म। ‘हाइ’ भनेको करिब ३ घण्टापछि करिब राति ११ बजेतिर ‘आइ एम ओके थ्यांक यु’ भन्ने सन्देश आयो। बत्ती निभाउँदा पनि दिनभरिको घटनाका दृश्यहरु आँखा अगाडि नाचिरहे। धेरै ढिलो निदाएछु त्यो रात। भोलिपल्टदेखि ह्वाट्सएपमा छोटोछोटो वार्तालाप हुनथाल्यो।
करिब ५ दिनपछि उनी अस्पतालबाट डिस्चार्ज भएर घर आएको बेलुकी भिडिओ कलमा उनी निकै भावुक भए र म पनि।
बिस्तारै चिकित्सकसँगको नियमित परामर्श र औषधि सेवन, विभिन्न परीक्षणपछि अहिले उनी पूर्ण रुपमा स्वस्थ भएका छन्। हामी फेरि फुर्सद भयो कि नियमित रुपमा हङकङका वनजङ्गल डाँडापाखा चहार्दा पहिलाजस्तै मभन्दा साथीको हिँडाइ अझै अब्बल देखेर खुसी लाग्छ मलाई।
तुङचुङको सेरोफेरोमा जब हरेक दिन घुम्न निस्कन्छु चौबाटोनजिकैको जिल्ला प्रहरी मुख्यालय हेर्छु। त्यो दिन एक घण्टीमै आपतकालीन फोन उठाउने, उद्धार, संयोजन गर्ने र हाम्रो ख्याल राख्ने प्रहरी अफिसरहरूलाई सम्झन्छु।
त्यसको सँगै फायर डिपार्टमेन्टको क्षेत्रीय भवनबाहिर भलिबल खेलिरहेका नौजवान अग्नि नियन्त्रकहरुलाई तारजाली बाहिरबाट चियाएर हेर्छु। त्यही भिडमा सबैभन्दा पहिला उद्धारको लागि दौडँदै आउने दुई जना र पछिपछि आउनेहरुलाई सम्झन्छु र खोज्छु तर सबै उस्तै देख्छु।
अलि पर नर्थ लान्ताउ हस्पिटललाई हेर्छु, आकस्मिक कक्षबाहिर ‘आइ एम डक्टर माइसेल्फ एन्ड अल्सो सिनियर नर्स गोइङ विद एम्बुलेन्स फर हिज सेफ्टी, नो वरी’ भन्दै मेरो कुम थुमथुम्याउने डक्टर सम्झन्छु।
म आजकल सोच्छु, मन्दिर, मस्जिद, चर्च, गुम्बाभन्दा ठूलो पूण्यस्थल त अस्पताल पो रहेछ।
अनि साक्षात् देवदूत भनेका डक्टर, नर्स, आपतकालीन उद्धारकर्मी हुन्, हैन र? जसले तपाईं हामीलाई अजम्मरी बनाउन त सक्दैनन् तर अकाल मृत्यु हुन रोकेर दीर्घजिवी भने अवश्य बनाउँछन्। हाम्रा परिवार र आफन्तको हाँसो र खुसी खोसिन दिँदैनन्। अनि अस्पताललाई नमस्कार, प्रणाम, जदौ गर्दै बासस्थान फर्किन्छु म।