एसपी यादव/सर्लाही, जेठ १० गते । रौतहट र सिन्धुली सीमाक्षेत्रस्थित बागमती नदी तर्ने क्रममा बेपत्ता भएका दुई युवकको शव फेला परेको छ । शनिबार अपराह्न नदीले बगाएर बेपत्ता बनाएका दुवै युवकको शव आइतबार खोजतलासका क्रममा भेटिएको जिल्ला प्रहरी कार्यालय मलंगवा सर्लाहीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय मलंगवा सर्लाहीका अनुसार, लालबन्दी नगरपालिका-९ बस्तीपुर निवासी अन्दाजी १८ वर्षीय रोहित महतो र लालबन्दी नगरपालिका-६ निवासी अन्दाजी २० वर्षीय गणेश महतोको शव बागमती नगरपालिका-११ स्थित खोलाकिनारमा फेला परेको हो । उनीहरू शनिबार रौतहट र सिन्धुली जिल्लाको सीमामा पर्ने झप्सी क्षेत्रको झुलुङ्गे पुलमुनि बागमती नदी तर्ने क्रममा डुबेर बेपत्ता भएका थिए ।

सर्लाही प्रहरीका अनुसार, घटनाका बेला उनीहरूसँगै बरहथवा नगरपालिका-५ निवासी अन्दाजी २८ वर्षीय सहमद मोमिन, २४ वर्षीय मोहम्मद अख्तर तथा ब्रहमपुरी गाउँपालिका-३ निवासी अन्दाजी २० वर्षीय श्याम भण्डारीलाई समेत खोलाले बगाएको थियो । तर उनीहरू तीन जना केही मिटर तल नुनथर क्षेत्रतर्फ पौडिएर सुरक्षित रूपमा बाहिर निस्किन सफल भएका थिए । भने बेपत्ता भएका दुवै युवकको खोजी कार्य स्थानीयवासी, प्रहरी र सुरक्षाकर्मीको सक्रियतामा सञ्चालन गरिएको थियो । खोजतलासकै क्रममा आइतबार उनीहरूको शव नदी किनारमा फेला परेको हो ।

परिवारका सदस्यका अनुसार ती युवकहरु शनिबार बिहान घुम्न निस्किएका थिए । घुम्न गएका उनीहरू नदी तर्ने क्रममा दुर्घटनामा परेको प्रारम्भिक जानकारी प्राप्त भएको सर्लाही प्रहरीले जनाएको छ । मृतक दुवैको शव घटनास्थल मुचुल्कापछि पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा सर्लाहीमा राखिएको छ ।

अकस्मात् भएको यस दुःखद घटनापछि मृतक युवकहरूको गाउँमा शोक छाएको छ, भने स्थानीयवासी त्रसित बनेका छन् । वर्षायाम नजिकिँदै जाँदा नदी तथा खोलामा जोखिमपूर्ण तरिकाले आवतजावत नगर्न सर्लाही प्रहरीले सर्वसाधारणलाई आग्रह गरेको छ ।

कोशी टेलिभिजन

लेखकको बारेमा

कोशी टेलिभिजन

लेखकबाट थप


प्रतिक्रिया!!

सम्बन्धित खबर