एसपी यादव/सर्लाही, कात्तिक ८ गते । सर्लाहीको सदरमुकाम मलंगवा नगरपालिका-८ स्थित श्री हनुमान मन्दिरमा चोरी गरेको आरोपमा प्रहरीले दुई जना नाबालकलाई पक्राउ गरेको छ । घटनापछि दोषीमाथि कडा कानुनी कारबाहीको माग गर्दै स्थानीयवासीले आइतबार मलंगवा बजार बन्द गराएका छन् । सम्भावित तनावलाई मध्यनजर गर्दै प्रहरीले बजार क्षेत्रमा सुरक्षा सतर्कता बढाएको छ ।

सर्लाही प्रहरीका निमित्त प्रवक्ता एवं सूचना अधिकारी प्रहरी निरीक्षक किशोर केसीका अनुसार, आइतबार बिहान करिब ३ बजे मन्दिरमा चोरी भएको सूचना प्राप्त भएपछि खटिएको प्रहरी टोलीले मन्दिर परिसरबाटै १६ र १३ वर्षका दुई नाबालकलाई नियन्त्रणमा लिएको हो । पक्राउ परेका दुवै जनाको नाम गोप्य राखिएको छ ।

मन्दिरका पुजारीलाई उद्धृत गर्दै प्रहरी निरीक्षक केसीले हनुमानजीको मूर्तिमा रहेको चाँदीको मुकुट, चाँदीको माला, चाँदीको टीका, मुख तथा अनुहारमा लगाइने विभिन्न चाँदीका गरगहना र दान पेटिकामा रहेको यकिन नभएको रकम चोरी भएको जानकारी दिएका छन् ।

प्रारम्भिक अनुसन्धानका क्रममा पक्राउ परेका दुवै नाबालक यसअघि पनि चोरीका घटनामा संलग्न रहेको खुलेको प्रहरीले जनाएको छ । उनीहरू यसअघि चोरीसम्बन्धी घटनामा संलग्न भएपछि बाल सुधारगृहमा समेत बसेर छुटेका थिए ।

हालसम्मको अनुसन्धानबाट उक्त घटना धार्मिक तथा साम्प्रदायिक सद्भाव भड्काउने उद्देश्यले नभई चोरी गर्ने मनसायबाट भएको देखिएको छ । घटनामा अन्य व्यक्तिहरूको समेत संलग्नता रहे-नरहेको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यता, मन्दिरमा चोरीको घटना सार्वजनिक भएपछि स्थानीयवासी आक्रोशित बनेका छन् । उनीहरूले धार्मिक स्थलको सुरक्षा सुनिश्चित गर्न, घटनाको निष्पक्ष अनुसन्धान गरी सत्यतथ्य सार्वजनिक गर्न तथा दोषी ठहरिएका व्यक्तिमाथि प्रचलित कानुनबमोजिम कडा कारबाही गर्न माग गरेका छन् ।

स्थानीयवासीले मन्दिरजस्ता धार्मिक आस्थाका केन्द्रको संरक्षण सबैको साझा जिम्मेवारी भएको उल्लेख गर्दै आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन प्रभावकारी सुरक्षा व्यवस्था मिलाउन प्रहरी प्रशासनसँग आग्रह गरेका छन् । घटनामा संलग्न व्यक्तिमाथि कानुनी कारबाही नभए आन्दोलनका थप कार्यक्रम अघि बढाउने चेतावनीसमेत उनीहरूले दिएका छन् ।

घटनापछि धार्मिक तथा साम्प्रदायिक सद्भावमा असर पर्न नदिन र सम्भावित अप्रिय घटना रोक्न प्रहरीले मलंगवा बजार क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारेको छ । प्रहरीले घटनालाई लिएर सामाजिक सद्भाव खल्बलिने गतिविधि नगर्न तथा शान्ति र सद्भाव कायम राख्न सर्वसाधारणसँग आग्रह गरेको छ ।

एसपी यादव

लेखकको बारेमा

एसपी यादव

लेखकबाट थप

पत्रकार यादव राजनीतिक, खोज अनुसन्धान र समसामयिक लगायत विषयमा रिपोर्टिङ गर्छन् ।


प्रतिक्रिया!!

सम्बन्धित खबर