एसपी यादव/सर्लाही, कात्तिक ९ गते । सर्लाहीको सदरमुकाम मलंगवा नगरपालिका-८ स्थित हनुमान मन्दिरमा आइतबार बिहान करिब ३ बजे भएको चोरी प्रकरणमा चोरी भएका सामग्री बरामद गरिएको छ । मन्दिरको पछाडिपट्टि दक्षिणतर्फको जग्गामा लुकाइछिपाइ राखिएको अवस्थामा ती सामग्री बरामद गरिएको प्रहरीले जनाएको छ । 
सर्लाही प्रहरीका निमित्त प्रवक्ता एवं सूचना अधिकारी प्रहरी निरीक्षक किशोर केसीका अनुसार, बरामद सामग्रीमा हनुमानजीको चाँदीको मुकुट एक थान, मूर्तिमा लगाउने चाँदीको माला एक थान, चाँदीको टीका एक थान, हनुमानजीको चाँदीको मुख एक थान र हनुमानजीको चाँदीका आँखा दुई थान रहेका छन् ।

त्यस्तै, दानपेटिकाबाट निकालिएको नेपाली नोटतर्फ रु. ५ का ४५ थान, रु. १० का ४२ थान, रु. २० का १२ थान र रु. ५० को एक थान गरी जम्मा रु. ९३५, नेपाली सिक्का ५२ थान, भारतीय सिक्का २८५ थान र मोबाइल फोन एक थानसमेत बरामद गरिएको प्रहरी निरीक्षक केसीले जानकारी दिए ।
बरामद सामग्री तथा घटनामा संलग्न रहेको आरोपमा नियन्त्रणमा लिइएका दुवै नाबालकमाथि थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक केसीले जनाएको छ ।
घटनापछि दोषीमाथि कडा कानुनी कारबाहीको माग गर्दै स्थानीयवासीले आइतबार मलंगवा बजार बन्द गराएका छन् । सम्भावित तनावलाई मध्यनजर गर्दै प्रहरीले नगर क्षेत्रमा सुरक्षा सतर्कता बढाएको छ ।






