काठमाडौँ, ६ जेठ । बुढानीलकण्ठ अस्पतालले तिलगंगा आँखा प्रतिष्ठानसँगको सहकार्यमा दुईदिने बृहत निःशुल्क आँखा शिविर आयोजना गरेको छ। बुढानीलकण्ठ नगर अस्पतालमा सञ्चालित उक्त शिविरमा बिरामीहरूको आँखा परीक्षण गरी आवश्यकता अनुसार औषधि तथा चस्मा निःशुल्क वितरण गर्नुका साथै मोतिविन्दु पहिचान भएका बिरामीको शल्यक्रिया समेत निःशुल्क गरिने भएको छ।

शिविरबारे जानकारी दिँदै बुढानीलकण्ठ नगरपालिकाका प्रमुख मिठाराम अधिकारीले नगरवासीको स्वास्थ्य सेवामा पहुँच वृद्धि गर्ने योजना अनुरूप शिविर सञ्चालन गरिएको बताए। “मानिसका लागि सबैभन्दा महत्त्वपूर्ण अङ्ग आँखा हो, यसमा समस्या आउँदा जीवन नै कष्टकर बन्छ,” नगरप्रमुख अधिकारीले भने, “नगरपालिकाभित्रका नागरिकको आँखाजन्य समस्या पहिचान र उपचारका लागि हामीले स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकतामा राखेका छौँ।”
कार्यक्रममा बुढानीलकण्ठ नगरपालिका वडा नं. १२ का वडाध्यक्ष शम्भु भट्टराईले स्थानीयको स्वास्थ्य सरोकारप्रति नगरपालिका सदैव सचेत रहेको उल्लेख गर्दै शिविरले लक्षित वर्गलाई प्रत्यक्ष राहत पुर्‍याउने विश्वास व्यक्त गरे।
अस्पतालका प्रमुख कार्यकारी अधिकृत (सीईओ) गोपालप्रसाद पोखरेलका अनुसार २४ घण्टा आकस्मिक सेवासहित विशेष स्वास्थ्य कार्यक्रम अन्तर्गत यो शिविर आयोजना गरिएको हो। बुधबार आयोजित शिविरमा सेवाग्राहीको परीक्षण गरी औषधि र चस्मा वितरण गरिएको जानकारी दिँदै पोखरेलले भने, “शिविरमा पहिचान भएका मोतिविन्दुका बिरामीहरूको आगामी जेठ १३ गते निःशुल्क शल्यक्रिया गरिनेछ।” उमेरजन्य कारण तथा अन्य स्वास्थ्य जटिलताले आँखामा समस्या बढ्दै गएकाले शिविर प्रभावकारी हुने उनले बताए।
तिलगंगा आँखा प्रतिष्ठान, बाह्य आँखा कार्यक्रमका अधिकृत महेश पराजुलीले बढीभन्दा बढी नागरिकलाई सेवा पुर्‍याउने उद्देश्यले सहकार्य गरिएको स्पष्ट पारे। उनले ४० वर्ष पार गरेका सर्वसाधारण तथा मधुमेह र उच्च रक्तचापका बिरामीहरूलाई अनिवार्य रूपमा वर्षमा एकपटक आँखा परीक्षण गराउन सुझाव समेत दिएका छन्।

कोशी टेलिभिजन

लेखकको बारेमा

कोशी टेलिभिजन

लेखकबाट थप


प्रतिक्रिया!!

सम्बन्धित खबर