एसपी यादव/सर्लाही, जेठ ९ गते । नेपाल पत्रकार महासंघ सर्लाही शाखाको १२औँ साधारणसभा शनिबार मलंगवामा सम्पन्न भएको छ ।

पत्रकारिता क्षेत्रको संस्थागत विकास, पत्रकारहरूको पेशागत सुरक्षा, संगठन सुदृढीकरण तथा समसामयिक सञ्चार चुनौतीबारे समीक्षा र भावी कार्यदिशा तय गर्ने उद्देश्यसहित साधारणसभा आयोजना गरिएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख जिल्ला अधिकारी रामुराज कडरियाले, पत्रकारितामा पूर्वाग्रह नराखी सत्य, तथ्य र निष्पक्षतामा आधारित समाचार सम्प्रेषण गर्नुपर्नेमा जोड दिएका थिए । उनले समाचार तयार गर्दा सम्बन्धित पक्षको प्रतिक्रिया लिएर मात्र प्रकाशन-प्रसारण गर्नुपर्ने बताए ।

प्रेस मञ्च नेपालका केन्द्रीय कार्यवाहक अध्यक्ष मनोज यादवले, वर्तमान सरकारले सञ्चार क्षेत्रमाथि लगाएको अङ्कुश लोकतान्त्रिक मूल्य-मान्यता र विधि-प्रक्रिया विपरीत भएको टिप्पणी गरे । उनले यस्तो नीति तत्काल फुकुवा गर्नुपर्ने आवश्यकता औँल्याउँदै सरकारी विज्ञापन निजी सञ्चारमाध्यमले पनि न्यायोचित रूपमा प्राप्त गर्न सक्ने वातावरण निर्माण गर्न सरकारलाई सुझाव दिएका थिए ।

महासंघ सर्लाही शाखाका अध्यक्ष ओम प्रकाश ठाकुरले, पछिल्लो समय पत्रकारमाथि बढ्दो दबाब, धम्की, साइबर चुनौती तथा पेशागत असुरक्षाबीच यस साधारणसभाले संगठनलाई थप जिम्मेवार र सशक्त बनाउने विश्वास लिइएको उनले बताए ।

साधारणसभामा सर्लाही शाखाको वार्षिक प्रगति विवरण, आर्थिक प्रतिवेदन, आगामी कार्ययोजना तथा पत्रकारको पेशागत अधिकार, प्रेस स्वतन्त्रता र सञ्चार क्षेत्रमा देखिएका चुनौतीमाथि छलफल भएको हो ।

लोकतन्त्रको सुदृढीकरण, सुशासन प्रवर्द्धन र नागरिकको सूचनाको अधिकार सुनिश्चित गर्न पत्रकारिताको भूमिका अझ प्रभावकारी बनाउने विषयमा समेत छलफल भएको हो ।

नेपाल पत्रकार महासंघको जिल्ला शाखास्तरीय यस साधारणसभालाई संगठनात्मक दृष्टिले मात्र नभई पत्रकारिताको गुणस्तर, पेशागत एकता र उत्तरदायी सञ्चार अभ्यासलाई बलियो बनाउने अवसरका रूपमा समेत हेरिएको छ ।

कार्यक्रममा १५ हजार ५ सय ५५ रुपैयाँको नगदराशी र सम्मानपत्र सहितको स्व. गजेन्द्र नारायण सिंह स्मृति सर्लाही पत्रकारिता पुरस्कार २०८३ नयाँ पत्रिकाका सर्लाही संवाददाता सिङ्गबहादुर थापा लाई प्रदान गरिएको थियो ।

कार्यक्रममा महासंघ सर्लाही शाखाका पुर्व अध्यक्षहरु लगायत सहभागी विभिन्न व्यक्तित्वहरूलाई विशेष रूपमा सम्मान गरिएको थियो । महासंघले योगदान, उपस्थिति र सहकार्यको कदर गर्दै मायाको चिनो प्रदान गर्नुका साथै सम्मानपत्र हस्तान्तरण गरेको थियो । साथै परम्परागत सम्मानको प्रतीकका रूपमा दोसल्ला ओढाएर पनि औपचारिक रूपमा सम्मान गरिएको थियो । उक्त सम्मानले सहभागी व्यक्तित्वहरूको सामाजिक, पेशागत तथा संस्थागत भूमिकालाई उच्च मूल्यांकन गरिएको सन्देश प्रवाह भएको छ ।

नेपाल पत्रकार महासंघ सर्लाही शाखाका अध्यक्ष ओम प्रकाश ठाकुरको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य राजेश कर्ण तथा केन्द्रिय लेखा समिति संयोजक केसी लामिछाने प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी रामुराज कडरिया, नेपाल प्रहरीका एसपी रविन्द्रनाथ पौडेल, सशस्त्र प्रहरीका एसपी अम्बर बहादुर खत्री, प्रेस मञ्च नेपालका केन्द्रीय कार्यवाहक अध्यक्ष मनोज यादव, नेपाल पत्रकार महासंघ मधेस प्रदेश समितिका अध्यक्ष श्याम बन्जारा तथा महासचिव शैलेन्द्र क्रान्ति विशिष्ट अतिथिका रूपमा सहभागी भएका थिए । कार्यक्रममा नेपाल पत्रकार महासंघ सर्लाही शाखाका उपाध्यक्ष मुकेश झाले स्वागत मन्तव्य व्यक्त गरेका थिए । भने कार्यक्रमको सञ्चालन महासंघ शाखा सर्लाहीका सचिव सोम दियालिले गरेका थिए ।

जिल्लाका पत्रकार, महासंघ सर्लाही शाखाका वर्तमान तथा पुर्व पदाधिकारी, विभिन्न सञ्चारसम्बद्ध संघ-संस्था, नागरिक समाज, मानव अधिकारकर्मी तथा विविध क्षेत्रका सरोकारवालाको उल्लेख्य सहभागितामा कार्यक्रम मर्यादित र भव्यताका साथ सम्पन्न भएको थियो ।

कोशी टेलिभिजन

लेखकको बारेमा

कोशी टेलिभिजन

लेखकबाट थप


प्रतिक्रिया!!

सम्बन्धित खबर