एसपी यादव/सर्लाही, जेठ ८ गते । जिल्ला प्रहरी कार्यालय मलंगवा सर्लाहीका नवनियुक्त कार्यालय प्रमुख प्रहरी उपरीक्षक (एसपी) रवीन्द्रनाथ पौडेलसँग सर्लाहीका पत्रकारहरूबीच परिचयात्मक तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
जिल्ला प्रहरी कार्यालय मलंगवामा शुक्रबार आयोजित कार्यक्रममा प्रहरी उपरीक्षक पौडेलले जिल्लाको शान्ति सुरक्षा, अपराध नियन्त्रण, लागूऔषध तथा तस्करी नियन्त्रण, महिला हिंसा र साइबर अपराध न्यूनीकरणलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले सञ्चारमाध्यम र प्रहरीबीच सहकार्य गर्दै सत्यतथ्यमा आधारित सूचना प्रवाहमा अघि बढ्ने बताए ।

कार्यक्रममा पत्रकार महासंघ सर्लाहीका पदाधिकारी तथा जिल्लामा क्रियाशील सञ्चारकर्मीहरूले प्रहरी र सञ्चार क्षेत्रबीचको समन्वय, सूचना सम्प्रेषण, अपराध अनुसन्धानका विषयमा सहकार्य तथा सार्वजनिक सरोकारका मुद्दामा प्रभावकारी सूचना प्रवाहको आवश्यकतामाथि जोड दिएका थिए ।
एसपी पौडेलले जिल्ला प्रहरी कार्यालय मलंगवा प्रमुखको जिम्मेवारी जेठ ६ गते बुधवारबाट औपचारिक रूपमा सम्हालेका छन् ।
नेपाल प्रहरी प्रधान कार्यालय, यू.एन शाखा नक्साल, काठमाडौमा कार्यरत रहेका एसपी पौडेललाई नेपाल प्रहरी प्रधान कार्यालय काठमाडौँले जेठ १ गते शुक्रबार जिल्ला प्रहरी कार्यालय मलंगवा सर्लाहीको प्रमुखमा सरूवा गरेको थियो ।
कार्यक्रममा जिल्लास्थित विभिन्न सञ्चारमाध्यममा आबद्ध पत्रकारहरूको उपस्थिति रहेको थियो ।






