राजविराज, ९ जेठ । सप्तरीको अग्नीसाइर कृष्णासवरन गाउँपालिका–१, घोघिदहा भवानीपुरमा अवस्थित श्री जनचेतना माध्यमिक विद्यालयले आफ्नो स्थापनाको ५० वर्ष पूरा गरेको अवसरमा स्वर्ण स्तम्भ अनावरण गरेको छ । जनचेतना स्वर्ण महोत्सव २०८२ मूल आयोजक समितिद्वारा शनिबार विद्यालय परिसरमा आयोजित एक भव्य समारोहका बीच उक्त स्तम्भको अनावरण गरिएको हो ।

महोत्सव मूल आयोजक समितिका अध्यक्ष दिलीप कुमार चौधरीको अध्यक्षतामा आयोजित विशेष कार्यक्रममा प्रमुख अतिथि एवं अग्नीसाइर कृष्णासवरन गाउँपालिकाका अध्यक्ष दिनानाथ चौधरीले स्वर्ण स्तम्भको अनावरण गर्नुभएको थियो ।

पाँच दिनसम्म चलेको स्वर्ण महोत्सवको समापनका अवसरमा विद्यालयको शैक्षिक तथा भौतिक विकासमा अतुलनीय योगदान पुर्‍याउने विभिन्न क्षेत्रका दर्जनौँ व्यक्तित्वहरूलाई उच्च मूल्यांकनसहित सम्मान गरिएको छ । सम्मानित हुनेहरूमा जनप्रतिनिधि, सञ्चारकर्मी, पूर्वप्राध्यापक, विद्यालय व्यवस्थापन समितिका पूर्व एवं वर्तमान अध्यक्षहरू रहेका छन् । उहाँहरूलाई प्रमुख अतिथि गाउँपालिका अध्यक्ष चौधरी र विशिष्ट अतिथि गाउँपालिका उपाध्यक्ष कल्पना कुमारी चौधरीले प्रशंसा पत्र तथा गम्छा ओढाएर सम्मान गर्नुभएको थियो । सोही अवसरमा महोत्सव अन्तर्गत आयोजित अन्तर–विद्यालय स्तरीय विभिन्न प्रतियोगिताका उत्कृष्ट छात्रछात्राहरूलाई समेत पुरस्कार एवं प्रमाणपत्र प्रदान गरिएको थियो ।

समापन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि अध्यक्ष चौधरी, विशिष्ट अतिथि उपाध्यक्ष चौधरी, पूर्व गाउँपालिका उपाध्यक्ष मीना चौधरी, वडा नम्बर १ का वडाध्यक्ष सबकुल खलिफा, पूर्वप्रधानाध्यापक रामदेव चौधरी, डा. ललित नारायण मण्डल र विजय कुमार सिंह लगायतले विद्यालयको इतिहासको स्मरण गर्दै आगामी दिनमा शैक्षिक गुणस्तर सुधारका लागि शुभकामना व्यक्त गर्नुभयो ।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक श्याम कुमार चौधरीले विद्यालयको वार्षिक प्रगति विवरण तथा भावी योजना प्रस्तुत गर्नुभएको थियो । मूल आयोजक समितिका सचिव अशोक कुमार चौधरीको स्वागत मन्तव्यबाट सुरु भएको उक्त कार्यक्रमको सञ्चालन शिक्षकद्वय सञ्जय योञ्जन र कोशीला चौधरीले संयुक्त रूपमा गर्नुभएको थियो ।

कोशी टेलिभिजन

लेखकको बारेमा

कोशी टेलिभिजन

लेखकबाट थप


प्रतिक्रिया!!

सम्बन्धित खबर