एसपी यादव/सर्लाही, जेठ ७ गते । मधेसमा जरा गाडेर बसेको दाइजो प्रथाले अर्को एक नवविवाहिताको ज्यान लिएको आशंका गरिएको छ । सर्लाही जिल्लाको हरिपुर्वा नगरपालिका-७ निवासी २२ वर्षीया रन्जिता मण्डलको विवाह भएको करिब तीन महिनामै महोत्तरीमा रहस्यमय मृत्यु भएपछि दाइजोका कारण हत्या गरिएको आरोप उठेको छ । यस घटनाले दाइजो प्रथाको भयावहता मात्र होइन, प्रहरी प्रशासनको भूमिकामाथि समेत प्रश्न उठाएको छ ।


मृतकका भाइ निरज कुमार मण्डलका अनुसार, रन्जिताको विवाह २०८२ साल फागुन १४ गते सामाजिक परम्पराअनुसार महोत्तरी जिल्लाको सम्सी गाउँपालिका-२ पर्सा निवासी विजय मण्डलका छोरा रमेश मण्डलसँग भएको थियो । विवाहपछि नै केटापक्षले पटक-पटक दाइजोको माग गर्दै आएको आरोप छ । विशेषगरी रन्जिताकी सासु सरस्वती देवीले विभिन्न सामान माग गर्दै मानसिक दबाब दिने गरेको निरजको भनाइ छ ।



“दाइजोमा भैँसी पहिले दिनु, अनि मात्र बुहारीलाई माइत जान दिने” भन्दै रन्जितालाई ससुरालीमै बन्धकजस्तै बनाइएको निरजको आरोप छ ।
निरजका अनुसार, जेठ ५ गते मंगलबार राति १० बजेर १२ मिनेटमा परिवारका सदस्यहरूले रन्जितासँग कुरा गर्न फोन सम्पर्क गर्दा उनकी सासु सरस्वती देवीले “रन्जिता भाँडा माझ्दै छ” भन्दै कुरा गर्न नदिएको बताएका छन् । तर भोलिपल्ट जेठ ६ गते बुधबार बिहान रन्जिताकी सासुले फोन गरेर “रन्जिता बिरामी छ, अहिले अस्पतालमा उपचार भइरहेको छ, छिट्टै आउनुहोस्” भन्दै खबर गरेको निरजले बताए ।
बिहान करिब ५ बजे महोत्तरीको रामगोपालपुरस्थित जानकी एकेडेमीक हस्पिटल प्रालि पुग्दा रन्जितालाई चिकित्सकले मृत घोषित गरिसकेको अवस्थामा भेटिएको निरजको भनाइ छ । शव आफूहरूले नै प्रादेशिक अस्पताल जलेश्वर पुर्याएको जानकारी दिँदै उनले भने, “निष्पक्ष छानबिन र न्यायको प्रत्याभूति नभएसम्म हामी पोस्टमार्टम हुन दिँदैनौँ ।”
परिवारले रन्जिताको मृत्यु प्राकृतिक नभई योजनाबद्ध हत्या भएको दाबी गरेको छ । दाइजोकै कारण बहिनीको हत्या गरिएको भन्दै उनीहरूले रमेश मण्डलसहित संलग्न सबैलाई पक्राउ गरी कडा कारबाही गर्न माग गरेका छन् ।
निरजका अनुसार, घटनापछि प्रहरीले श्रीमान् रमेश मण्डललाई नियन्त्रणमा लिएर प्रहरीको गाडीमा राखे पनि घरका अन्य सदस्यहरूलाई उम्कन दिएको आरोप छ । यसले घटनामा प्रहरी प्रशासनको भूमिकामाथि समेत शंका उत्पन्न भएको पीडित पक्षको भनाइ छ ।
हस्पिटलको इमर्जेन्सी टिकटमा उल्लेख भएको विवरण अनुसार, रन्जितालाई हस्पिटल ल्याउनु भन्दा अगाडीनै मृत्यु भइसकेको अवस्था (Brought dead in ER) रहेको चिकित्सकले उल्लेख गरेको छ । रक्तचाप र नाडीको चाल दुवै शून्य रहेको (No BP & No Pulse) पाइएको थियो । साथै ईसीजी परीक्षण गर्दा मुटुको कुनै गतिविधि नभएको संकेत गर्दै ‘स्ट्रेट लाइन’ (flat line) देखिएको चिकित्सकीय टिपोटमा उल्लेख छ ।
यस विषयमा प्रतिक्रियाका लागि महोत्तरी प्रहरीका प्रवक्ता एवं डिएसपी शैलेन्द्र कुमार भट्टसँग प्रत्यक्ष टेलिफोन संवाद गर्दा उनले, घटनाबारे प्रारम्भिक अनुसन्धान भइरहेको बताए । तत्काल मृतकका श्रीमान् रमेश मण्डललाई नियन्त्रणमा लिइएको जानकारी दिँदै उनले भने, “अनुसन्धानका क्रममा घटनामा संलग्न देखिने जो-कोही भए पनि कानुनबमोजिम नियन्त्रणमा लिएर कारबाहीको दायरामा ल्याइन्छ ।”
डिएसपी भट्टका अनुसार, हिजो पीडित परिवारको तर्फबाट जाहेरी प्राप्त भए पनि जिल्ला प्रहरी प्रमुख (एसपी साहब) कार्यालय बाहिर रहेकाले आज औपचारिक रूपमा दर्ता गरी घटनास्थलबाट संकलित प्रमाण, शवमा देखिएको चोटपटक तथा पोस्टमार्टम प्रतिवेदनका आधारमा थप अनुसन्धान अगाडी बढाइने छ ।
पीडित परिवारलाई भेट्नका लागि पठाइदिन भन्दै डिएसपी भट्टले शवको पोस्टमार्टम प्रक्रिया अझै बाँकी रहेको जानकारी दिए ।
यस घटनाले मधेसमा अझै विद्यमान दाइजो प्रथाले महिलामाथि निम्त्याइरहेको हिंसा र अमानवीय व्यवहारलाई पुनः उजागर गरेको छ । कानुनतः दाइजो प्रथा निषेध भए पनि व्यवहारमा यसको अन्त्य हुन नसक्दा नवविवाहित महिलाहरू हिंसा, यातना र मृत्युको सिकार बन्दै आएका छन् । घटनाको निष्पक्ष, पारदर्शी र वैज्ञानिक छानबिन गर्दै दोषी जो-कोही भए पनि कानुनबमोजिम कडा कारबाही गर्नु राज्यको दायित्व हो । अन्यथा दाइजोका नाममा भइरहेका यस्ता अपराधले समाजमा दण्डहीनतालाई थप प्रश्रय दिनेछ ।






