१० करोडभन्दा धेरै सदस्य रहेको भारतको सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) ले हालै सदस्य संख्या १५ करोड पुर्याउने लक्ष्यका साथ सदस्यता अभियान घोषणा गरेको छ। सदस्य संख्याको आधारमा विश्वको सबैभन्दा ठूलो मानिने भाजपाका अध्यक्ष जेपी नड्डाको कार्यकाल गत वर्ष एक सालका लागि लम्ब्याइएको थियो। आम चुनावको वर्ष पार्टी नेतृत्वमा स्थायित्वका लागि उनको कार्यकाल थपिएको हो।
त्यसैले यो पार्टीले नयाँ नेतृत्व चयनको तयारी गरिरहेको छ।

अहिले भाजपाले पार्टीको राज्य कमिटीहरूमा चुनाव गरिरहेको छ। त्यसपछि परम्पराअनुसार पार्टीभित्र सर्वसम्मति र राष्ट्रिय स्वयंसेवक संघको समर्थन लिएर नयाँ नेतृत्व छनोट गर्ने गर्छ।
स्थापनाकालदेखि नै भाजपाले आरएसएसँग बैठक गरेर पार्टी र संघ दुवैतिर बहुमतको समर्थन प्राप्त गर्ने उम्मेदवारलाई अध्यक्ष छान्ने परम्परा छ। तर, गत लोकसभा चुनावको क्रममा नड्डाले भाजपा आफैँ चल्न सक्ने अभिव्यक्ति दिएपछि आरएसएससँग मनमुटावको स्थिति सिर्जना भएको थियो। जसका कारण चुनावी अभियानमा आरएसएसको नेतृत्व तह सहभागी भएन।
तर, चुनावको नतिजाले भाजपालाई केन्द्रमा सरकार निर्माणका लागि गठबन्धन र राज्यका चुनावमा पुन आरएसएसको सहयोग लिन बाध्य बनायो।
अगस्ट २०२४ मा रक्षामन्त्री राजनाथ सिंहको घरमा पाँच घण्टा लामो बैठक भएको थियो, जसमा नड्डा, गृहमन्त्री अमित शाह, आरएसएसको दोस्रो वरीयताका नेता दत्तात्रय होसबेले र महासचिव अरुण कुमार सहभागी थिए। आरएसएसले बलियो संगठनात्मक क्षमता भएको व्यक्तिलाई भाजपा अध्यक्षमा प्राथमिकता दिनेछ। जबकि भाजपाको प्राथमिकतामा त्यस्ता नेता पर्छन्, जसले पार्टीको उच्च नेतृत्व र अध्यक्षको कार्यालयबीच सहज समन्वय गर्न सक्छन्।
भाजपाको संगठनात्मक चुनाव यसरी हुने गर्छ :
मण्डल र जिल्ला तह
सदस्यता वितरणका क्रममा भाजपाले ‘सक्रिय’ सदस्य छनोट गर्छ। जसलाई एक बुथ अथवा एक विधान सभा सिटमा ५० जनालाई सदस्य बनाएर ल्याउने जिम्मा दिइन्छ। पार्टीको सक्रिय कार्यकर्ताले मण्डल कमिटी र त्यसमाथिका जिल्ला, क्षेत्र, राज्य र केन्द्रीय कमिटीजस्ता संगठनात्मक चुनावहरूमा भाग लिन पाउँछन्। यी हरेक कमिटीको कार्यकाल तीन वर्षको हुन्छ।
भाजपाको सबैभन्दा तल्लो तह भनेको स्थानीय कमिटी हो। जसमा ३०० सम्म सदस्य हुन सक्छन्। एक वर्ष भाजपाको सदस्य भइसकेको व्यक्ति स्थानीय कमिटीको अध्यक्ष बन्न सक्छ।
यस्ता कयौँ स्थानीय कमिटी मिलाएर एउटा मण्डल बनाइन्छ। स्थानीय कमिटीका अध्यक्षहरूले मण्डल कमिटीका सदस्य चुन्छन्। मण्डल कमिटी तीन प्रकारका हुन्छन्। जसको वर्गीकरण सो राज्यमा लोकसभा सिट संख्या कति छ भन्ने आधारमा गरिएको हुन्छ।
क) तीन र सोभन्दा कम लोकसभा सिट भएको
ख) चारदेखि २० लोकसभा सिट भएको
ग) २० भन्दा बढी लोकसभा सिट भएको
यी कमिटीहरूमा निर्वाचित अध्यक्ष हुन्छन्। जसका सदस्य ६० जनासम्म हुन सक्छन्। सो संख्या निर्धारण पार्टीको राज्य तहले गर्छ।
मण्डल अध्यक्षसँग चार उपाध्यक्ष, दुई महासचिव, एक कोषध्यक्ष र पाँच सचिव मनोनयन गर्ने अधिकार हुन्छ। मण्डल कमिटीमा महिला, सूचीकृत जाति र आदिवासीका लागि आरक्षण पनि हुन्छ।
मण्डलजस्तै जिल्ला कमिटी पनि राज्यको वर्गीकरण अनुरूपको हुने गर्छ। र, जिल्ला कमिटीका अध्यक्ष मण्डल कमिटीका अध्यक्षहरूले चुन्छन्। एकतिहाइ निर्वाचित मण्डलहरूले अनुमोदन गरे पार्टीको एउटा सक्रिय सदस्य जिल्ला अध्यक्ष मनोनीत हुन सक्छ। जिल्ला अध्यक्ष बन्नका लागि कम्तीमा ६ वर्ष पार्टीको सदस्य हुनैपर्छ। तर, अध्यक्षले एउटा महासचिव कमिटीभन्दा बाहिरबाट मनोनीत गर्न सक्छ।
राज्य तह
भाजपाको राज्य तहमा दुई निकाय छन्ः राज्य कार्यकारिणी र राज्य परिषद्। मण्डल कमिटी सदस्यहरूले विधान सभा सदस्य संख्याकै अनुपातमा राज्य परिषद् सदस्य चुन्न सक्छन्। परिषद्का अन्य सदस्यहरूमा विधायक, सांसद, राज्य कमिटीका पूर्वअध्यक्ष, राज्य कार्यकारिणी सदस्य, राज्य अध्यक्षद्वारा मनोनीत सदस्यहरू अनि सहयोगी मोर्चा तथा सेलका प्रमुख, जिल्ला कमिटी अध्यक्ष र महासचिवहरू हुन्छन्।
राज्य कार्यकारिणीलाई पनि राज्यको श्रेणीअनुसार वर्गीकृत गरिएको हुन्छ। जसको अध्यक्षको चुनाव जिल्लाहरूबाट निर्वाचित राज्य परिषद् सदस्य, सांसद र विधायकहरूले गर्छन्। जुनसुकै सक्रिय सदस्य निर्वाचित जिल्ला कमिटीको एक तिहाइको अनुमोदन प्राप्त गरेर अध्यक्षमा मनोनीत हुन सक्छ। अध्यक्षले उपाध्यक्ष, महासचिव, सचिव र कोषाध्यक्ष नियुक्त गर्न सक्छ।
राष्ट्रिय तह
राष्ट्रिय तहमा भाजपाको राष्ट्रिय परिषद्, राष्ट्रिय कार्यकारिणी र अधिवेशन हुन्छन्। राष्ट्रिय परिषदका सदस्य राज्य परिषदका सदस्यहरूबाट राज्यको लोक सभा सिटको अनुपातमा चुनिन्छन्। त्यस्तै, पूर्व राष्ट्रिय अध्यक्ष, विधान सभा, परिषद्, लोक सभा र राज्य सभामा पार्टी नेताहरू, सांसदमध्ये १० प्रतिशत, मनोनीत, राष्ट्रिय कार्यकारिणीका सबै सदस्य र मोर्चा तथा सेलका प्रमुख पनि सदस्यमा समेटिन्छन्।
राष्ट्रिय कार्यकारिणीको नेतृत्व पार्टी अध्यक्षले गर्छन्, जसमा १२० भन्दा धेरै सदस्य हुँदैनन्। जसमध्ये ४० महिला र १२ सूचीकृत समुदायका हुनुपर्छ। तिनको मनोनयन पार्टी अध्यक्षले गर्छन्। एक महासचिव (संगठन), एक कोषाध्यक्ष, नौ महासचिव, १५ सचिव र १३ उपाध्यक्ष पार्टी अध्यक्षले नियुक्त गर्छन्। कम्तीमा तीन कार्यकाल सक्रिय रहेको सदस्य मात्र कार्यकारिणीमा नियुक्त हुन सक्छ। यो मापदण्डमा १५ जनालाई भने पार्टी अध्यक्षले अपवादका रूपमा नियुक्त गर्न सक्छन्।
कसरी हुन्छ पार्टी अध्यक्षको चुनाव?
राष्ट्रिय अध्यक्षको चुनाव एउटा इलेक्टोरल कलेजले गर्छ। जसमा (क) सांसद अथवा राज्य परिषद् सदस्य समेत रहेका राष्ट्रिय परिषद् सदस्य, (ख) जिल्ला सदस्य, पार्टी विधायक वा पार्टीका सांसद समेत रहेका राज्य परिषद् सदस्य हुन्छन्। इलेक्टोरल कलेजका जुनसुकै २० सदस्यले कम्तीमा १५ वर्षदेखि पार्टी सदस्य रहेका व्यक्तिलाई राष्ट्रिय अध्यक्ष पदमा प्रस्तावित गर्न सक्छन्। यस्तो प्रस्ताव राष्ट्रिय परिषद् चुनाव भइसकेका कम्तीमा पाँच राज्यबाट आउनु पर्छ।
पार्टी अध्यक्षको कार्यकाल तीन वर्षको हुन्छ र ऊ लगातार दुई कार्यकाल सो पदमा रहन सक्छ।
जो भाजपाका अध्यक्ष भए
भाजपाका प्रथम अध्यक्ष अटल बिहारी बाजपेयी थिए। १९८० को आम चुनावमा पार्टीले राम्रो गर्न सकेन। मात्र दुई सिट जित्यो। पार्टी सञ्चालन प्रणालीको आलोचनात्मक मूल्यांकनपछि १९८५ मा राष्ट्रिय कार्यकारिणीले भाजपालाई कार्यकर्ता आधारित पार्टी बनाउने निर्णय लियो। जसको जिम्मेवारी लालकृष्ण आडवाणीलाई दिइयो। उनी बाजपेयीका उपाध्यक्ष थिए।
आडवाणीले राम जन्मभूमि आन्दोलन सुरु गरे र १९८९ मा राम मन्दिर निर्माणलाई पार्टीको संकल्प बनाए।
आडवाणी लगातार दुई कार्यकाल पार्टी अध्यक्ष रहे। त्यसपछि अधिकांश पार्टी अध्यक्ष सर्वसम्मतिले चुनिए। र, ती एक कार्यकाल र त्यसभन्दा कम मात्र पदमा रहे।
आडवाणीपछि अध्यक्ष बनेका मुरली मनोहर जोसी, जना कृष्णमूर्ति, वेंकया नायडु, बांगरु लक्ष्मण र कुशाभाउ ठाकरे सबै आरएसएसका नेता थिए। जो भाजपामा तल्लो तहदेखि माथि उक्लिएका थिए। यीमध्ये जोसी र ठाकरेले मात्र कार्यकाल पूरा गरे।
२००३ मा भाजपाले विधान संशोधन गर्यो। त्यसपछि अध्यक्षको पद दुई कार्यकाल लिन पाइने तर लगातार नपाइने व्यवस्था गरियो। लगत्तै २००४ मा भाजपा नेतृत्वको गठबन्धनले चुनाव हार्यो र सत्ताबाट बाहिरियो। नायडुले नैतिक जिम्मेवारी लिँदै राजीनामा दिए। आडवाणी फेरि अध्यक्ष भए।
आडवाणीले चुनाव हार्नुमा आफ्नै सरकारको असफलतालाई दोष दिए। पार्टीको वैचारिक र संगठनात्मक क्षेत्रमा ध्यान नदिइएको उनको आरोप थियो। त्यसपछि भाजपाले आफ्नो मूल विचारधारामा ध्यान केन्द्रित गर्ने कोसिस गर्यो।
तर, व्यक्तिगत भ्रमणमा कराची पुगेका आडवाणीले पाकिस्तानका संस्थापक मोहम्मद अली जिन्नालाई ‘धर्मनिरपेक्ष’ भन्दै प्रशंसा गरेपछि २००५ मा उनलाई भाजपा अध्यक्षबाट हट्न भनियो। त्यसपछि आरएसएससँग उनको सम्बन्ध तनावपूर्ण रह्यो।
आडवाणीको बाँकी कार्यकाल राजनाथ सिंहले पूरा गरे र २००६ मा फेरि ३ वर्षका लागि नियुक्त भए। उनीपछि नितिन गडकरी अध्यक्ष भए।
२०१२ मा आरएसएले पुनः भाजपाको विधान संशोधन गरेर दुई कार्यकाल लगातार अध्यक्ष बन्न पाइने व्यवस्था गर्न दबाब दियो। सोहीअनुसार संशोधन भयो। किनभने २००९ को चुनावमा खराब प्रदर्शन गरेको पार्टीको सम्भावना गडकरीले बढाएका थिए। त्यसैले भाजपालाई आमूल परिवर्तन गर्न उनलाई दुई कार्यकाल चाहिने आवश्यकता आरएसएसले महसुस गर्यो।
तर, त्यसो भएन। आडवाणीले गडकरीको कार्यशैलीको आलोचना जारी राखे। पार्टी भित्रैबाट विरोध र उनीसँग सम्बन्धित कम्पनीहरूमा आयकर विभागले छापा मारेपछि गडकरीले दोस्रो कार्यकालमा अध्यक्ष बन्ने विचार त्यागिदिए।
र, जनवरी २०१३ मा राजनाथ सिंह अध्यक्ष भए।
मे २०१४ को आम चुनावमा सानदार जितपछि नरेन्द्र मोदी प्रधानमन्त्री बने। सोही वर्षको जुलाईमा भाजपाको संसदीय बोर्डले मोदीका विश्वासपात्र अमित शाहलाई अध्यक्ष बनाउने प्रस्ताव अनुमोदन गर्यो। र, सिंहको कार्यकाल कटौती भयो।
शाहको संगठनात्मक सीपका कारण भाजपाले पार्टी विस्तार र पार्टी र केन्द्रबीचको समन्वयमा ध्यान केन्द्रित गर्यो। २०१७ मा उनी पुनः भाजपा अध्यक्ष चुनिए र २०२० मा कार्यकाल पूरा गरे।
पार्टी नेतृत्वलाई निरन्तरता दिन भाजपाले जेपी नड्डालाई बढुवा गरेर २०१९ मा कामचलाउ अध्यक्ष बनायो। जो गडकरीकै समकक्षी र मोदी क्याबिनेटका मन्त्री पनि थिए। शाहको कार्यकाल अन्त्यसँगै उनी निर्विरोध पार्टी अध्यक्ष भए।
एक वर्ष कार्यकाल थपिए पनि नड्डालाई अब आरएसएका वफादार र मोदी–शाहसँग पनि राम्रो सम्बन्ध भएका नेताले विस्थापित गर्ने सम्भावना अधिक छ। जसको प्रमुख दाबेदारमा केन्द्रीय मन्त्री शिवराज चौहान, धर्मेन्द्र प्रधान र भूपेन्द्र यादव छन्।
(द हिन्दुबाट)






