काठमाडौं। सरकारले समस्याग्रस्त सहकारीका बचतकर्तालाई बचत फिर्ता गर्न चक्रीय कोषमा २५ करोड रुपैयाँमात्र राख्ने घोषणा गरेको छ।
देशभरि करिब ३२ हजार सहकारी संस्थामा करिब १२ खर्ब रुपैयाँ बचत रहेको र ६३ हजार पीडितले रकम फिर्ता माग गरेको तथ्यांक छ।
सहकारी क्षेत्रमा राजनीतिक संरक्षणका कारण समस्या समाधान हुन नसकेको र सरकारले बारम्बार आश्वासन मात्र दिएको पूर्वसचिव गोपीनाथ मैनालीले बताए।
१३ वैशाख, काठमाडौं । देशभरका सहकारी संस्थाहरूमा पैसा राखेका लाखौं जनताले ती संस्थाबाट बचत फिर्ता पाउन छाडेको वर्षौं भइसक्यो । यसबारे विभिन्न कार्यदल बने, प्रतिवेदन तयार भए, कानुन संशोधन पनि भए । तर, जनताले बचत फिर्ताको ग्यारेन्टी समेत पाउन सकेका छैनन् ।
जेनजी आन्दोलनपछि बहुमतको जनादेश पाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सरकार गठन भएको सय दिनभित्रै सहकारी पीडितको बचत फिर्ता गर्ने वाचा गरे पनि पैसा पाउनेमा सहकारी पीडित ढुक्क छैनन् । विगतका सरकारबाट बारम्बार धोका पाएका पीडित बचतकर्ता यो सरकारको पनि के भर भन्दै विश्वस्त हुन नसकेका हुन् ।

४ वर्षदेखि सरकारले हरेक बजेटमा सहकारी पीडित बचतकर्ताको पैसा फिर्ता गर्ने आश्वासन दिए पनि कार्यान्वयन गर्न सकेको छैन । त्यतिमात्र नभई सरकारले सहकारीको ५ लाखसम्म बचत सुरक्षण गरिदिने भने पनि कार्यान्वयनमा ल्याउन सकेको छैन ।
सरकारले सहकारी बचतकर्ताको रकम फिर्ता गर्न चक्रीय कोषमा रकम राख्ने र त्यसैमार्फत बचत फिर्ता दिने घोषणा चालु आर्थिक वर्षको बजेट मार्फत गरेको थियो । तर, त्यो कोषमा पनि सरकारले ‘सिडमनी’ का रूपमा जम्मा २५ करोडमात्र राख्ने भएको छ । समस्याग्रस्त सहकारी व्यवस्थापन समिति कार्यालयका अनुसार बचत फिर्ताको माग निवेदन दिने पीडितको संख्या नै ६३ हजार छ । यो संख्या २३ वटा समस्याग्रस्त सहकारीका बचतकर्ताको हो ।
तर, सहकारी प्राधिकरण लगायत देशभरिका विभिन्न निकायमा सहकारीले बचत फिर्ता नदिएको भन्दै लाखौं जनताले कम्तीमा २ खर्ब रुपैयाँ पाउनुपर्ने दाबी सहित निवेदन दिएका छन् । हाल देशभरि करिब ३२ हजार सहकारी संस्था छन् । तिनमा करिब १२ खर्ब बचत रहेको सरकारी तथ्यांक छ ।
उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगको प्रतिवेदनले समस्याग्रस्त सहकारी संस्थाहरूको सम्पत्ति बिक्री गरेर वा ऋण असुली फिर्ता गर्न समय लाग्ने भएकाले नेपाल सरकारले पछि सहकारीको सम्पत्तिबाट असुल गर्ने गरी तत्काल ५ देखि १० अर्ब रुपैयाँ निकासा दिएर ५ लाख रुपैयाँभन्दा साना बचतकर्ताको निक्षेप फिर्ता गर्न सुझाएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले चक्रीय कोषमा सरकारले राख्नुपर्ने रकम यकिन गरेर भन्दा पनि पीडित बचतकर्ताको माग दाबी स्पष्ट राखेर पठाएको थियो ।
साथै, बचत फिर्ता गर्ने निकायका व्यfवहारिक जटिलता समेत उत्तिकै रहेको समस्याग्रस्त सहकारी व्यवस्थापन समिति कार्यालय तथा सहकारी नियमन प्राधिकरणका अधिकारीहरू बताउने गरेका छन् । त्यसका साथै सरकारले बारम्बार सहकारी नियमन तथा सुपरिवेक्षण नेपाल राष्ट्र बैंकले गर्नुपर्ने भन्दै आएको छ । तर, राष्ट्र बैंक त्यसबाट पन्छिँदै आएको छ ।
विगतका सरकारले राजनीतिक नेता तथा कार्यकर्तालाई जोगाउनुपर्ने हुँदा बचतकर्ताको बचत फिर्ता गर्न नसकेको सहकारी मन्त्रालयका एक उच्च अधिकारीले बताए । ‘करिब ९० प्रतिशत सहकारी राजनीतिक पृष्ठभूमि भएका व्यक्तिद्वारा सञ्चालित छन्,’ ती अधिकारीले भने, ‘समस्या आएका सहकारीमा पनि राजनीतिक पहुँच भएका व्यक्ति नै सञ्चालक तथा व्यवस्थापक रहेको देखिन्छ ।’






