एसपी यादव/सर्लाही, चैत २९ गते । मधेश प्रदेशमा शान्ति सुरक्षा कायम गर्न कुनै सम्झौता र कुनै पनि प्रकारको लापरबाही सह्य नहुने मधेश प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक गोबिन्द थपलियाले बताएका छन् ।

आइतबार जिल्ला प्रहरी कार्यालय मलंगवा सर्लाहीमा आयोजित नीति निर्देशन तथा सम्बोधन कार्यक्रममा बोल्दै उनले, तस्करी तथा अपराध नियन्त्रण, अनुसन्धानमा तीव्रता र नागरिकमैत्री सेवा प्रवाहलाई प्राथमिकतामा राख्न जिल्ला प्रहरी कार्यालय मलंगवामा कार्यरत प्रहरी कर्मचारी तथा मातहतका युनिट इन्चार्जहरूलाई स्पष्ट निर्देशन दिएका हुन् । “प्रहरी संगठन जनताको सुरक्षाका लागि हो, त्यसैले सेवामा ढिलासुस्ती, गैरजिम्मेवारी र अनुशासनहीनता कुनै हालतमा स्वीकार्य हुँदैन,” उनले भने, “कार्यसम्पादनमा कमजोरी देखिए कडा कारबाही हुन्छ ।”

कार्यक्रममा डिआईजी थपलियाले, विशेषगरी सर्लाहीको सीमा क्षेत्रमा हुने अपराध, लागूऔषध कारोबार, तस्करी तथा सामाजिक अपराध नियन्त्रणमा सक्रियता बढाउन निर्देशन दिए । साथै प्रहरी कर्मचारीहरूलाई जिम्मेवारीप्रति इमान्दार, अनुशासित र परिणाममुखी बन्न आग्रह गरे ।

उनले सूचना संकलन, समन्वय र प्रविधिको प्रयोगमार्फत अपराध नियन्त्रणलाई अझ प्रभावकारी बनाउनुपर्नेमा जोड दिँदै प्रत्येक युनिटले आफ्नो कार्यक्षेत्रमा देखिने परिणाम दिनुपर्ने बताए ।

डिआईजी थपलियाका अनुसार, मधेस प्रदेशका विभिन्न जिल्लाबाट ४० जना बिचौलियालाई नियन्त्रणमा लिएर उनीहरुविरुद्ध मुद्दा चलाउने प्रक्रिया अघि बढाइएको छ । सेवा प्रवाहमा अवरोध सिर्जना गर्ने, अवैध लाभ लिन खोज्ने तथा सर्वसाधारणलाई दुःख दिने गतिविधिमा संलग्न व्यक्तिहरूलाई पहिचान गरी कारबाही गरिएको हो । “बिचौलियाको गलत अभ्यासलाई नियन्त्रण नगरेसम्म सुशासन कायम हुन सक्दैन,” उनले बताएका छन् ।

प्रहरीले पछिल्लो समय बिचौलियामार्फत हुने ठगी, सिफारिसमा चलखेल तथा अवैध रकम असुली जस्ता गतिविधिमा निगरानी बढाएको छ । यसका साथै यस्ता कार्यमा संलग्न जो कोहीलाई कानुनी दायरामा ल्याउने अभियानलाई अझ कडाइका साथ अगाडि बढाइने प्रहरीको भनाइ छ ।

प्रहरीले नागरिकलाई पनि यस्ता अवैध गतिविधिबाट सचेत रहन र कुनै पनि शंकास्पद गतिविधि देखिएमा नजिकको प्रहरी कार्यालयमा जानकारी गराउन आग्रह गरेको छ । भने मधेश प्रदेशका आठवटा जिल्लामा सक्रिय बिचौलियाविरुद्ध प्रहरीले कडा कारबाही थालेको छ ।

एसपी यादव

लेखकको बारेमा

एसपी यादव

लेखकबाट थप

पत्रकार यादव राजनीतिक, खोज अनुसन्धान र समसामयिक लगायत विषयमा रिपोर्टिङ गर्छन् ।


प्रतिक्रिया!!

सम्बन्धित खबर