एसपी यादव/सर्लाही, चैत २५ गते । नेपालमा विदेशी नम्बर प्लेट भएका सवारीसाधन सञ्चालन तथा नियमन सम्बन्धी कानुनी व्यवस्था स्पष्ट पार्दै सर्लाही जिल्ला स्थित सम्बन्धित सरोकारवाला निकायले बुधबार नयाँ सूचना जारी गरेको छ ।

भन्सार महसुल ऐन २०८१ अन्तर्गतका प्रावधानअनुसार, नेपाल प्रवेश गर्ने विदेशी सवारीसाधनले अनिवार्य रूपमा भन्सार अनुमति लिनुपर्ने र तोकिएको शुल्क तिर्नुपर्ने व्यवस्था गरिएको छ ।

सूचना अनुसार, मोटरसाइकल वा स्कुटरमा दैनिक दुई सय रुपैयाँ, तीनपाङ्ग्रे सवारीमा दैनिक चार सय रुपैयाँ तथा कार, जीप वा भ्यानमा दैनिक छ सय रुपैयाँका दरले शुल्क लाग्नेछ ।

त्यस्तै भन्सार शुल्क बुझाइएको सवारीसाधन एक आर्थिक वर्षमा बढीमा ३० दिनसम्म मात्र नेपालभित्र सञ्चालन गर्न पाइनेछ । तोकिएको समयभन्दा बढी नेपालमा राखिएमा मोटरसाइकल वा स्कुटरका लागि दैनिक एक हजार दुई सय रुपैयाँ तथा अन्य सवारीका लागि दैनिक दुई हजार पाँच सय रुपैयाँसम्म अतिरिक्त शुल्क लाग्ने उल्लेख गरिएको छ ।

अस्थायी पैठारीमा आएका विदेशी यातायातका साधनहरू नजिकको बजार क्षेत्र सर्लाही जिल्लाको हकमा सर्लाहीको सदरमुकाम समेत रहेको मलंगवा बजारसम्म प्रवेश गरी सोही दिन फर्किएमा भने कुनै शुल्क नलाग्ने व्यवस्था गरिएको प्रमुख जिल्ला अधिकारी रामुराज कडरियाले जानकारी गराएका छन् । तर त्यस्ता सवारीले भन्सार कार्यालयबाट सो सुबिधा सम्बन्धि सवारी प्रवेश इजाजत-पत्र (निस्सा) अनिवार्य लिनुपर्ने उनले जनाएका छन् ।

यसैगरी भन्सार शुल्क नबुझाई सात दिनभन्दा बढी नेपालमा सवारी राखिएमा त्यस्ता सवारी जफत गर्न सकिने सूचनामा उल्लेख गरिएको छ ।

सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा १६०(२) को “ख” मा भएको व्यवस्था अनुसार, विदेशमा दर्ता भएका सवारीसाधन अनुमति बिना नेपाल प्रवेश गरी सञ्चालन गरेमा ट्राफिक प्रहरीले पाँच हजार रुपैयाँसम्म जरिवाना गर्न सक्ने व्यवस्था रहेको पनि सूचनामा उल्लेख छ ।

एसपी यादव

लेखकको बारेमा

एसपी यादव

लेखकबाट थप

पत्रकार यादव राजनीतिक, खोज अनुसन्धान र समसामयिक लगायत विषयमा रिपोर्टिङ गर्छन् ।


प्रतिक्रिया!!

सम्बन्धित खबर