एसपी यादव/सर्लाही, बैशाख १३ गते । जिल्लाको धनकौल गाउँपालिकामा गएराति परेको चट्याङ्का कारण आगलागी हुँदा ठूलो धनमालको क्षति भएको छ, भने एक जना घाइते भएका छन् ।

धनकौल गाउँपालिका–४, मैनाथपुर पकाहा टोलमा गएराति करिब ११:३० बजे अचानक चट्याङ् पर्दा आगलागी भएको हो । उक्त घटनामा अन्दाजी ६२ वर्षीय स्थानीय सिताराम यादव घाइते भएका छन् । घाइते यादवलाई उपचारका लागि रौतहट जिल्लास्थित तराई हस्पिटल लगिएको छ । उनको टाउको तथा शरीरका विभिन्न भागमा चोट लागेको र अवस्था मध्यम रहेको सर्लाही प्रहरीले बताएको छ ।

घटनाबारे जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय हरकठवा बाट प्रहरी नायब निरीक्षक पदमबहादुर खड्काको नेतृत्वमा प्रहरी टोली खटिएको थियो । प्रारम्भिक अनुसन्धान अनुसार चट्याङ्कै कारण घरगोठमा आगलागी भई ठूलो क्षति भएको पुष्टि भएको छ ।

आगलागीबाट निजको घर गोठमा ९ वटा बाख्रा र ५ वटा भैंसी पूर्ण रूपमा जलेका छन् भने १ वटा पाडा घाइते भएको छ । साथै १ क्विन्टल चामल, १० क्विन्टल धान, २ क्विन्टल गहुँ, १ क्विन्टल मसुरोको दाल तथा घरमा रहेका भाँडाकुँडा र लत्ताकपडा पूर्ण रूपमा जलेर नष्ट भएको हो ।

क्षतिको विस्तृत विवरण संकलन भइरहेको र थप अनुसन्धान जारी रहेको सर्लाही प्रहरीले जनाएको छ ।

गएराति सर्लाहीमा ठुलो हावाहुरी आउनुका साथै वर्षासमेत भएको थियो ।

एसपी यादव

लेखकको बारेमा

एसपी यादव

लेखकबाट थप

पत्रकार यादव राजनीतिक, खोज अनुसन्धान र समसामयिक लगायत विषयमा रिपोर्टिङ गर्छन् ।


प्रतिक्रिया!!

सम्बन्धित खबर