अमितका अनुसार पढाईमा अब्बल स्वर्णिमका पिता जीवनराज वाग्ले बूढानीलकष्ठमै नेपाली पढाउँथे।
तनहुँ क्षेत्र नम्बर १ मा वैशाख १० गते सम्पन्न उपनिर्वाचनमार्फत् सांसद बनेका स्वर्णिम बूढानीलकण्ठको ११ औँ ब्याचका उत्पादन हुन्।

अमितका अनुसार एसएलसीपछि स्वर्णिमले पछाडि फर्केर हेर्नु परेन। सबै ठाउँमा छात्रवृत्तिमा पढ्ने अवसर जुट्यो।
जीवनमा पछाडि फर्केर हेर्नु नपरेका स्वर्णिमले ख्यातिसँगै नेपाल फर्कने निर्णय गरे। नेपालको बिग्रिँदो सामाजिक-आर्थिक अवस्था फर्कनुको कारक थियो।
‘विश्व बैंकको जागिर छाडेको हो। यहाँको अर्थतन्त्र देखेर चिन्तित थियो, केही गरौँ भन्ने भावनाले नेपाल फर्केको हो,’ स्कूले दाजु अमितराजले भने,‘भेटमा आफूसँग भएको ज्ञान देश विकासमा लगाउँछु भन्थ्यो, शेरबहादुर देउवा र डा. रामशरण महतले उसलाई बोलाएका पनि हुन्। ठूलो दल भनेर कांग्रेसमा लाग्यो, टिकट दिएनन्। अहिले नयाँ पार्टीबाट सांसद भएको छ। गर्ला नि अब।’
मतदातासँँग डा. स्वर्णिम वाग्ले
अमितले भनेजस्तै ‘केही गर्ला’ भनेर नै तनहुँ १ का जनताले कांग्रेसका सादगी नेता गोविन्द भट्टराई र पूर्वप्रहरी प्रमुख एमालेका सर्वेन्द्र खनाललाई भन्दा भारी मत प्रदान गरे।
पुराना दलका नेताहरुप्रतिको आक्रोश तथा गत साउनमा जन्मेको राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा) प्रति जनताले देखाएको विश्वास पनि मत बनेर उनीप्रति खनियो।
चुनावी प्रचारका क्रममा तनहुँ क्षेत्र नम्बर १ भ्रमणका क्रममा नै हामीले उनीप्रतिको जनभरोसाको आकलन गरिसकेका थियौँ।
तनहुँको डुम्रेमा आयोजित कांग्रेसको चुनावी सभामा वर्तमान र पूर्वप्रधानमन्त्रीहरुले स्वर्णिमको आलोचना गरिरहँदा कार्यकर्ताहरुले मुख बिगारेको पनि देखेकै थियौँ।
पुराना दलका नेताहरु पुरानै शैलीमा जनतासँग मत मागिरहेका थिए। विपक्षीको आलोचनाले मत बढ्छ भन्ने पुरातन सोचले ग्रस्त प्रतिस्पर्धीहरु स्वर्णिमको आलोचनामा समय खर्चिँदै थिए।
स्वर्णिम भने सामान्य जुत्ता र पोशाकमा जनताका ‘भुत्तिएका सपना’ हरुमा पाइन लगाउँदै थिए।
उनी भन्थे,‘ तनहुँको विकास त मेरो प्राथमिकता हो नै, यसका साथै राष्ट्रिय अर्थतन्त्रलाई सवल बनाउनु, जलवायु परिवर्तनसँग लड्नु र अन्तर्राष्ट्रियस्तरमा उठाउनुलाई पनि प्राथमिकतामा राखेको छु।’
विकासको लागि सुशासन र पारदर्शीता कति आवश्यक छ भन्ने कुरा मतदाताको मगजभित्र घुसाउन सफल उनले विपक्षीको खासै आलोचना गरेनन्। प्रतिरक्षा स्वभाविक थियो।
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष भइसकेका स्वर्णिमको लागि सिंहदरबार नौलो त होइन, तर विधायकको रुपमा भने उनको नयाँ यात्रा सुरु भएको छ।
पढन्ते र अब्बल विद्यार्थीको उपमा पाएका स्वर्णिमको वास्तविक परीक्षा बल्ल सुरु भएको छ। किनकि, २७५ मध्येका एक सांसदबाट मात्रै परिवर्तन सम्भव हुँदैन।
स्वर्णिमको पार्टी रास्वपा संसदको उदाउँदो शक्ति त हो तर ऊसँग सरकारको बागडोर छैन। स्वर्णिमकै शब्द सापटी लिने हो भने, भाषणको माध्यमबाट अन्य सांसदमध्ये पृथक बन्नुमात्रै उनको लक्ष्य होइन। उनी उमेर छँदै साँच्चिकै केही गर्न चाहन्छन्।
उनीबाट गरिएको अपेक्षा पनि त्यही हो। अन्तरमन र जनअपेक्षा पूरा गर्न मुखरित भएरमात्र पुग्दैन। चुनावी क्षेत्रका जनताका सामान्य समस्याको समाधान, बाटोघाटो निर्माण र कसैलाई भनेकै भरमा जागिर खुवाउने हैसियत बनाउनु उनका लागि चुनौती देखिएको छ।
परिवर्तनका लागि नेतृत्व आवश्यक पर्छ। सरकारको बागडोर सम्हाल्नेले लिने नीतिले मात्र सामाजिक र आर्थिक अवस्था बदल्न सकिन्छ।
सत्ताको खिचातानी कति खतरनाक र घातक छ भन्ने उनकै अध्यक्ष रवि लामिछानेले अनुभव गरिसकेका छन्। सत्ताको चास्नीमा डुबेपछि बन्ने पुराना जस्तै हो।
रवि लामिछानेसँग स्वर्णिम वाग्ले
नडुब्दाको अवस्थामा पाउने बोल्न मात्रै हो। राजनीतिका कूटिल खेलाडी तथा कुनै बेला स्वर्णिमले नै आदर्श मानेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले डुम्रेमा आयोजित चुनावी सभामा त्यसकै संकेत गर्दै भनेका थिए,‘धेरै कुरा के गर्ने? सरकार बन्ने र चलाउने भनकै हामीले हो, त्यसैले गर्ने (विकास) पनि हाम्ले नै हो।’
देउवालाई सत्य मान्ने हो भने, स्वर्णिम र उनको पार्टीसँग सांसदको रुपमा पाँच वर्षसम्म कि बोल्ने, कि खुद्रा–मसिना विकासे योजना लिएर जिल्ला आउने वा सत्तामा जाने विकल्पमात्र बाँकी छ।
पुराना नेता हिँडेको बाटोको यात्राले अपशकुन निम्त्याउँछ भन्ने उनलाई सिकाउन पर्दैन। समग्रमा स्वर्णिमको राजनीतिक यात्रा रास्वपाले रोज्ने अबको बाटोले नै निर्धारण गर्छ।
यसो भनिरहँदा, रास्वपा अध्यक्ष रवि लामिछानेको छायाँ बन्ने वा आफैँ नेता! इच्छाशक्तिले पनि धेरथोर उनको राजनीतिको बाटो तय गर्ने छ।






