काठमाडौं । बलिउड अभिनेत्री, फेसन आइकन तथा टेलिभिजन पर्सनालिटी मलाइका अरोरा बिहीबार काठमाडौं आइपुगेकी छन् । नेपाल रत्न तथा आभूषण संघले आयोजना गर्न लागेको फेसन रनवेमा शो-स्टपरको रुपमा भाग लिन मलाइका नेपाल आएकी हुन् ।
मुम्बईबाट बिहान १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेकी मलाइका लगत्तै होटल याक एण्ड यति पुगेकी थिइन् । जहाँ उनले संक्षिप्त मिडिया वार्तालाप समेत गरिन् । स्टाइलिस पहिरनमा आइपुगेकी मलाइका सेतो विन्टर ज्याकेट र कालो चस्मामा हट देखिएकी थिइन् ।
मलाइकालाई उनको नेपाल आगमन, योजना र फेसनबारे केही प्रश्न राखेको थियो । जवाफमा मलाइकाले आफूलाई नेपाल आउन पाउँदा खुसी लागेको बताउँदै निम्तोका लागि धन्यवाद समेत दिइन् । यसअघि पनि नेपाल आएकी उनले यसपटकको बसाइमा नेपालबारे थप बुझ्ने इच्छा रहेको बताइन् ।

यसपटकको नेपाल बसाइ छोटो हुने तर अधिकांश समय उक्त इभेन्टमा बताउने मलाइकाको भनाइ छ । ‘छोटो हुनेछ बसाइ तर मेरो अधिकांश समय यहीं बित्नेछ,’ उनले भनिन्, ‘नेपाल बसाइमा यहाँको फेसन, संस्कृति, फिल्म, संगीतबारे धेरै कुरा बुझ्ने प्रयास गर्नेछु ।’
रत्न तथा आभूषण प्रदर्शनीको हिस्सा बन्न पाउँदा खुसी लागेको भन्दै मलाइकाले नेपाली गहना र फेसन लगाउने अवसर पाउँदा निकै हर्षित भएको बताइन् । नेपाली रत्न तथा आभूषणलाई विश्वमाझ चिनाउने उद्देश्यले तीन दिने एक्स्पो आयोजना गरिएको हो । बिहीबार बेलुका हुने एक्स्पो शुभारम्भ समारोहको फेसन रनवेमा मलाइका शो स्टपर हुनेछिन् भने नेपाली मोडलहरुले र्याम्प नाप्नेछन् ।
तीन दिनसम्म चल्ने एक्स्पोमा सर्वसाधारणले निःशुल्क प्रवेश पाउने जनाइएको छ ।






