वसन्त ऋतुको आगमनसँगै कंक्रिटले भरिएको काठमाडौँका बचेखुचेका चौर, बगैँचा र खोलाकिनारतिर पनि बोटविरूवामा पालुवा पलाएका छन्। हरियालीसँगै रंगीचंगी फूलहरूले ऋतुको जनाउ दिइरहेका छन्। यस्तो लाग्दै छ, नयाँ वर्षको स्वागतमा धर्तीले फूलहरूको इन्द्रेणी बनाइदिएको छ।

सुन्दर फूल र मगमग वासनाले लगाउने मोहनी त छँदै छ, काठमाडौँको केन्द्र भागबाट बाहिर आधा घण्टाको यात्रामा मात्र निस्कने हो भने चराहरूको चिरबिर मिसिन थाल्छ। यसले बेग्लै सांगीतिक तरंगको अनुभूति गराउँछ।

रंगीन फूल र पालुवाहरूले काठमाडौँका दूषित खोलाहरू पनि सुन्दर बर्कोले छोपिएजस्ता देखिन्छन्।

वनस्पतिविद् डा तीर्थबहादुर श्रेष्ठका अनुसार, भौगोलिक हिसाबले विविधता भएको देश नेपालमा फूलहरूका पनि विभिन्‍न प्रजाति पाउन सकिन्छ। नेपालमा लगभग ७ हजार प्रजातिका फूल पाइन्छन् भने तीमध्ये १ हजार ५०० काठमाडौँमै छन्।

डा श्रेष्ठकै भनाइमा, विश्‍वका फूल फुल्ने वनस्पतिका प्रजातिहरूमध्ये नेपालमा ७ प्रतिशत पाइन्छन्। काठमाडौँको स्वस्थानीय फूलको कुरा गर्ने हो भने शिवपुरीमा रहेको युराल फूलका प्रजातिहरू (पहेँलो फूल) लाई लिन सकिन्‍छ, जसको प्रयोग घोडेजात्रामा रथ सिंगार्नका लागि गरिन्छ।

शिवपुरी डाँडामै पाइने बिख फूल (एपोनाइट) एक महत्त्वपूर्ण जडिबुटी पनि हो। यो फूल आफैँमा एकदम विषालु हुन्छ। यसको प्रयोग वैद्यहरूले विष झार्नको लागि गर्छन्। फूलको जरा वा गानोलाई गाईको मूत्रसँग मिलाएर ४-५ पटक उमालेपश्‍चात् त्यसलाई सुकाएर लामो प्रक्रियापछि प्रयोग गर्ने गर्दछन्। यस फूललाई चिनियाँ औषधिहरूमा पनि प्रयोग गरिन्छ।

यसैगरी काठमाडौँमा धेरै पाउने फूलहरूमा सुनाखरी (अर्किड) हो। हुर्कन र फुल्न लामो समय (२० औँ वर्ष) लाग्ने र लामो समयसम्म नओइलाउने यो फूल निकै सुन्दर र विशेष बनावटको हुन्छ।

यस फूलमा विविधता पनि धेरै पाइन्छ। सुनाखरीभित्र सुनगाभा, चाँदीगाभा फूलहरू पनि पर्दछन्। तर, आजकाल भने घट्दै गएको वनस्पतिविद् डा श्रेष्ठ बताउँछन्। मानिसहरूले फूल संकलन गर्ने, सिक्किम र ब्यांककसम्म निर्यात गर्ने तर रोप्ने र संरक्षण गर्ने क्रियाकलापमा ध्यान नदिने कारण सुनाखरी संकटोन्मुख रहेको उनको भनाइ छ।

वसन्त ऋतुको आगमनसँगै फुल्ने फूल मयल हो, जसको फललाई जंगली नास्पाती (पासी) पनि भन्‍ने गरिन्छ। काठमाडौँको रैथाने फूलको रूपमा रहेको मयल फूल छिटो फुल्नुका साथै छिटै झर्ने पनि गर्दछ। यो टाढाबाट हेर्दा नै निकै सुन्दर देखिने गर्छ।

डा श्रेष्ठका अनुसार, नेपालमा पाइने पैयुँ अन्य राष्‍ट्रमा पाइने पैयुँभन्‍दा फरक किसिमको हुन्छ। अन्य राष्‍ट्रमा वसन्त ऋतुमा फल्ने चेरी नेपालमा भने शरद ऋतुमा फल्छ, जुन काठमाडौँको स्थानीय फूल फुल्ने वनस्पतिमा पर्दछ। यसलाई शरद ऋतुमा फलेको देखेर विदेशीहरू विशेष आकर्षित हुने गर्दछन्। किनकि, नेपालमा यो क्रिसमस र अंग्रेजी नयाँ वर्षको समयमा फल्ने गर्छ।

वनस्पतिविद्हरूका अनुसार, हामीकहाँ धेरै किसिमका फूलहरू छन् तर एउटै फूल धेरै भने छैन। फूलहरूमा पनि बढाउन सकिने किसिमको फूलमा चिराइतो पर्न जान्छ, किनकि यसलाई वन फाँडेको ठाउँको छेउछेउमा लगाउन सकिन्छ। नेपालमा फूल फुल्ने बिरुवाको लागि सबैभन्दा अनुकूल स्थान ३ हजार मिटरभन्दा माथि र ४ हजार ५०० मिटरभन्दा तलको क्षेत्र हो, जहाँ कमसेकम १ हजार २०० किसिमका फूलहरू फुल्दछन्।


काठमाडौँमा पाइने फूलमै पर्छ, चिया अर्थात् हिङ्‍गुवा फूल (क्यामेलिया)। यसको मुनाबाट चिया पनि बनाइन्छ, जुन भोटेचियाको नामबाट प्रसिद्ध छ। तर, यसको चियाको प्रशोधन भने नेपालमा गरिएको छैन। ‘यसलाई नेपालमा टिपेर तिब्बत र हङकङ पठाइन्छ, त्यहाँ प्रशोधित भएर आएको चिया नेपालमा किनेर खाने गरिन्छ। यो फूल काठमाडौँको शिवपुरी, साँखु, गोदावरी आदि क्षेत्रमा पाइन्छ,’ डा श्रेष्ठ भन्छन्।

गएको २० वर्षमा काठमाडौँको तापक्रम बढ्दै गएकोले उष्ण हावापानीमा पाइने फूल पनि यहाँ फुल्ने गरेको छ।

काठमाडौँको खोला किनारमा पाइने बेगाम बेली फूल र घण्टाघरको रोडछेउमा पाइने ज्याकारान्डा फूल भने नेपालको रैथाने नभएर ब्राजिलबाट आएको डा श्रेष्‍ठ बताँउछन्। अहिले काठमाडौँमा बाहिरबाट आएका फूलहरू धेरै नै फुलेकाले सुन्दर त देखिएका छन् तर रैथाने फूलहरू नासिँदै गएका छन्।

डा श्रेष्ठकै भनाइमा, काठमाडौँमा फुल्ने ९० प्रतिशत फूलहरू ब्राजिल र मेक्सिकोका हुन्। किनकि, हाम्रो यहाँको प्राकृतिक वातावरण नै परिवर्तन भएर ‘ट्रपिकालिटी’तिर गइरहेको उनी ठान्छन्। उनी भन्छन्, ‘जलवायु परिवर्तनका कारणले अन्य राष्‍ट्रका फूलहरू यहाँको वातावरणअनुकूलन हुँदै गएका छन्। तापक्रम बढ्दै जाने र हाम्रा स्थानीय फूलहरूलाई जगेर्ना नगर्ने हो भने यहाँका फूलहरू लोप हुँदै जाने सम्भावना हुन्छ।’

फूल बगैँचाको सौन्दर्य मात्र होइन, बजारको माग र उपभोग पनि हो। बजारले माग गर्ने फूलको उत्पादन बढ्दै जान्छ, माग नभएका फूल बगैँचाबाट हराउँदै जान्छन्। त्यसैले रैथाने फूलको संरक्षण र विस्तार जनचेतनासँग पनि जोडिएको फूल व्यवसायीहरूको भनाइ छ।

फूल व्यवसायीहरूको संगठन फ्लोरिकल्चर एसोसिएसनका अध्‍यक्ष राजेशभक्त श्रेष्‍ठ भन्छन्, ‘रैथाने फूलहरूलाई जगेर्ना गरेर राख्‍नको लागि हामीले सकेसम्म धेरै यस्ता फूललाई प्रवर्द्धन गर्ने गरेका छौँ। विस्तारै सुधार त हुँदै छ तर अझै पनि मानिसहरूमा चेतनाको कमी भने छ। यसलाई प्रवर्द्धन गर्नकै निम्ति विभिन्‍न क्रियाकलापहरू भइरहेका छन्। ५ देखि ७ प्रतिशत यस्ता फूल मात्र सजावटका लागि प्रयोगमा आएका छन्।’

कोशी टेलिभिजन

लेखकको बारेमा

कोशी टेलिभिजन

लेखकबाट थप


प्रतिक्रिया!!

सम्बन्धित खबर