काठमाडौं । जनकपुर उपमहानगरपालिका–१९ की शान्तिदेवी यादवको घरको धारा पछिल्ला केही वर्षदेखि सुख्खा छ । न हिउँदमा पानी आयो, न जेठ असारको बर्खामा । वरिपरि टोलका ट्युबेल, धारा, इनार सुख्खा छन् । पानीका लागि डेढ घण्टा हिँडेर गंगा सागरसम्म पुग्नुपर्छ । घर अगाडिको पैनीमा कालो लेदो बग्छ ।

शान्तिसहित पानीको अभाव झेलिरहेका तराईका ४० जना नागरिक १५ दिनदेखि काठमाडौंको माइतीघरमा धर्ना बसिरहेका छन् । उनीहरूको एउटै गुहार छ– ‘सरकार पानी देऊ ।’

Pani-1717685603.jpg
उनीहरू सप्तरीदेखि पर्सासम्मका छन् । वैशाख १६ गते पैदलयात्रा थालेका उनीहरू जेठ १० गते काठमाडौं आइपुगे, त्यही दिनदेखि धर्ना थाले । तर, १५ दिन बितिसक्दा पनि उनीहरूको मागबारे बुझ्न सरकारका कुनै पनि निकाय र प्रतिनिधि आएका छैनन् ।

“अहिलेसम्म सरकार फुर्सदिलो नभएर होला, कसैले बोलाएका छैनन्, फुर्सद भएपछि भेट्न आउँछन् कि ?,” अभियानको नेतृत्व गरिरहेका दीपक यादव भन्छन् ।

तराईका सप्तरीदेखि पर्सासम्म पानीको मुख्य स्रोत चुरे क्षेत्रमा पर्छ । चुरेमा मापदण्डविपरीत सडक, भौतिक पूर्वाधार र वन फडानी हुँदा खानेपानीका स्रोतहरू खुम्चिँदै गए । यिनै जिल्ला भएर बग्ने कमला, बलानजस्ता नदीहरू अत्यधिक उत्खनन् हुन थालेपछि सुख्खा भूमिमा परिणत हुँदै गए । जसको प्रत्यक्ष असर दैनिक जनजीवन र बालीनालीमा पर्न थाल्यो ।

“तराईमा पहिले ३०/३२ फिट खन्दा पानी आउँथ्यो । अहिले ४०० फिट खन्दा पनि आउँदैन । राजमार्ग र सहरी क्षेत्रमा ट्यांकरबाट पानी बाँडिएको छ, गाउँहरूको हालत ज्यादै नराम्रो हुँदै गएको छ,” उनीहरू भन्छन् ।

Andolan-Khutta-Water-1717685602.jpg

तराई क्षेत्रमा सात वर्षदेखि पानीका स्रोतहरू सुक्दै गएका हुन् । अभियन्ता यादव पाँच वर्षदेखि भने अभाव चुलिएको बताउँछन् ।

“पहिले प्राय ठाउँमा बाह्रै महिना भल फुट्थ्यो, तर अहिले स्रोत नै सुके । पाँच वर्षयता देख्ने गरी संकट भएको छ । मूल कारण चुरेसँगै जोडिएको छ,” उनी भन्छन् ।

सिरहाको उदाहरण दिँदै यादव सुनाउँछन्, “गोलबजार नगरपालिका आसपास गागड खोला छ, खोला त्यति ठूलो छैन, उत्खनन गर्ने सामग्री पनि त्यति छैन । तर त्यहाँ १०० वटा ट्रिपर र सातवटा स्काभेटर लगाएर उत्खनन देखेपछि हाम्रा अभियन्ताले रोक्न खोजे । तर, प्रतिकार गरेर पठाइयो स्थानीय प्रतिनिधिसँग मिलेर नदी दोहन गर्छन् । हाम्रो सानो झुन्डले कसरी रोक्ने ?”

तराईका अधिकांश खोलाहरूमा क्षमताभन्दा बढी ढुंगा गिट्टी उत्खनन गर्दा पानी सुक्दै गएको र बालीनालीमा सिँचाइसमेत गर्न नपाएको उनीहरूको अनुभव छ ।

Pani-1717685603.jpeg
२५ मिटर तलसम्म खन्ने ग्राभल निकाल्ने र त्यसको ठाउँमा बालुवाले पुर्ने गर्दा खोलाले पानी सञ्चित नगरी बालुवाकै बगर बनिरहेको यादव बताउँछन् ।

“गागड खोला वरिपरि यतिखेर सुख्खा छ, तीन बाली हुने ठाउँमा अहिले एक बाली हुँदैन । स्थानीय सरकार नै दोहनमा प्रत्यक्ष संलग्न छन्, चुनाव जितेपछि उनीहरू शासक बन्छन् । अनि सरकारको दायित्व माइतीघरमा नखोजेर कहाँ खोज्ने त ?,” यादवको गुनासो छ ।

Sarkar-Pani-Deu1-1717685601.jpg
…अनि शान्तिदेवी ‘क्रान्ति’मा लागिन्

धनुषा, सिरहा, सप्तरीलगायत आसपासका स्थानीयले पानीका निम्ति सडक आन्दोलन गर्नुपरेको यो पहिलोपटक भने होइन । गएको वर्ष छठमा अर्घ्य दिनेबेला समेत खोलामा पर्याप्त पानी थिएन । पाँच वर्षदेखि पानीको यस्तै अभाव रहेको शान्तिदेवी बताँउछिन् ।

यसबीचमा उनीहरूले जनकपुर, राजविराज र काठमाडौंमा फरकफरक स्वरूपमा आन्दोलन गरे । कतिपय महिला गिरफ्तारीमा समेत परे । यसपटक उनीहरूको पाचौँ आन्दोलन हो ।

ShantiDevi-1717685602.jpg
“हमर नाम शान्ति, उठैवे क्रान्ति । सरकारले जबसम्म सुन्दैन तबसम्म फिर्ता जाँदेनौँ,” शान्तिदेवी सरकारप्रतिको आक्रोश पोख्छिन् । र, मधेसका नेताहरूलाई चुनौती दिन्छिन्, “एसीमा कति दिन बस्छौ ? हेरिरहेछौँ हामी ।”

सरकारका तर्फबाट आफ्ना समस्याको सम्बोधन नभएसम्म निरन्तर धर्नामा बस्ने उनीहरूको अठोट छ । पानी जीवन जगत्‌सँग जोडिएको सवाल भएकाले आफूहरूको आन्दोलनमा बुद्धिजीवीहरूले पनि साथ उनीहरूको अपेक्षा छ ।

कोशी टेलिभिजन

लेखकको बारेमा

कोशी टेलिभिजन

लेखकबाट थप


प्रतिक्रिया!!

सम्बन्धित खबर