एसपी यादव/सर्लाही, जेठ १२ गते । जिल्लाको नेपाल-भारत सीमावर्ती दशगजा क्षेत्रमा एक पुरुषको शव फेला परेको छ । मृतकको पहिचान खुल्न नसकेको अवस्थामा शवसँग भेटिएका केही सामग्रीले अनुसन्धानलाई नयाँ मोड दिन सक्ने अनुमान गरिएको छ ।
जिल्लाको पर्सा गाउँपालिका-१ स्थित सितलपुर टोल नजिक नेपाल-भारत सीमा क्षेत्रको दशगजामा मंगलबार अपराह्न करिब ३ बजे एक पुरुष मृत अवस्थामा फेला परेको हो । इलाका प्रहरी कार्यालय संग्रामपुरबाट प्रहरी नायब निरीक्षक बालकृष्ण फुयालको कमाण्डमा खटिएको गस्ती टोलीले नियमित गस्तीका क्रममा बाटो छेउमा शव देखेपछि घटनाबारे थप अनुसन्धान अघि बढाइएको सर्लाही प्रहरीले जनाएको छ ।

सर्लाही प्रहरीका अनुसार, मृतक अन्दाजी ४५ देखि ५० वर्ष उमेर समूहका पुरुष हुन् । हालसम्म उनको नाम, थर र ठेगाना खुल्न सकेको छैन । शव फेला परेको क्षेत्र इलाका प्रहरी कार्यालय संग्रामपुरबाट करिब एक किलोमिटर पूर्वतर्फ पर्ने भारतीय सीमा क्षेत्र हो । घटनास्थललाई तत्काल सुरक्षित राखी थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय मलंगवाबाट फरेन्सिक टोली घटनास्थलतर्फ परिचालन गरिएको थियो ।
प्रारम्भिक अनुसन्धानका क्रममा मृतकको हातमा लगाएको उनेको बालामा ‘जगन राउत’ लेखिएको भेटिएको प्रहरीले जनाएको छ । त्यस्तै मृतकको खल्तीबाट भारतीय १० रुपैयाँ र २ रुपैयाँका सिक्का समेत फेला परेको छ । यी सामग्रीका आधारमा मृतकको पहिचान र घटनाको पृष्ठभूमिबारे अनुसन्धान केन्द्रित गरिएको प्रहरीले जनाएको छ ।
मंगलबार साँझ करिब ५ः५० बजे कानुनी प्रक्रिया पूरा गरी शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा पठाइएको थियो । घटनाको प्रकृति, मृतकको पहिचान तथा मृत्युको कारणबारे थप अनुसन्धान जारी रहेको सर्लाही प्रहरीले जनाएको छ ।






