आजभोलि तीर्थाटन एवं घुमफिरको लागि धेरै पर्यटक गोरखाको मनकामना पुग्ने गर्दछन् । मनकामना पुगेपछि केबुल स्टेशनको पार्कबाट दक्षिण र पश्चिमतिरका अग्ला महाभारत पर्वत सबै पर्यटकहरुले देखेका हुन्छन् । कतिपयले आफ्नो क्यामेरामा ती पहाडको दृश्य कैद गरेका हुन्छन् । तर धेरै पर्यटकलाई ती पहाडको महत्व थाहा नहुन सक्छ । मनकामना माईको सात दिदी बहिनी थिए । जेठी बुढीकन्या माई र माहिली छिम्केश्वरी माई । पश्चिमपट्टि देखिने छिम्केश्वरी महाभारत पर्वत तनहूँ जिल्लामा पर्दछ । साहिली बहिनी गोरखा कालिका माई हुन् भने काहिली बहिनी मनकामना माई हुन् । केबुलकार स्टेशनको पार्कबाट दक्षिणपट्टि चितवन जिल्लाको महाभारत पर्वतमा अन्तरी बहिनी अर्थात इच्छाकामना माईको  मन्दिर पर्दछ । त्यसपछि जन्तरी बहिनी अन्नपूर्ण माई र कान्छी बहिनी अकला माईलाई भन्ने गरिन्छ ।

भुरे टाकुरे राजाहरुको पालामा गोरखाको दक्षिणी सिमानाको किल्ला मनकामना थियो भने इच्छाकामना मकवानपुरको उत्तरी किल्ला पर्दथ्यो । इच्छाकामनाको स्थापना पनि मकवानपुरका सेन राजाले उत्तरी किल्लाका रुपमा पहाडको टुप्पामा गराएका थिए । पछि इच्छाकामना बि.स.१९६५ साल अर्थात आजभन्दा ११५ वर्ष अगाडि स्थानीय मनिराज दर्लामी गोठाला जाँदा माईको दर्शन पाएका थिए । त्यसपछि गाउँलेहरुले ढुंगाको मन्दिर निर्माण गरी पूजा–आजाको शुरुवात गरेका हुन् । इच्छाकामना मन्दिर परिसरमा शिवालयको मन्दिर र गणेशको मूर्ति पनि स्थापना भएको छ । मोटरबाटो खुलेपछि आजभोलि मनकामना पुग्ने केही तीर्थाटनका पर्यटकहरु इच्छाकामना पुग्ने गर्दछन् । इच्छाकामना गाउँपालिका वाड नं ५ चितवन जिल्लाको महाभारत पर्वत श्रृंखलामा पर्दछ । इच्छाकामना माईको मन्दिर पृथ्वी राजमार्गको फिस्लिङ बजार भन्दा दक्षिण महाभारत पर्वतमा पर्दछ । इच्छाकामना र मनकामना मन्दिर दुई विपरीत अर्थात आमुन्ने सामुन्ने डाँडामा छन् । तीर्थाटनमा पुग्ने पर्यटकहरुको इच्छा पूरा गरिदिने भएकोले इच्छाकामना भनिएको हो ।

इच्छाकामना जाँदा पर्यटकहरुसँग प्याकेजको कार्यक्रम भयो भने घुमफिरको सार्थकता हुन्छ । इच्छाकामना माईको मन्दिरको मात्र तीर्थाटन गर्ने कि ? ऐतिहासिक कोट र चेपाङ जातिको बस्ती र संस्कृतिको बारेमा अध्ययन अवलोकन गर्ने ? अर्थात पहाडी भूगोलमा हाइकिङ गर्दै रमाउने ? यी सबै कुराको निक्र्याैल गरी यात्राको तय भयो भने घुमफिर उपलब्धिमूलक हुनेछ । इच्छाकामना जाँदा समूहमा जाँदा राम्रो हुन्छ । फिस्लिङबाट १७ किलोमिटरको सडकमा मोटरको यात्रा अथवा मुग्लिनबाट ७ कि.मी कच्ची मोटर मार्गको यात्रामा तामिङ गाउँसम्म पुगेर पैदल यात्रामा पनि इच्छाकामना पुग्न सकिन्छ । चितवनको शक्तिखोर, धादिङको बेनीघाट रोराङको हुग्दीखोला हुँदै पनि इच्छाकामना मन्दिर सवारी साधनमार्फत पुग्न सकिन्छ । इच्छाकामना सामुन्द्रिक सतह देखि १८ सय मिटरको उचाइमा रहेको छ । कतिपय शहरी क्षेत्रबाट इच्छाकामना पुग्ने पर्यटकहरु हाइकिङ गर्न पनि रुचाउँछन् । पैदल यात्रालाई आजभोलि शहर बजारमा बस्ने युवा पुस्ताहरुले हाइकिङ पनि भन्ने गर्दछन । शहर बजारमा बस्ने युवापुस्ताहरुले आजभोलि बोलीचालीमा एडभेञ्चर, फन, हेल्थ, होलिडे, गेटटुगेदर अनि फेलोसिपका शब्दहरु निकाल्छन् । शहरी युवा पुस्ताको चासो समेट्ने यी अंग्रेजी शब्दहरुलाई एउटै शब्दमा हाइकिङ भनिन्छ । हाइकिङ शब्द पर्यटनको भाषामा बुझ्दा डाँडाकाँडामा पैदल भ्रमण गर्ने भन्ने अर्थ लाग्छ ।

इच्छाकामनाको मन्दिरमा प्रत्येक वर्ष मंसिरको ठूलो एकादशी पछि पञ्चमी तिथिमा ठूलो मेला लाग्ने गर्दछ । पर्यटकहरु यो समयमा इच्छाकामनामा पुग्ने हो भने त्यस क्षेत्रको सांस्कृतिक प्रचलन समेत अध्ययन गर्न सक्छन् । इच्छाकामना मन्दिरको चारैतिर रहेका डाँडामा गुरुङ, घर्ती र चेपाङ समुदायको बाक्लो गाउँ पर्दछ । मन्दिर नजिकको बँदेलटारमा गुरुङ समुदायको बाहुल्यता रहेको छ । इच्छाकामना पुग्ने पर्यटकहरुलाई वरिपरिको प्राकृतिक वातावरणले आकर्षण गर्दछ । इच्छाकामनाको वरपर जंगलले ढाकेको छ । फागुन, चैतमा फुल्ने लालीगुराँसले वरिपरिको वातावरण रंगीन बन्छ । वनपाखा लालीगुराँस फूलले ढकमक्क हुन्छन् । त्यो बेला पर्यटकहरुको संख्या बढ्छ । चण्डीभञ्ज्याङको असीमुरे, पामडाँडा, चिसापानी, सिस्नेरी र चौतारा गाउँहरुको गुरुङ समुदायको बस्तीहरुले पर्यटकलाई ग्रामीण जनजीवनको बारेमा थप अध्यनको विषय बन्छ । इच्छाकामनाबाट सफा मौसममा सम्भवत सबैभन्दा लामो हिमाली श्रृंखला गणेश हिमालदेखि माछापुछ«ेसम्मको मनोरम दृश्य अवलोकन गर्न सकिन्छ । काठमाडौंको थानकोट लगायत भरतपुर, नारायणगढ, हेटौंडा र टाँडीसम्मको स्थान पनि अवलोकन गर्न सकिन्छ । मन्दिरको परिसरबाट उत्तरतिर रहेको गोरखा जिल्लाको धैवुङ, नाम्जुङको डाँडा, मकैसिंङ, भुम्लीचोक, बाग्लिङ गाउँ, ताङलीचोक, तिनमाने भज्याङ र मनकामना मन्दिर नजिकै देख्न सकिन्छ । तर यो सबै हेर्नका लागि मौसम भने सफा रहनुपर्दछ ।

इच्छाकामना र गोरखाको गण्डकी गाउँपालिका जोड्ने त्रिशुली नदीमाथि जीपलाइन सञ्चालन भएको छ । रिभर फनबीच रिसोर्ट बुट्टारले पृथ्वी राजमार्गको चुमखोला र गोरखाको बुट्टार जोड्ने त्रिशुली नदीमाथि जीपलाइनमा पर्यटकहरु रमाउन सक्छन् । जीपलाइन पृथ्वी राजमार्ग छेउमा रहेकाले चितवन, पोखरा, बन्दीपुर, मनकामनालगायत ठाउँमा आउजाउ गर्ने पर्यटकको रोजाइमा पर्ने गरेको छ । पृथ्र्वी राजमार्गमा पर्ने फिस्लिङबाट इच्छाकामनासम्म अहिले साना सवारी साधन जीप, मोटरसाइकल चल्ने गरेका छन् । पर्यटकले यात्रामा इन्टरनेट सुविधा उपभोग गर्न पनि सक्छन् । पर्यटकहरुको लागि खान बस्न होटल खुल्ने क्रम पनि बढदै गएको छ । इच्छाकामनामा गुरुङ र चेपाङ समुदायको बसोवास भएका बस्तीहरमा तरकारी उत्पादनको पकेट क्षेत्र पर्दछ । इच्छाकामनामा पुग्ने पर्यटकहरुले ग्रामीण क्षेत्रका ब्यावसायिक तरकारी खेती समेत अवलोकन गर्न पाउँछन् । इच्छाकामनामा पुग्ने पर्यटकहरुको अर्को आकर्षण भनेको सुन्तला खेती पनि हो । इच्छाकामना गाउँका बासिन्दाको नगदे खेती पनि सुन्तला हो । कार्तिक, मङ्सिर महिनामा पुग्ने पर्यटकहरुले गाउँभरि नै सुन्तलाले पहेँलपुर भएको देख्न पाउँछन् । हाँगामा लटरम्म फलेका सुन्तलाको दृश्य साँच्चिकै हेरिरहूँ झैं लाग्छ । सुन्तलाको बोटमा बसेर फोटो खिच्ने पर्यटकहरुको संख्या पनि कम हुँदैन । बगैंचामा बसेर सुन्तलाको स्वाद लिन पाउँदा पर्यटकहरु आनन्द मान्छन् । सुन्तला इच्छाकामनाको प्राय सबै गाउँमा पाइन्छ । सुन्तलाको स्वाद र धेरै उत्पादन हुने स्थान मनकामनाको नाम आउने गरे पनि इच्छाकामना सुन्तलाको लागी पकेट एरिया पर्दछ ।

इच्छाकामना–३ तोकडाङ गाउँमा पर्यटकहरुलाई सुविधा दिन होमस्टे पनि सञ्चालन भएको छ । तोकडाङ गाउँमा ३५ घर गुरुङ समुदायका छन् । गाउँमा पुग्ने पाहुनाहरुलाई खानपिन, सेवा सत्कार र आवासको कुनै असुविधा हुँदैन । तोकडाङ गाउँमा स्थानीय उत्पादनबाट बनेका परिकार, गुरुङ समुदायको संस्कृतिको अनुभव पर्यटकले पाउँछन् । पर्यटक पाहुनालाई लोकल खाना इच्छा अनुसार ढिँडो, साग, कुखुरा, लोकल रक्सी समेतको स्वाद लिन पाउँछन् । समूहमा जाने पर्यटकहरुलाई प्याकेजमा, वेलकम स्न्याक्स, डिनर, एक रात बास ब्रेकफास्ट र लन्चको सुविधा पनि पाइन्छ । साँझ गुरुङ समुदायको सांस्कृतिक कार्यक्रम देखाइन्छ । इच्छाकामना पुगेपछि धेरै तीर्थाटनका पर्यटकहरु गाउँघरको अध्ययन अवलोकन गर्न रुचाउँछन् । यसको लागि इच्छाकामना गाउँपालिकाको भूगोल महत्वपूर्ण स्थल मानिन्छ । इच्छाकामना गाउँपालिका २, ३, ५ र ६ वडामा छरिएर रहेका चेपाङबस्ती पनि पर्यटकहरुको लागि अध्ययनको विषय बन्छ । इच्छाकामनाको धुस्रा, ओरेक, नेतेडाडाँ, सातमारा र बोर्लेङ गाउँहरुमा चेपाङ जातिको बस्ती रहेको छ । बस्तीमा चेपाङहरुले परम्परागत आफैले तयार गरी प्रयोगमा ल्याएका सामग्री समेत पर्यटकहरुले अवलोकन गर्न सक्छन् । चेपाङहरुले प्रयोग गर्ने सामग्रीहरुमा चमेरो मार्न प्रयोग गर्ने जाल, ठेकी, माछा मार्ने ढडिया,  गिठा, भ्याकुर, च्युरी, डोका, डालो, नाम्लो, मुखौरो लगायतका सामग्री चेपाङ जातिको झुपडी घरमा झुण्डाएर राखेको देख्न सकिन्छ ।

चितवनको इच्छाकामना, धादिङ, मकवानपुर र गोरखा जिल्लाका विकट महाभारत पर्वतका गाउँहरुमा चेपाङ जातिको बसोबास छ । चेपाङ जातिको करिब ३० हजार जनसंख्या रहेको छ । चेपाङलाई प्रजा जाति पनि भनिन्छ । चेपाङ अर्थात प्रजा जाति आर्थिक, सामाजिक, शैक्षिक हरेक क्षेत्रमा पछाडि परेका छन । जंगलमा फिरन्ते जीवन बिताउनु, गिठ्ठा भ्याकुर खोज्नु, माछा मार्नु र शिकार खेल्नु चेपाङहरुको दिनचर्या हो । खोरिया फाडेर गरेको खेतीले वर्षको तीन महिना पनि खान पुग्दैन । अको तर्फ चेपाङ जातिहरुमा सानै उमेरमा बिहे गर्ने, धेरै सन्तान जन्माउनाले आमा र बच्चाको स्वास्थ्यस्थिति निकै कमजोर भएको पाइन्छ । चेपाङ जातिमा गरिबीका कारण कतिपयको शरीर ढाक्ने लुगासमेत हुँदैन । चेपाङ जातिको आफ्नो भन्ने खास कुनै सम्पत्ति हुँदैन । अर्काको काम गरेर, भारी बोकेर, जडिबुटी संकलन, च्यूरीको घ्यू र मह काढेर कमाएको थोरै आम्दानीले चेपाङ जातिको गुजारा चलेको छ । जग्गा नापी हुँदा सरकारी तीरो लाग्ने डरले धेरै चेपाङहरुले जग्गा दर्ता समेत नगरेको भेटिन्छ । जुन कारण अहिले पनि धेरै चेपाङ जातिसँग जग्गाधनी प्रमाणपूर्जा छैन । चेपाङहरु तुलनात्मकरुपमा सोझा, सरल र इमानदार हुन्छन् ।

मगोलियन मुखाकृतिका यिनीहरु गहुँगोरो, थेप्चेनाक, ठुलो अनुहार, मझौला कद र फुर्तिलो शारीरिक बनावटका हुन्छन् । चेपाङहरु मुख्य गरी दुईथरी कछारे र पुकुन्थली जात थरका पाइन्छन् । कछारेहरु आफुलाई सुन प्रजा भन्न मन पराउँछन् । चेपाङ नाम कै विषयमा चर्चा गर्दा च को अर्थ कुकुर र पाङको अर्थ धनुकाँड हुने र चेपाङहरुले घरघरमा कुकुर पाल्ने र धनुकाँडको सहायताले शिकार खेल्ने हुनाले चेपाङ हुन गयो भनिन्छ । यिनीहरु मृग, बँदेल, घोरलको शिकार गर्दछन् । प्रजा जाति भनेर चिनिने चेपाङ जातिले बोल्ने भाषा खाम्ची भनिन्छ । चेपाङहरुमा मामाचेली फुपुचेलाका बीचमा विवाह गर्ने चलन छ । यिनीहरुमा मागी विवाहलाई मान्यता दिने गर्दछन । चेपाङ जातिको विवाहमा दुलाहा र दुलहीले तीन पटक टाउको ठोक्काएर विवाह गर्ने र चिउरीको बोट दाईजो दिने चलन रहेको छ । चेपाङहरु प्रकृति पूजक हुन्छन्। यिनीहरुमध्ये कतिपयले हिन्दुहरुले जस्तै चाडपर्व मनाउने गर्दछन् । चेपाङहरु झाँक्रीलाई पाँडे भन्छन् । यिनीहरु आफ्नो समुदायमा कोही बिरामी परेमा उपचारका लागी झाँक्री बोलाउँछन् र रातभरि ढ्याङ्ग्रो ठोकेर देवीदेउताको नाम उच्चारण गर्दछ र उफ्रन्छन् । बोक्सी, पिचास वा देवी देवता रिसाएमा मात्र बिरामी परिन्छ भन्ने विश्वास गर्दछन् । यिनीहरु देवीदेवतालाई बाख्रा, सुंगुर र कुखुराको बलि दिन्छन् ।

प्रकृतिका काखमा खेल्न रमाउने चेपाङ जातिको उद्गम एवं बसोबास क्षेत्र चितवन जिल्लाको उत्तरी जंगलदेखि महाभारत श्रृंखलाका काखमा अवस्थित भूभागहरु खास गरी धादिङ जिल्लाको दक्षिणी क्षेत्र र मकवानपुरको पश्चिमी भाग नै हो । चेपाङहरु आफ्नो राज्य रहेको, जहाँ चारजना चेपाङ राजाहरुले राज्य गरेका र पछि पाटनका मल्ल राजाले आक्रमण गरी चेपाङ राज्य समाप्त गरेका कुरामा विश्वास गर्दछन् । चेपाङ जातिमा आफ्नो उत्पत्तिका बारेमा पनि निकै रोचक र अनुसन्धान गर्नलायक किम्वदन्ती पाइन्छ । चेपाङ जाति आफूहरुलाई सीताका सन्तान मान्छन् । चेपाङ जातिले भदौरे पूर्णिमाका दिन मनाउने चोनाम अर्थात न्वाँगी पर्व मुख्य पर्व मान्छन् । यो समयमा पुग्ने पर्यटकहरुले चोनाम पर्व, चेपाङ जातिको जीवन शैली र संस्कृतिसँग जोडिएका धेरै कुरा पनि अध्ययन गर्न सक्छन् । सोनाम पर्वमा झाँक्री अर्थात पाँडेलाई घरमा बोलाएर ढ्याङ्ग्रो ठोकेर पर्व मनाउने गर्दछन् । पर्यटकहरुका लागि यो दृष्य नौलो हुन्छ । चेपाङहरु एक आपसमा आफ्नै चेपाङ भाषा बोल्छन् तर अरुसँग बोल्दा नेपाली भाषामा कुरा गर्दछन् । युवा पुस्ताले भने मातृभाषा नै भुल्न थालिसकेका छन् ।

पर्यटनको लागि इच्छाकामना प्राकृतिक सुन्दरताले श्रृगार दिएको गाउँपालिका हो । लामो झरना जलविरे, सिराईचुली, हात्तीवाङ ऐतिहासिक क्षेत्र उपरदाङगढी समेतमा पुग्न सके राम्रो हुन्छ । ऐतिहासिक उपरदाङगढी आजभन्दा २ सय ५५ वर्ष पहिले पृथ्वीनारायण शाहका नाति शत्रुभञ्जन शाहले निर्माण गरेका हुन् । उपरदाङगढी चितवन जिल्लाको पुरानो सदरमुकाम पनि हो । यो गढीमा पुग्न इच्छाकामनाबाट भन्दा दासढुंगा नजिक पर्ने कपिलास–भोर्ले सडक अथवा चितवनको शक्तिखोरबाट जाँदा सजिलो हुन्छ । शक्तिखोरमा चेपाङ सङग्रहालय पनि छ । पर्यटकहरुले संग्रहालयमा चेपाङ समुदायले परापूर्वकालदेखि प्रयोग गर्ने सामग्रीहरु अवलोकन गर्न सक्छन् । सङग्रहालयमा चेपाङ समुदायले दैनिक प्रयोग गर्ने औजार, भाँडा वर्तन, शिकार खेल्दा प्रयोग गर्ने हतियार, उपचारमा प्रयोग गर्ने सामान, कन्दमुल, गिठ्ठा भ्याकुरलगायतका सामग्रीहरु संग्रहित गरिएको छ ।

लेखकको बारेमा

कोशी टेलिभिजन

लेखकबाट थप


प्रतिक्रिया!!

सम्बन्धित खबर