एसपी यादव/सर्लाही, साउन ११ गते । सर्लाहीको बलरा नगरपालिका-१ स्थित छन्की सीमाक्षेत्रमा नेपालबाट अवैध रूपमा भारततर्फ तस्करी गर्न लागिएको ठूलो परिमाणको मदिरा, पिकअप गाडी र चालकलाई सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त टोलीले नियन्त्रणमा लिएको छ ।

सोमबार बिहान करिब ११ बजे गरिएको संयुक्त चेकजाँचका क्रममा मलंगवा नगरपालिका-३ निवासी २८ वर्षीय सरोज महत्तोलाई प्रदेश २-०३-००१ च ५६६८ नम्बरको सेतो योद्धा पिकअपसहित पक्राउ गरिएको हो ।

सशस्त्र प्रहरी प्रमुख एसपी अमरबहादुर खत्रीका अनुसार, पिकअपमा नेपालबाट अवैध रूपमा भारततर्फ मदिरा लैजाँदै गरेको गोप्य सूचनाका आधारमा सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले चेकजाँच गर्दा ठूलो परिमाणमा मदिरा फेला परेको थियो । बरामद मदिरामध्ये एसी ब्ल्याक १२ इयर एडिसन (३७५ एमएल) का १० कार्टुन तथा गौरव सोफी (३०० एमएल) का ३५० कार्टुन रहेका छन् । बरामद मदिराको अनुमानित मूल्य रु. २ लाख ७० हजार रहेको छ भने पिकअप गाडीको अनुमानित मूल्य रु. १५ लाख रहेको छ । मदिरा र पिकअपसहित कुल रु. १७ लाख ७० हजार बराबरको सामान नियन्त्रणमा लिइएको एसपी खत्रीले जानकारी दिए ।

पक्राउ परेका चालक, बरामद मदिरा तथा पिकअप गाडीलाई आवश्यक कानुनी कारबाहीका लागि सर्लाही भन्सार कार्यालय मलंगवामा बुझाइएको छ ।

सीमाक्षेत्रमा हुने चोरी-तस्करी तथा अवैध ओसारपसार नियन्त्रणका लागि सुरक्षा निकायले संयुक्त रूपमा निगरानी र चेकजाँचलाई थप कडा बनाएको छ ।

एसपी यादव

लेखकको बारेमा

एसपी यादव

लेखकबाट थप

पत्रकार यादव राजनीतिक, खोज अनुसन्धान र समसामयिक लगायत विषयमा रिपोर्टिङ गर्छन् ।


प्रतिक्रिया!!

सम्बन्धित खबर