एसपी यादव/सर्लाही, भदौ १७ गते । जिल्लाको बढ्दो जनसंख्या र सवारीसाधनको चापअनुसार सीमित जनशक्तिका कारण ट्राफिक व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको भन्दै मलंगवामा सरोकारवाला निकायले व्यवस्थित ट्राफिक व्यवस्थापनका लागि संयुक्त पहल अघि बढाएका छन् ।

उपलब्ध जनशक्तिको प्रभावकारी परिचालन गर्दै बजार तथा मुख्य सडक क्षेत्रको सवारी व्यवस्थापन सुधार गर्ने योजना बनाइएको हो ।

यसअन्तर्गत पहिलो चरणमा राजश्री चोक-नगरपालिका चोक-जिविस चोक र शिवसागर चोक क्षेत्रलाई व्यवस्थित बनाउने योजना सार्वजनिक गरिएको छ । उक्त क्षेत्रमा अव्यवस्थित पार्किङ, सडक अतिक्रमण तथा जथाभावी सवारी रोक्ने प्रवृत्तिलाई नियन्त्रण गर्दै पैदलयात्री र सवारीसाधनको आवागमनलाई सहज बनाउने लक्ष्य राखिएको छ ।

मलंगवा नगरपालिका र जिल्ला ट्राफिक प्रहरी कार्यालय सर्लाहीको संयुक्त आयोजनामा मंगलबार नगरपालिकाको सभाहलमा सम्पन्न सरोकारवालासँगको अन्तरक्रिया तथा ट्राफिक व्यवस्थापनसम्बन्धी कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालय सर्लाहीका इन्चार्ज इन्स्पेक्टर झलक शर्माले ट्राफिक व्यवस्थापनसम्बन्धी विस्तृत योजना प्रस्तुत गरेका थिए ।

कार्यक्रममा मलंगवा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धन्तनाथ ढकालले स्वागत मन्तव्य राख्दै नगरको व्यवस्थित विकाससँगै प्रभावकारी ट्राफिक व्यवस्थापन अपरिहार्य रहेको बताएका थिए ।

कार्यक्रमको अध्यक्षता मलंगवा नगरपालिकाका नगर प्रमुख नागेन्द्र प्रसाद यादवले गरेका थिए भने सर्लाहीका प्रमुख जिल्ला अधिकारी विजयराज सुवेदी प्रमुख अतिथि रहेका थिए । कार्यक्रममा जिल्लास्थित सुरक्षा निकायका प्रमुख तथा विभिन्न सरोकारवाला निकायका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रमको सञ्चालन तथा उद्घोषण ट्राफिक प्रहरीका वरिष्ठ सई कृष्ण काराखेतीले गरेका थिए ।

सर्लाहीको सदरमुकाम मलंगवा बजार क्षेत्रमा बढ्दो सवारी चाप, अव्यवस्थित पार्किङ तथा सडक र फुटपाथको प्रयोगका कारण आवागमनमा समस्या देखिँदै आएको छ । सरोकारवालाहरुले पहिलो चरणको योजना प्रभावकारी रूपमा कार्यान्वयन भएपछि नगरभित्र रहेका अन्य व्यस्त बजार तथा सडक क्षेत्रमा समेत क्रमशः ट्राफिक व्यवस्थापन विस्तार गर्नुपर्नेमा जोड दिएका छन् ।

वि.सं. २०४७ सालमा स्थापना भएको जिल्लाकै पहिलो मलंगवा नगरपालिका सर्लाही जिल्लाको सदरमुकामसमेत रहेको छ ।

राष्ट्रिय जनगणना २०७८ अनुसार ८ लाख ६२ हजार ४ सय ७० जनसंख्या रहेको सर्लाहीमा ट्राफिक व्यवस्थापनका लागि जम्मा ४० जना ट्राफिक प्रहरी मात्र कार्यरत छन् ।

एसपी यादव

लेखकको बारेमा

एसपी यादव

लेखकबाट थप

पत्रकार यादव राजनीतिक, खोज अनुसन्धान र समसामयिक लगायत विषयमा रिपोर्टिङ गर्छन् ।


प्रतिक्रिया!!

सम्बन्धित खबर