एसपी यादव/सर्लाही, भदौ २२ गते । वैदेशिक रोजगारीका लागि मौरिसस पठाइदिने प्रलोभन देखाएर ठगी गरिएको १२ लाख रुपैयाँ जिल्ला प्रशासन कार्यालय मलंगवा सर्लाहीको पहल र समन्वयमा पीडितहरूले सोमबार फिर्ता पाएका छन् ।

ईश्वरपुर नगरपालिका-१ निवासी राजेन्द्र महतोका छोरा राकेश महतो भनिने नथुनी महतोले मौरिसस पठाइदिने आश्वासन दिँदै विभिन्न व्यक्तिबाट रकम असुल गरी ठगी गरेको थियो ।

ठगीमा परेकामध्ये मलंगवा नगरपालिका-१० निवासी राजकुमार रौनियार, अजय ठाकुर, ईश्वरपुर नगरपालिका-६ निवासी पहलाद सहनी तथा ब्रह्मपुरी गाउँपालिका-६ निवासी सन्दीप यादव रहेका छन् ।

महतोले वैदेशिक रोजगारीका लागि मौरिसस पठाइदिने भन्दै उनीहरूबाट कुल १२ लाख रुपैयाँ असुल गरे पनि लामो समयसम्म विदेश नपठाएको तथा रकमसमेत फिर्ता नगरेको पीडितहरूको भनाइ छ ।

लामो समयसम्म रकम फिर्ता नपाएपछि पीडितहरूले न्यायको माग गर्दै जिल्ला प्रशासन कार्यालय मलंगवा सर्लाहीमा निवेदन दिएका थिए । पीडितहरूको निवेदनपछि जिल्ला प्रशासन कार्यालयले पहल तथा समन्वय गरेको थियो ।

सोही क्रममा जिल्ला प्रशासन कार्यालयको रोहवरमा आरोपीका बुबा राजेन्द्र महतोले पीडितहरूलाई ठगी गरिएको कुल १२ लाख रुपैयाँ फिर्ता गरेका हुन् ।

वैदेशिक रोजगारीको नाममा हुने ठगीका घटनाहरू बढिरहेका बेला जिल्ला प्रशासन कार्यालय मलंगवाको पहलमा पीडितले रकम फिर्ता पाउनु राहतपूर्ण भए पनि यस्ता ठगीमा संलग्न व्यक्तिमाथि कानुनी कारबाही समेत हुनुपर्ने पीडितहरुको भनाइ छ ।

एसपी यादव

लेखकको बारेमा

एसपी यादव

लेखकबाट थप

पत्रकार यादव राजनीतिक, खोज अनुसन्धान र समसामयिक लगायत विषयमा रिपोर्टिङ गर्छन् ।


प्रतिक्रिया!!

सम्बन्धित खबर