एसपी यादव/सर्लाही, भदौ १९ गते । सीमानाकामा सुरक्षाको जिम्मेवारी पाएका असई प्रदिप कुमार यादवको प्रहरी चौकी भाँड्सरमा मोजमस्ति छ । असई यादवको संरक्षणमा सिमामा गैरकानुनी क्रियाकलाप बढ्नुका साथै व्यापक तस्करी मौलाएको छ ।
स्रोतका अनुसार, केही तस्करहरू प्रहरी चौकीमै गएर ‘डिल’ मिलाउने गरेका छन् । भारतसंग प्रत्यक्ष सिमाना जोडिएकोले असई यादवकै सेटिङमा दर्जनौ अवैध भट्टीहरुले घरेलु मदिरा उत्पादन तथा बिक्रीवितरण गर्दै आएको छ । भट्टी संचालक र प्रहरीबीच रकमको सेटिङ भएपछि निर्वाध रुपमा मदिरा उत्पादन भइरहेको स्थानीयहरुले बताएका छन् । अबैध मदिरा भट्टी चलाएरै मासिक लाखौं रुपैयाँ रकम उठाउने गरेका छन् ।

रातभरि मदिरा उत्पादन गर्ने कार्य हुन्छ । धुँवाको मुस्लो र उत्पादन भइरहेको रक्सीको गन्धबाट स्थानीयहरु आजित भएको बताएका छन् ।

नेपाल प्रहरी र सशस्त्र प्रहरीसंगको सेटिङकै कारण प्रहरीले आजसम्म कुनै पनि भट्टि भत्काउन वा मदिरा उत्पादन माथी रोक लगाउन नसकेको स्थानीयहरुले जनाएका छन् । तलदेखि माथिसम्म प्रहरी प्रशासनलाई महिनाबारी दिएरै सो अवैध भट्टी चलाइरहेको स्थानीयहरु बताउँछन् ।
दैनिक उत्पादन हुने घरेलु मदिराको मुख्य बजार छिमेकी मुलुक भारत रहेको छ । भने जिल्लाको विभिन्न स्थानदेखि प्रदेश तथा काठमाडौंसम्म प्रहरी प्रशासनको सेटिङमा निर्यात हुने गरेको स्थानीयहरुको दाबी छ ।
भारतको बिहार राज्यमा मदिरा उत्पादन तथा बिक्रीवितरणमा बिहार सरकारले प्रतिबन्ध लगाएपछि तराईका सिमावर्ती जिल्लाहरूमा अवैध रक्सी भट्टीहरूले मदिरा उत्पादन गरेर बिहारमा बिक्रीवितरण गर्दै आएको छ । भने सिमावर्ती क्षेत्रमा मदिरा पसलहरु पनि प्रशस्तै खुलेका छन् ।
भाँड्सरमा मात्रै १७ वटा मदिरा भट्टी सञ्चालनमा रहेको छ । जसमध्ये १६ वटा ठुलो र १ वटा सानो भट्टी रहेको छ । ठूलो भट्टीलाई मासिक १० हजार र सानो भट्टीलाई मासिक ५ हजार रेटनै तोकिएको छ । भने मदिरा पसल ११ वटा संचालनमा रहेको छ । भाँड्सरका प्रत्येक मदिरा पसलबाट समेत नेपाल प्रहरी र सशस्त्र प्रहरीले महिनावारी रकम असुल उपर गर्दै आएको स्रोत बताउँछन् ।
यस विषयमा प्रतिक्रिया लिन प्रहरी चौकी भाँड्सरका इन्चार्ज असई प्रदीप कुमार यादवसँग गरिएको फोन संवादका क्रममा जिल्ला प्रशासन कार्यालयको निर्णयविपरीत भाँड्सरमा मापदण्ड उल्लङ्घन गरी अवैध मदिरा उत्पादन, बिक्रीवितरण तथा मदिरा पसल सञ्चालन कसको आदेशमा भइरहेको छ ? भन्ने प्रश्न गरिएको थियो । जवाफमा असई यादवले आफ्नै आदेशमा सम्बन्धित व्यवसायीलाई १५ दिनको समय दिइएको बताएका छन् । उनले चालु महिनासम्म मापदण्डविपरीत सञ्चालन भइरहेका अवैध मदिरा उत्पादन, बिक्रीवितरण तथा मदिरा पसललाई सञ्चालन गर्न दिइने र असोज १ गतेदेखि जिल्ला प्रशासन कार्यालयको निर्णय पूर्ण रूपमा कार्यान्वयन गरिने बताएका छन् ।
त्यसैगरी, “यस सीमा क्षेत्रमा तस्करी तथा अन्य गैरकानुनी कारोबार भइरहेको भन्ने जनगुनासो व्यापक रूपमा प्राप्त भइरहेको छ नि ?” भन्ने प्रश्नमा असई यादवले भने, “पहिला हुन्थ्यो, तर अहिले तस्करी बन्द गराएको छु ।”
तर, संघीय सरकारको गृह मन्त्रालयअन्तर्गतको गुनासो व्यवस्थापन शाखामा नेपाल-भारत सीमा क्षेत्रमा अवैध मदिरा उत्पादन, बिक्रीवितरण, तस्करी तथा अन्य गैरकानुनी कारोबार भइरहेको भन्ने जनगुनासो प्राप्त भएपछि सर्लाहीका प्रमुख जिल्ला अधिकारी विजयराज सुवेदीको अध्यक्षतामा जिल्लास्थित सुरक्षा निकायका प्रमुख, सीमासँग जोडिएका स्थानीय तहका प्रमुख तथा सरोकारवालाबीच २०८३ असार २९ गते बैठक बसेको थियो । सो बैठकले सर्लाहीस्थित खुला सीमा, सीमा सुरक्षा तथा सामाजिक अनुशासनलाई दृष्टिगत गर्दै संघ तथा प्रदेश सरकारद्वारा निर्धारित प्रचलित कानुनबमोजिम सीमा नाकाबाट कम्तीमा ४ सय मिटर दूरीभित्र अवैध मदिरा उत्पादन, बिक्रीवितरण तथा मदिरा पसल सञ्चालन गर्न नदिने निर्णय गरेको थियो ।
जिल्ला प्रशासन कार्यालयबाट भएको निर्णय कार्यान्वयन गराउनु सम्बन्धित सुरक्षा निकायको दायित्वसमेत हो । तर उक्त निर्णय कार्यान्वयन गर्नुको सट्टा प्रहरी चौकीकै इन्चार्जबाट आफ्नै आदेशमा थप समय दिइएको अभिव्यक्ति आउनुले निर्णय कार्यान्वयनको अवस्था र कानुनी प्रक्रियामाथि गम्भीर प्रश्न उठाएको छ ।
प्रचलित कानुन तथा जिल्ला प्रशासन कार्यालयको निर्णयविपरीत कुनै व्यक्ति वा निकायले स्वेच्छाचारी रूपमा छुट वा समयसीमा दिन मिल्छ कि मिल्दैन भन्ने विषयमा सम्बन्धित निकायले स्पष्ट पार्नु आवश्यक देखिन्छ । सार्वजनिक सरोकारसँग जोडिएको यस विषयमा निष्पक्ष छानबिन गरी कानुनविपरीत भएको यस कार्य प्रति जिम्मेवार पक्षमाथि आवश्यक कारबाही गर्न सम्बन्धित निकायको तत्काल ध्यानाकर्षण हुनु आवश्यक छ ।
खुला सीमा, सीमा सुरक्षा तथा सामाजिक अनुशासनलाई दृष्टिगत गर्दै संघ तथा प्रदेश सरकारद्वारा निर्धारित प्रचलित कानुनबमोजिम सीमा नाकाबाट कम्तीमा ४ सय मिटर दूरीभित्र अवैध मदिरा उत्पादन, बिक्रीवितरण तथा मदिरा पसल सञ्चालन गर्न नदिने साथै तस्करी एवं अन्य गैरकानुनी कारोबार नियन्त्रण गर्ने जिल्ला प्रशासन कार्यालयको निर्णयको प्रभावकारी कार्यान्वयनको माग गर्दै भाँड्सरका स्थानीयवासीले गाउँमा हस्ताक्षर अभियान सञ्चालन गरेका छन् ।
मलंगवा नपा- ५ भाँड्सरका पूर्ववडाध्यक्ष मनोज सहनीका अनुसार, उक्त अभियानमा हालसम्म ५० भन्दा बढी स्थानीयले ऐक्यबद्धता जनाउँदै हस्ताक्षर गरिसकेका छन् । यस विषयमा सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदै कानुन तथा प्रशासनिक निर्णयको प्रभावकारी कार्यान्वयनको माग गर्न प्रमुख जिल्ला अधिकारीसमक्ष स्थानीयवासीको रोहवरमा हस्ताक्षरसहितको ज्ञापनपत्र बुझाउने कार्यक्रम तय गरिएको उनले जानकारी दिए ।
सर्लाही प्रहरी प्रशासनले पछिल्लो समय जिल्लाका विभिन्न स्थानमा प्रतिबन्धित लागुऔषध गाँजा तथा अन्य लागुऔषधविरुद्ध निगरानी र कारबाही तीव्र बनाउँदै आएको छ । तर जिल्लास्थित संग्रामपुर, नारायणपुर, पर्सा, त्रिभुवन नगर, मलंगवा, खुटौना, भाँडसर, फेन्हारा, बहादुरपुर, मधुवन गाउँ र बलरास्थित रहेको नाकामा
मापदण्ड उल्लङ्घन गरी अवैध मदिरा उत्पादन, बिक्रीवितरण तथा मदिरा पसल सञ्चालन भइरहेको विषयमा भने मौन देखिएको छ ।






