राजविराज,२५भदौ । राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पताल परिसरबाहिर एक महिलाले बच्चा जन्माउन बाध्य भएको घटनाप्रति स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले गम्भीर चासो व्यक्त गर्दै छानबिन अघि बढाएको छ।
घटनाको यथार्थ विवरण पत्ता लगाउन नेपाल मेडिकल काउन्सिलका रजिष्ट्रार डा.प्रभात श्रेष्ठ र एथिकल कमिटीका डा.अजय शाहसहितको पाँच सदस्यीय उच्चस्तरीय टोली राजविराजतर्फ प्रस्थान गरेको स्वास्थ्यमन्त्री निशा मेहताको सचिवालयले जनाएको छ। सोही टोलीमा मन्त्रालयको उपचारात्मक सेवा महाशाखा प्रमुख डा.पवनजंग रायमाझी समेत सहभागी छन्।

मन्त्रालयले सम्बन्धित अस्पतालसँग यस विषयमा औपचारिक स्पष्टीकरण माग गरेको छ। स्थलगत अध्ययनपश्चात प्राप्त हुने प्रतिवेदनका आधारमा दोषी ठहरिने जो कोहीलाई पनि कानुनबमोजिम कडा कारबाही गरिने मन्त्रालयले स्पष्ट पारेको छ। यसैबीच, अस्पताल प्रशासनले पनि आफ्ना तर्फबाट घटनाको छुट्टै छानबिन गर्न समिति गठन गर्ने भएको छ। विपद् वा सामान्य अवस्थामा पनि अस्पतालमा उपचार लिन आउने कुनै पनि सेवाग्राहीलाई स्वास्थ्य सेवाबाट वञ्चित गर्न नपाइने मन्त्रालयको भनाइ छ।






