राजविराज, २ जेठ । सप्तरी प्रहरीले पूर्व–पश्चिम राजमार्गबाट ठूलो परिमाणमा अवैध लागुऔषध गाँजासहित दुई जनालाई नियन्त्रणमा लिएको छ। धनकुटाको साङ्गुरीगढी गाउँपालिका–१ का ३३ वर्षीय महाप्रसाद लिम्बू र मोरङको लेटाङ नगरपालिका–५ का ४७ वर्षीय बल बहादुर लिम्बू बिहीबार १४१ किलो गाँजासहित पक्राउ परेका हुन्।

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत खडक नगरपालिका–५ रन्जितपुर खण्डमा नियमित सवारी चेकजाँचका क्रममा उनीहरूलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ। धरानबाट लहानतर्फ जाँदै गरेको को १ च २६६७ नम्बरको पिकअप भ्यानलाई शङ्का लागेर खानतलासी गर्दा भित्र लुकाएर राखिएको १४ वटा पोकामा कुल १ सय ४१ किलो गाँजा फेला परेको सप्तरीका प्रहरी प्रवक्ता एवं डीएसपी डम्बरबहादुर पुरीले जानकारी दिए। प्रहरीले पिकअप भ्यानसहित दुवै जनालाई नियन्त्रणमा लिई सप्तरी जिल्ला अदालत राजविराजबाट ७ दिनको म्याद थप गरी आवश्यक अनुसन्धान अघि बढाएको छ।

सवारी ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ
यसैगरी, विगत ८ महिनादेखि सवारी ज्यान मुद्दामा फरार रहेका एक प्रतिवादीलाई सप्तरी प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा खडक नगरपालिका–१० का २६ वर्षीय शिवमणि चौधरी रहेका छन्। उनलाई प्रहरीले लुकिछिपी बसिरहेको अवस्थामा बेल्हाबाट नियन्त्रणमा लिएको हो।

गत २०८२ असोज १६ गते खडक नगरपालिका–११ मा दुईवटा मोटरसाइकल एक आपसमा ठक्कर खाँदा भएको दुर्घटनामा चालकहरू चिन्तामणि चौधरी र सोभिन कुमार चौधरीको उपचारका क्रममा मृत्यु भएको थियो। उक्त दुर्घटनामा संलग्न रही फरार रहेका चौधरीलाई जिल्ला अदालतबाट ६ दिनको म्याद थप गरी कानुनी कारबाहीको प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ।

अभद्र व्यवहार गरेको आरोपमा दुई जना नियन्त्रणमा
त्यस्तै, गुडिरहेको गाडी रोकेर सिसा फुटाउनुका साथै गालीगलौज र अभद्र व्यवहार गरेको आरोपमा प्रहरीले अन्य दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा अग्निसाइर कृष्णसवरण गाउँपालिका–६ का ३० वर्षीय सन्तोष मण्डल र ३३ वर्षीय सञ्जय चौधरी छन्।

राजेन्द्र प्रसाद साहको जाहेरीका आधारमा उनीहरूलाई इलाकामा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो। पक्राउ परेका दुवै जनामाथि अभद्र व्यवहारको कसुरमा मुद्दा दर्ता गरी जिल्ला प्रशासन कार्यालय सप्तरीबाट ४ दिनको म्याद थप गराई अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।

कोशी टेलिभिजन

लेखकको बारेमा

कोशी टेलिभिजन

लेखकबाट थप


प्रतिक्रिया!!

सम्बन्धित खबर