एसपी यादव/सर्लाही, साउन ९ गते । सर्लाही प्रहरीले १३ क्विन्टल अदुवा, ३३० किलोग्राम लागूऔषध गाँजा र एउटा पिकअप गाडीसहित एक जनालाई पक्राउ गरेको छ ।
सर्लाही प्रहरी प्रमुख एसपी रविन्द्रनाथ पौडेलका अनुसार, शनिबार दिउँसो करिब १ः१५ बजे बलरा नगरपालिका-७ डुमरियास्थित भोला सिंहको कुखुरा फर्ममा बा.प्र.०१-०२६ च २८८६ नम्बरको पिकअपबाट लागूऔषध गाँजा अनलोड भइरहेको भन्ने गोप्य सूचना प्राप्त भएको थियो । सूचनापछि खटिएको प्रहरी टोलीले कुखुरा फर्ममा छापा मारेको थियो । खानतलासीका क्रममा प्रहरीले २६ वटा बोरामा रहेको १३ क्विन्टल अदुवा तथा १९ वटा पोकामा लुकाइराखिएको ३३० किलोग्राम लागूऔषध गाँजा बरामद गरेको एसपी पौडेलले जानकारी दिए ।

घटनास्थलबाट बलरा नगरपालिका-७ डुमरिया निवासी २८ वर्षीय अमरजित राउतलाई पक्राउ गरिएको छ । साथै अदुवा र गाँजा ओसारपसारमा प्रयोग भएको बा.प्र.०१-०२६ च २८८६ नम्बरको पिकअप गाडी पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।

बरामद अदुवा, लागूऔषध गाँजा, पिकअप गाडी तथा पक्राउ परेका राउतमाथि थप अनुसन्धान भइरहेको एसपी पौडेलले बताए ।






