एसपी यादव/सर्लाही, साउन ८ गते । जिल्ला प्रहरी कार्यालय मलंगवा सर्लाहीले आर्थिक वर्ष २०८२/०८३ मा अपराध नियन्त्रण, लागूऔषध नियन्त्रण, फरार प्रतिवादी पक्राउ, भन्सार छली नियन्त्रण तथा शान्ति सुरक्षा व्यवस्थापनमा उल्लेखनीय उपलब्धि हासिल गरेको जनाएको छ ।

शुक्रबार आयोजित मिडियासँगको भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा सार्वजनिक गरिएको वार्षिक कार्य विवरणअनुसार एक वर्षको अवधिमा ९३० फरार प्रतिवादी पक्राउ गर्नुका साथै रु. ९ करोड ४५ लाख ९२ हजार ५६७ बराबरका अवैध भन्सार तथा राजस्व छलीका सामान बरामद गरिएको सर्लाही प्रहरी प्रमुख एसपी रविन्द्रनाथ पौडेलले जानकारी दिए ।


एसपी पौडेलका अनुसार, आर्थिक वर्षभरि १ हजार २५८ वटा मुद्दा दर्ता भएका छन् । तीमध्ये ७६० वटा फर्छ्योट भइसकेका छन् भने ४९८ वटा अनुसन्धानकै क्रममा छन् । दर्ता भएका मुद्दामध्ये १८५ ज्यानसम्बन्धी, १८८ आत्महत्या, ११५ चोरी, २२६ संगठित तथा आर्थिक अपराध, ३६५ सामाजिक अपराध, ८२ महिला तथा बालबालिकासम्बन्धी, ९१ सवारी ज्यान र ६ अन्य रहेका छन् । यसै अवधिमा दर्ता भएका २ हजार २०६ ठाडो उजुरी सबै फर्छ्योट गरिएको उनले बताए ।

लागुऔषध नियन्त्रण अभियानअन्तर्गत ७५ वटा मुद्दा दर्ता गरी ८७ जनालाई पक्राउ गरिएको छ । प्रहरीले १ हजार २१२.२७३ किलोग्राम गाँजा, ११० ग्राम र ९३० मिलिग्राम चरेश, २३९.७५ ग्राम ब्राउन सुगर तथा ५ हजार ३८३ वटा लागुऔषधजन्य पिस बरामद गरेको एसपी पौडेलले जानकारी दिए ।

अदालतको फैसला कार्यान्वयन अभियानअन्तर्गत ९३० फरार प्रतिवादी पक्राउ परेका छन् । उनीहरूबाट २७७ वर्ष १ महिना २९ दिन कैद सजाय कार्यान्वयन हुनुका साथै रु. ५२ लाख ३३ हजार ५४४ जरिवाना असुल गरिएको उनले बताए ।

यस्तै अवैध हातहतियार नियन्त्रण अभियानमा ७ थान हातहतियार र ५ राउन्ड गोली बरामद गरिएको तथा १५ जनालाई पक्राउ गरिएको छ । खोटा मुद्रासम्बन्धी २ वटा मुद्दामा २ जना पक्राउ परेको छ भने रु. १ लाख ५ हजार ६८५ नेपाली र रु. ५५ हजार भारतीय नक्कली नोट बरामद गरिएको छ ।

एसपी पौडेलका अनुसार, आर्थिक वर्षभरि १ हजार २११ वटा सवारी दुर्घटना हुँदा ७१ जनाको मृत्यु भएको तथा १ हजार ९२७ जना घाइते भएका छन् । दुर्घटनामध्ये चालकको लापरबाही प्रमुख कारण रहेको तथ्याङ्कले देखाएको छ ।

ट्राफिक नियम उल्लंघन गर्ने १० हजार ९४० सवारीसाधनलाई कारबाही गर्दा रु. १ करोड १७ लाख ५२ हजार ५०२ राजस्व संकलन भएको छ । भन्सार छली नियन्त्रण अभियानमा ४८ जनालाई पक्राउ गरी १०५ वटा सवारीसाधन नियन्त्रणमा लिइएको छ । यस क्रममा रु. ५ करोड ३१ लाख ६७ हजार ९८० बराबरका सामान भन्सार कार्यालयमा दाखिला गरिएको छ । साथै राजस्व छलीको क्रममा ६ वटा सवारीसाधन नियन्त्रणमा लिइएको छ । यस क्रममा रु. ४ करोड १४ लाख २४ हजार ५८७ बराबरका सामान भन्सार कार्यालयमा दाखिला गरिएको छ । कुल रु. ९ करोड ४५ लाख ९२ हजार ५६७ बराबरका अवैध भन्सार तथा राजस्व छलीका सामान भन्सार कार्यालयमा दाखिला गरिएको छ ।

प्रहरीले वर्षभरि स्रोत नखुलेको रु. ३४ लाख ९ हजार ३१६ सहित १३ जनालाई पक्राउ गरेको छ । साथै ८ हजार ४७० क्युफिट अवैध काठ बरामद गरी रु. ९ लाख ११ हजार १७६ राजस्व संकलन गरिएको छ । नदीजन्य पदार्थको अवैध उत्खननमा संलग्न ३२ वटा सवारीसाधनसहित २ जनालाई नियन्त्रणमा लिई रु. ३ लाख १० हजार राजस्व संकलन गरिएको उनले बताए ।

यसै अवधिमा सम्पत्ति शुद्धीकरणसम्बन्धी १ मुद्दामा २ जना पक्राउ परेका छन् भने जेनजेड आन्दोलनसँग सम्बन्धित विभिन्न मुद्दाका १५ फरार प्रतिवादी पनि पक्राउ गरिएको छ ।

लागुऔषध उत्पादन नियन्त्रण अभियानअन्तर्गत १२१ बिघा ५ कठ्ठा ५ धुर क्षेत्रफलमा लगाइएको अनुमानित ८ लाख ४५ हजार गाँजाका बोट फडानी गरी नष्ट गरिएको छ । यस्तै अवैध घरेलु मदिरा नियन्त्रणअन्तर्गत एउटा भट्टी नष्ट गरी ६ हजार ६ सय ८८ लिटर मदिरा बरामद गरिएको तथा १ जनालाई पक्राउ गरिएको छ ।

सेवा प्रवाहतर्फ नागरिकता, हातहतियार नवीकरण तथा अन्य प्रयोजनका लागि २ हजार ४२१ मुचुल्का तयार गरिएको छ । वर्षभरि हराएका ३९५ महिला तथा बालबालिकामध्ये ३६५ जना फेला पारिएको छ भने ३० जनाको खोजी जारी रहेको छ । हराएका २७० मोबाइलमध्ये ७२ वटा फेला परेका छन् भने बाँकीको खोजी भइरहेको छ ।

घरेलु हिंसासम्बन्धी २५५ उजुरी दर्ता भएकामध्ये २३० वटा मिलापत्र भएका छन् भने २५ वटा फर्छ्योट हुन बाँकी छन् । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकसम्बन्धी ९१० उजुरी दर्ता भएका छन् ।

एसपी पौडेलका अनुसार, आर्थिक वर्ष २०८२/०८३ मा खेतमा सिँचाइ गर्ने क्रममा करेन्ट लागेर ६ जना किसानको मृत्यु भएको छ । समुदाय-प्रहरी साझेदारीअन्तर्गत ८५९ सामुदायिक र १०७ विद्यालय केन्द्रित गरी ९६६ जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको जसबाट २५ हजार ५४४ जना लाभान्वित भएका छन् । साथै १ लाख १५ हजार २७६ सेवाग्राहीले जिल्ला प्रहरी कार्यालय मलंगवाबाट विभिन्न प्रहरी सेवा प्राप्त गरेका छन् ।

प्रहरीले आर्थिक वर्षभरिमा भएका चर्चित अपराधको सफल अनुसन्धानसमेत सार्वजनिक गरेको छ । हरिपूर्वाका शिक्षक रामपुकार यादव, ईश्वरपुरका रामेश्वर महतो कोइरी, पूर्वाधार विकास कार्यालय सर्लाहीका सब-इन्जिनियर प्रमोद कुमार यादव तथा बसबरियाका होस नारायण यादव हत्या प्रकरणका साथै ट्रान्सफर्मर चोरी घटनाका आरोपितहरूलाई पक्राउ गरी कानुनी कारबाही अघि बढाइएको एसपी पौडेलले जानकारी दिए ।

उनका अनुसार जिल्ला प्रहरी कार्यालय मलंगवाले नियमित मोबाइल, पैदल तथा ग्रामीण गस्ती, एलआरपी, एसआरपी, चेकिङ, पिकेट, क्यूआरटी तथा रिजर्भ टोली परिचालन गर्दै शान्ति सुरक्षा कायम राख्दै आएको छ । चालु आर्थिक वर्षमा प्रोब्लेम ओरिएन्टेड पोलिसिङ, लागूऔषध नियन्त्रण, सडक दुर्घटना न्यूनीकरण, आत्महत्या, बालविवाह तथा घरेलु हिंसा न्यूनीकरण, भन्सार तस्करी नियन्त्रण, सिसिटिभी विस्तार र सेवा प्रवाहमा सुधारलाई उच्च प्राथमिकतामा राखिएको एसपी रविन्द्रनाथ पौडेलले बताए ।

एसपी यादव

लेखकको बारेमा

एसपी यादव

लेखकबाट थप

पत्रकार यादव राजनीतिक, खोज अनुसन्धान र समसामयिक लगायत विषयमा रिपोर्टिङ गर्छन् ।


प्रतिक्रिया!!

सम्बन्धित खबर