सिरहा । सिरहाको लहान नगरपालिका क्षेत्रमा फलफूल ढुवानीको आवरणमा भइरहेको ठूलो परिमाणको लागुऔषध तस्करीको धन्दा पर्दाफास भएको छ। प्रहरीले लहानको नयाँ बस्ती टोलमा पार्किग गरी राखिएको नास्पाती बोकेको पिकअप गाडीभित्र फलफूलका क्रेटहरूमा लुकाइछिपाइ राखिएको अवस्थामा ६ सय किलोभन्दा बढी गाँजा फेला पारेको हो।
जिल्ला प्रहरी कार्यालय सिरहाबाट परिचालन गरिएको विशेष सुराकी टोलीले शङ्कास्पद रूपमा रोकिराखिएको बा२१च ५६६६ नम्बरको योद्धा पिकअप गाडीमाथि छापा मारेको थियो। गाडीभित्र खानतलासी गर्दा नास्पाती राख्ने ४६ वटा प्लास्टिकका क्रेटहरूमा छुट्टाछुट्टै बोरामा प्याक गरेर अवैध रूपमा लागुऔषध थुपारिएको रहस्य खुलेको हो। प्रहरीका अनुसार बरामद गरिएको उक्त शङ्कास्पद पदार्थको कुल तौल प्लास्टिकसहित ६ सय ६३ किलोग्राम र खाली गर्दा ६ सय ५२ किलोग्राम हुन आउँछ। साथै गाडीमा लोड गरिएको करिब ९ हजार ९ सय २० किलो नास्पातीसहित सवारीसाधनलाई पनि नियन्त्रणमा लिइएको छ।

उक्त लागुऔषध तस्करीको घटनामा प्रत्यक्ष संलग्न रहेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। लहान नगरपालिका–३ की ३८ वर्षीया श्यामकुमारी साह, भारतको मधुवनी जिल्ला घर भई हाल लहानमै बसोबास गर्दै आएका ४० वर्षीय गौरव महतो र उनका १९ वर्षीय छोरा शिवम साहलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक रमेशबहादुर पालले बताएका छन्।
पक्राउ परेका तीनै जनाविरुद्ध लागुऔषध नियन्त्रण ऐन अन्तर्गतको कसुरमा अदालतबाट म्याद अनुमति लिई थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको छ। यति ठूलो परिमाणको गाँजा कहाँबाट सङ्कलन गरिएको थियो र यसको अन्तिम बजार वा गन्तव्य कहाँ रहेको थियो भन्नेबारे विस्तृत खुलाशा गर्न तथा यस गिरोहका अन्य नाइकेहरूको खोजीका लागि प्रहरीले अनुसन्धानको दायरा थप विस्तार गरेको छ।






