बारा । चुनावी बाचा पूरा नगरेको आरोप लगाउँदै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदविरुद्ध सामाजिक सञ्जालमा आक्रामक र धम्कीपूर्ण अभिव्यक्ति दिने एक युवा प्रहरीको फन्दामा परेका छन्। बारा निर्वाचन क्षेत्र नम्बर ३ का जनप्रतिनिधि सांसद अरबिन्द साहलाई लक्षित गरी फेसबूकमा सार्वजनिक चेतावनी दिएका स्थानीय बासिन्दा निजामुद्दिन अन्सारीलाई नियन्त्रणमा लिइएको हो।
सांसद साहले दिएको औपचारिक उजुरीलाई आधार मान्दै जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख एसपी नरेन्द्र कुँवरको टोलीले अन्सारीलाई पक्राउ गरेको जनाएको छ। प्रहरीले उनलाई विद्युतीय कारोबार ऐन अन्तर्गतको कसुरमा अनुसन्धानको दायरामा राखेको छ र आवश्यक कानुनी प्रक्रिया पुर्याएर अदालतमा पेस गर्ने तयारी भइरहेको छ।

पक्राउ परेका अन्सारीले आफ्नो सामाजिक सञ्जालमार्फत सांसद साह क्षेत्रमा उपस्थित हुँदा भेटघाट भएमा ‘कालो मसी दल्ने’ भन्दै कडा चुनौती दिएका थिए। सांसदले आफ्नो चुनावी घोषणापत्रमा समेटिएका प्रतिबद्धता अनुसार सिन्को पनि नभाँचेको भन्दै उनले आक्रोश पोखेका थिए र जनताको असन्तुष्टि व्यक्त गर्दै उनलाई पुनः काठमाडौं फर्काउने चेतावनी दिएका थिए।
यसैबीच, अन्सारीको पक्राउलाई लिएर स्थानीय स्तरमा विभिन्न कोणबाट प्रतिक्रिया आएका छन्। उनका निकटस्थ तथा केही नागरिकहरूले राजनीतिक असन्तुष्टिलाई डिजिटल माध्यममा पोख्दैमा सिधै प्रहरी हिरासतमा राख्नु जायज नहुने तर्क गरेका छन्। जनतालाई आफ्ना निर्वाचित प्रतिनिधिहरूप्रति प्रश्न गर्ने र गुनासो पोख्ने अधिकार हुनुपर्ने उनीहरूको भनाइ छ। यता प्रहरी प्रशासनले भने सामाजिक सञ्जालको प्रयोग गरेर कुनै पनि व्यक्तिलाई लक्षित गर्दै घृणा फैलाउने, द्वेष उत्पन्न गराउने वा भौतिक कारबाहीको धम्की दिनेजस्ता गैरकानुनी गतिविधि सैह्य नहुने स्पष्ट पारेको छ।






