एसपी यादव/सर्लाही, वैशाख २८ गते । जिल्लाको ईश्वरपुर नगरपालिका-२ राईटरखोरमा मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका एक पुरुषको उपचारका क्रममा मृत्यु भएको छ ।
आइतबार राति करिब ८ः१५ बजे मियाँखोरबाट पूर्वतर्फ सुकनाहातर्फ जाँदै गरेको बिआर ३० इ ६९०२ नम्बरको भारतीय मोटरसाइकलले विपरीत दिशाबाट आउँदै गरेका साइकलयात्रीलाई ठक्कर दिएको थियो ।

दुर्घटनामा ईश्वरपुर नगरपालिका-२ राईटरखोर निवासी करिब ६५ वर्षीय किसुन देव साह गम्भीर घाइते भएका थिए । उनको टाउको तथा दुवै खुट्टामा गम्भीर चोट लागेको थियो । निजलाई थप उपचारका लागि राति ११ः५८ बजे प्रादेशिक अस्पताल मलंगवा ल्याइएको तर चिकित्सकले साहलाई मृत घोषणा गरेको सर्लाही प्रहरीका प्रवक्ता एवं डिएसपी सरोज राईले जानकारी गराएका छन् ।
दुर्घटनामा मोटरसाइकलको पछाडि सवार ईश्वरपुर नगरपालिका-१५ सुकनाहा निवासी सोनेलाल राउतका करिब १४ वर्षीय छोरा बिक्की कुमार राउत पनि घाइते भएका छन् । उनको घुँडामा सामान्य चोट लागेको र स्थानीय मेडिकलमा उपचार भइरहेको प्रहरीले जनाइएको छ ।
दुर्घटनामा संलग्न मोटरसाइकलसहित चालक ईश्वरपुर नगरपालिका-१५ सुकनाहा निवासी देबेन्द्र साहको छोरा करिब २३ वर्षीय मनिष साहलाई प्रहरीले नियन्त्रणमा लिएको छ । भने उनलाई हाल इलाका प्रहरी कार्यालय भक्तिपुरको नियन्त्रणमा राखी घटनाबारे थप अनुसन्धान भइरहेको डिएसपी राईले बताएका छन् ।






