धरान।धरानको सुरक्षा र सडक अनुशासनलाई दृष्टिगत गर्दै सवारी दुर्घटना न्यूनीकरणका लागि सञ्चालित विशेष अभियान अन्तर्गत शनिबार चालकहरूको स्वास्थ्य तथा नशालु पदार्थ सेवन परीक्षण गरिएको छ।

नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीका प्रहरी उपरीक्षक दिपक गिरीको प्रमुख आतिथ्यतामा कोशी लोकमार्गको तिनकुने खण्डमा यो कार्यक्रम आयोजना गरिएको हो। जिल्ला ट्राफिक प्रहरी कार्यालय सुनसरीको आयोजना, धरान उपमहानगरपालिकाको सहकार्य तथा इलाका प्रहरी कार्यालय धरानका प्रमुख र सञ्चारकर्मीहरूको उपस्थितिमा सवारी साधनका चालकहरूको सघन चेकजाँच गरिएको थियो।

सडक सुरक्षालाई सुदृढ बनाउने उद्देश्यले गरिएको उक्त परीक्षणका क्रममा ३२ जना चालकहरूको लागू पदार्थ सेवन (लापसे) जाँच गरिएको थियो। परीक्षणका क्रममा दुई जना अटो चालक र चार जना बस चालकले लागू पदार्थ सेवन गरेको पुष्टि भएको छ। त्यसैगरी, एक जना मोटरसाइकल चालकले मादक पदार्थ सेवन (मापसे) गरेको भेटिएको छ।

नियम विपरीत सवारी चलाउने ती चालकहरूलाई थप अनुसन्धान तथा आवश्यक कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय धरानमा बुझाइएको ट्राफिक प्रहरीले जनाएको छ। सडकमा हुने मानवीय क्षति कम गर्न र चालकहरूलाई जिम्मेवार बनाउन यस्ता आकस्मिक परीक्षणहरूलाई निरन्तरता दिइने प्रहरी उपरीक्षक गिरीले बताउनुभयो।

कोशी टेलिभिजन

लेखकको बारेमा

कोशी टेलिभिजन

लेखकबाट थप


प्रतिक्रिया!!

सम्बन्धित खबर