राजविराज – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट सप्तरी क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य रामजी यादव यतिबेला नीति निर्माणभन्दा पनि आफ्नो नामअगाडि प्रयोग गरेको गलत विशेषणका कारण चर्चा र विवादमा तानिएका छन्।

नेपालको प्रचलित मर्यादाक्रम र राजकीय अभ्यासलाई बेवास्ता गर्दै सांसद यादवले सामाजिक सञ्जालमा आफूलाई ‘सम्माननीय सांसद’ का रूपमा प्रस्तुत गरेपछि उनको कानुनी साक्षरता र पदीय गरिमामाथि प्रश्न उठेको हो।

के हो घटना ?

हालै राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालको निरीक्षणमा पुगेका सांसद यादवले आफ्नो आधिकारिक फेसबुक पेजबाट एउटा भिडियो ‘रिल’ सार्वजनिक गरेका छन्। हिन्दी गीत ‘आधी रात मे याद करोगे भाई आपका खडा मिलेगा’ को पृष्ठभूमि संगीतमा बनाइएको उक्त भिडियोमा उनले ठूला अक्षरमा ‘सम्माननीय सांसद रामजी यादव’ लेखेका छन्।

राज्यका अति विशिष्ट ६ पदका लागि मात्र आरक्षित ‘सम्माननीय’ शब्द एउटा सांसदले आफ्नै लागि प्रयोग गर्नुलाई राजनीतिवृत्तमा ‘अध्ययनको कमी’ र ‘मर्यादाको उल्लंघन’ का रूपमा लिइएको छ।

कसले के लेख्न पाउँछ ?

नेपाल सरकारले निर्धारण गरेको मर्यादाक्रम अनुसार:

  • सम्माननीय: राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, प्रतिनिधि सभाका सभामुख र राष्ट्रिय सभाका अध्यक्षले मात्र यो विशेषण प्रयोग गर्न पाउँछन्।

  • माननीय: मन्त्री, सांसद, प्रदेश प्रमुख, मुख्यमन्त्री र उच्च अदालतका न्यायाधीशका लागि यो शब्द प्रयोग गरिन्छ।

आलोचनाको घेरामा सांसद

सामाजिक सञ्जालमा यो पोष्ट भाइरल भएसँगै सर्वसाधारणले रास्वपाको ‘जान्नेलाई छान्ने’ नारामाथि नै व्यङ्ग्य गर्न थालेका छन्। एकजना सांसदलाई आफूले कुन विशेषण प्रयोग गर्ने भन्ने सामान्य ज्ञान समेत नहुनु दुःखद भएको टिप्पणी भइरहेको छ।

अस्पताल जस्तो संवेदनशील क्षेत्रको निरीक्षणलाई मनोरञ्जनात्मक हिन्दी गीतको रिल बनाउनु र त्यसमा पदको मर्यादा समेत ख्याल नगर्नुले सांसद यादवको अपरिपक्वता झल्काएको स्थानीयको बुझाइ छ। यसबारे रास्वपा सचिवालय वा स्वयं सांसद यादवबाट हालसम्म कुनै आधिकारिक स्पष्टीकरण आएको छैन।

नवीन नरसिंह नेपाली

लेखकको बारेमा

नवीन नरसिंह नेपाली

लेखकबाट थप

पत्रकार नेपाली कोशी टेलिभिजनका सम्पादक, सामुदायिक रेडियो प्रसारक संघ(अकोराब)का केन्द्रीय उपाध्यक्ष तथा नेपाल पत्रकार महासंघका प्रदेश सदस्य हुन्। उहाँले खोज, राजनीति र समसामयिक विषयमा निरन्तर कलम चलाउँदै आएका छन्।


प्रतिक्रिया!!

सम्बन्धित खबर