काठमाडौं । काठमाडौंमा आगामी निर्वाचनलाई सुरक्षित र व्यवस्थित बनाउन जिल्ला प्रशासन कार्यालयले रात्रिकालीन व्यवसाय सञ्चालनमा कडाइ गरेको छ। निर्वाचन सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै फागुन १८ गतेदेखि मतदान हुने दिन २१ गतेसम्मका लागि नयाँ समयसीमा तोकिएको हो।
प्रशासनद्वारा जारी सार्वजनिक सूचना अनुसार उक्त अवधिभर राति ९ बजेपछि कुनै पनि प्रकारका व्यावसायिक गतिविधिहरू सञ्चालन गर्न पाइने छैन। अर्को आदेश जारी नभएसम्मका लागि तोकिएको समयभित्रै व्यवसाय बन्द गरी सहयोग पुर्याउन प्रशासनले सम्बन्धित सबै सरोकारवाला तथा व्यवसायीहरूलाई आग्रह गरेको छ। निर्वाचनको समयमा हुन सक्ने अनावश्यक भीडभाड र सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै यो कदम चालिएको बुझिएको छ।







