राजविराज। सरकारका प्रतिनिधि र आन्तरिक सेवा कार्यालय स्थापनाको माग गर्दै आन्दोलनरत संघर्ष समितिबीच तीन बुँदे सम्झौता भएपछि राजविराजको गजेन्द्र चौकमा जारी रिले अनसन बुधबार साँझबाट औपचारिक रूपमा अन्त्य भएको छ।

लामो समयदेखि आन्तरिक सेवा कार्यालय स्थापनाको माग गर्दै चरणबद्ध आन्दोलन गर्दै आएको संघर्ष समितिसँग सरकार पक्षबीच भएको वार्तामा सहमति जुटेपछि आन्दोलन स्थगन गरिएको हो। सम्झौतामा आन्तरिक सेवा कार्यालय स्थापना प्रक्रियालाई अघि बढाउने, सेवा प्रवाहलाई प्रभावकारी बनाउने तथा स्थानीय माग र आवश्यकतालाई सम्बोधन गर्ने विषय समावेश गरिएको जनाइएको छ।

तीन बुँदे सम्झौता पत्रमा नेपाल सरकारका तर्फबाट आन्तरिक राजस्व विभागका उप–महानिर्देशक रमेश अर्याल र सप्तरीका प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेलले हस्ताक्षर गरेका छन्। यस्तै आन्दोलनरत पक्षको तर्फबाट संघर्ष समितिका संयोजक मोहन यादव, सप्तरीका १८ वटै स्थानीय तहका प्रमुख, साथै सप्तरीका विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरूले समेत हस्ताक्षर गरेका छन्।

संघर्ष समितिका प्रतिनिधिहरूले सरकारसँग भएको सहमतिलाई सकारात्मक कदमको रूपमा लिँदै सहमति कार्यान्वयनमा सरकार गम्भीर बन्नुपर्ने बताएका छन्। उनीहरूले सहमति कार्यान्वयन नभए पुनः आन्दोलनमा उत्रिन बाध्य हुने चेतावनी पनि दिएका छन्।

यसअघि संघर्ष समितिले गजेन्द्र चौकमा रिले अनसनसहित विभिन्न शान्तिपूर्ण कार्यक्रम गर्दै आएको थियो, जसका कारण स्थानीय जनजीवन प्रभावित हुँदै आएको थियो। अनसन अन्त्य भएसँगै राजविराज क्षेत्रको जनजीवन क्रमशः सामान्य बन्दै गएको छ।

सरकार पक्षले पनि सम्झौता अनुसार प्रक्रिया अघि बढाइने र स्थानीय तहसँग समन्वय गर्दै सेवा प्रवाहलाई सहज बनाइने प्रतिबद्धता जनाएको छ।

कोशी टेलिभिजन

लेखकको बारेमा

कोशी टेलिभिजन

लेखकबाट थप


प्रतिक्रिया!!

सम्बन्धित खबर