जनकपुरधाम,३० असोज । मधेश प्रदेशमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेता जितेन्द्र सोनलको नेतृत्वमा बनेको नयाँ सरकार सुरुवातमै अस्थिरताको घेरामा परेको छ।
पाँच दलको समर्थनमा बनेको सरकारमा सहभागी दलहरूभित्र नै असमञ्जस देखिँदै गर्दा सोनल पहिलो राजनीतिक र नैतिक परीक्षामा उत्रिएका छन्।

सोनलले पाँच दलका ५६ सांसदको समर्थनमा सरकार गठन गरेका थिए। तर, जनमत पार्टीका दुई सांसदले नवगठित जनस्वराज पार्टीमा सनाखत गरेपछि समर्थन संख्या घटेको छ।
निर्वाचन आयोगले जनस्वराजलाई औपचारिक मान्यता नदिए पनि ती सांसदहरू अहिले तटस्थ अवस्थामा छन्।
जनस्वराजका अध्यक्ष दीपक कुमार साहले पनि दलभित्र छलफलपछि मात्रै सरकारलाई समर्थन गर्ने वा नगर्ने निर्णय लिइने बताए।
यसैबीच, जसपा नेपालका सांसद सरोजसिंह कुशवाहामाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेपछि उनको सांसद पद निलम्बित भएको छ। यससँगै सोनलको समर्थन संख्या ५६ बाट घटेर ५३ मा झरेको छ।
मधेश प्रदेशसभामा बहुमतका लागि आवश्यक संख्या ५४ भएकाले नयाँ सरकार संख्यात्मक संकटमा समेत परेको छ।
नेकपा माओवादी केन्द्रले भने “नैतिक संकट” देखाउँदै सरकारमा सहभागी हुन अस्वीकार गरेको छ। माओवादीका एक सांसदका अनुसार, सरकारमा अहिले सहभागी हुँदा ‘नैतिक सन्देश गलत जाने’ भन्दै पार्टीले पर्ख र हेर नीति लिएको हो।
जसपाले आफ्नो प्रदेश अधिवेशनपछि मात्रै मन्त्री पठाउने जनाएको छ भने जनमत र एकीकृत समाजवादीले विनाविभागीय मन्त्री लिएर सहभागिता जनाएका छन्।
सोनलले सरकार गठनसँगै मधेशमा राजनीतिक स्थायित्व र सहकार्यको सन्देश दिन खोजे पनि सुरुवातमै देखिएको अस्थिरता र समर्थन घट्दो क्रमले उनको नेतृत्वमा बनेको सरकारलाई बलियो आधारमा उभिन चुनौती थपेको छ। राजनीतिक समीकरण जस्तोसुकै बने पनि सोनलको पहिलो परीक्षा — संकटमा पनि स्थायित्व र विश्वास कायम राख्ने हुनेछ।






