एसपी यादव/सर्लाही, असार ५ गते । सर्लाही प्रहरीले स्रोत नखुलेको ३२ लाख नेपाली रुपैयाँ नगदसहित दुई जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा रामनगर गाउँपालिका-३ निवासी २८ वर्षीय गुड्डु कुमार यादव र रामनगर गाउँपालिका-१ निवासी २४ वर्षीय रुपेश कुमार यादव रहेका छन् ।

सर्लाही प्रहरीका प्रवक्ता एवं डिएसपी वेदप्रसाद गौतमका अनुसार, असार ४ गते साँझ करिब ४ बजेतिर मलंगवा नगरपालिका-१० स्थित झिम पुल क्षेत्रमा नियमित चेकजाँचका क्रममा भारतबाट नेपालतर्फ आउँदै गरेका दुईवटा मोटरसाइकललाई रोकी जाँच गरिएको थियो ।

जाँचका क्रममा उनीहरूबाट स्रोत खुलाउन नसकिएको ३२ लाख नेपाली रुपैयाँ नगद बरामद भएको जनाएको छ । बरामद रकमसँगै म.प्र. ०५-००१ प ११०६ नम्बरको मोटरसाइकल र बिआर ३० एपी ०८८२ नम्बरको भारतीय मोटरसाइकलका साथै ओप्पो रेनो-११ र सामसुङ एम-३६ मोबाइल फोन पनि नियन्त्रणमा लिइएको बताएको छ ।

घटनापछि सर्लाही जिल्ला अदालतबाट शुक्रबार हुण्डी मुद्दामा सात दिनको म्याद थप गरी दुवै जनामाथि थप अनुसन्धान अगाडि बढाइएको डीएसपी गौतमले जानकारी दिए ।

सीमावर्ती जिल्ला सर्लाहीमा ठूलो परिमाणमा स्रोत नखुलेको रकम बरामद भएपछि घटनालाई प्रहरीले गम्भीर आर्थिक अपराधका रूपमा हेरेको छ । खुला सीमाको दुरुपयोग गर्दै हुण्डी तथा अवैध रकम ओसारपसार गर्ने गिरोह सक्रिय रहेको आशंकाबीच प्रहरीले घटनाको गहिरो अनुसन्धान थालेको जनाएको छ । बरामद रकमको वास्तविक स्रोत, रकम नेपाल भित्र्याउनुको उद्देश्य तथा यसमा संलग्न सम्भावित नेटवर्कबारे समेत अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

कोशी टेलिभिजन

लेखकको बारेमा

कोशी टेलिभिजन

लेखकबाट थप


प्रतिक्रिया!!

सम्बन्धित खबर