नविन नरसिंह नेपाली /राजविराज,४ माघ । सप्तरीको राजनीतिमा नेकपा एमालेभित्र एउटा यस्तो पात्र छन्, जो २०५६ सालदेखि निरन्तर चुनावी मैदानमा त उत्रिन्छन्, तर परिणाम सधैं शून्य रहन्छ। उनी हुन्— सुमन प्याकुरेल। यसपटकको प्रतिनिधि सभा निर्वाचनका लागि पनि एमालेले सप्तरी–१ बाट प्याकुरेलकै नाममा मोहोर लगाएपछि जिल्लाका पुराना कार्यकर्ता र नेताहरूमा असन्तुष्टिको ज्वालामुखी विष्फोट भएको छ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीका ‘अत्यन्तै निकट’ मानिने प्याकुरेलले २०५६ सालदेखि हालसम्म लडेका कुनै पनि संसदीय चुनावमा विजयको स्वाद चाख्न पाएका छैनन्। तर, अचम्मको कुरा के छ भने, चुनाव हार्ने कीर्तिमान हुँदाहुँदै पनि पार्टीले उनैलाई पटक-पटक उम्मेदवारको रूपमा अघि सार्दै आएको छ।

हारको शृङ्खला र कार्यकर्ताको पलायन

प्याकुरेलको दम्भ र एकलौटी कार्यशैलीका कारण सप्तरीमा एमालेको जग कमजोर हुँदै गएको विश्लेषण गरिन्छ। उनकै कारण पार्टीका पुराना र इमानदार कार्यकर्ताहरू एमाले छोडेर अन्य पार्टीमा जान बाध्य भएका छन्।

एमाले परित्याग गरेका एक पूर्व नेता आक्रोश पोख्दै भन्छन्— “हामीले वर्षौंसम्म रगत पसिना बगाएर संगठन बनायौँ, तर प्याकुरेलको घमण्ड र दम्भका अगाडि टिक्न सकिएन। सधैं हार्नेलाई नै टिकट दिने हो भने संगठन किन बनाउने? उहाँकै कार्यशैलीबाट पीडित भएर हामीले बाटो फेर्नुपरेको हो।”

‘चुनाव जित्न होइन, व्यापार गर्न टिकट!’

प्याकुरेलमाथि लाग्ने गरेको सबैभन्दा संगीन आरोप भनेको ‘चुनावी चन्दा’ सँग जोडिएको छ। एमालेकै असन्तुष्ट एक जिल्ला स्तरीय नेताका अनुसार, प्याकुरेलका लागि निर्वाचन केवल एउटा राजनीतिक प्रतिस्पर्धा नभई ‘गडीखाने भाँडो’ बनेको छ।

“उहाँ चुनाव जित्नका लागि होइन, चन्दा उठाउनका लागि टिकट लिनुहुन्छ,” ती नेता दाबी गर्छन्। उनका अनुसार प्याकुरेलले टिकट हात पारिसकेपछि पार्टी निकट व्यापारी, निर्माण व्यवसायी र शुभेच्छुकहरूबाट चुनाव खर्चको नाममा ठूलो रकम असुल्ने गरेका छन्। चुनावी अभियानलाई व्यापारिक रणनीति बनाएकै कारण उनी परिणामप्रति कहिल्यै गम्भीर नदेखिने कार्यकर्ताहरूको बुझाइ छ।

केपी ओलीको ‘कृपा’ कि राजनीतिक बाध्यता?

सप्तरीमा एमालेभित्र थुप्रै योग्य र नयाँ अनुहार हुँदाहुँदै पनि प्याकुरेलले नै कसरी टिकट पाउँछन् त? यसको सीधा उत्तर हो— बालकोटको कृपा। केन्द्रमा बलियो पहुँच भएकै कारण जिल्लाको जनमत र कार्यकर्ताको भावनालाई उपेक्षा गरेर पनि उनी सुरक्षित रहँदै आएका छन्। तर, यसपटकको परिस्थिति हिजोको जस्तो सहज छैन।

 प्याकुरेलको चुनावी इतिहास:

  • २०५६ देखि हालसम्म: सबै संसदीय निर्वाचनमा प्रत्यक्षतर्फ पराजित।

  • आरोप: पार्टीभित्रका प्रतिस्पर्धीलाई पाखा लगाउने र केन्द्रमा ‘लविङ’ गर्ने।

  • असर: जिल्लाका प्रभावशाली नेताहरू अन्य दलमा प्रवेश गर्दा एमालेको संगठन रक्षात्मक अवस्थामा।

यसपटकको चुनौती

सप्तरी–१ मा एमालेले पुनः प्याकुरेललाई उठाउनु भनेको एमालेका लागि जोखिमपूर्ण हुनसक्ने विश्लेषकहरू बताउँछन्। एकातिर मधेसको फेरिएको राजनीति र अर्कोतिर आफ्नै कार्यकर्ताको असहयोगका बीच प्याकुरेलले आफ्नो ‘हारको विरासत’ तोड्न सक्छन् या फेरि पनि ‘चन्दा उठाउने’ आरोपमै सीमित हुन्छन्, त्यो भने  निर्वाचनले नै स्पष्ट पार्नेछ।

नवीन नरसिंह नेपाली

लेखकको बारेमा

नवीन नरसिंह नेपाली

लेखकबाट थप

पत्रकार नेपाली कोशी टेलिभिजनका सम्पादक, सामुदायिक रेडियो प्रसारक संघ(अकोराब)का केन्द्रीय उपाध्यक्ष तथा नेपाल पत्रकार महासंघका प्रदेश सदस्य हुन्। उहाँले खोज, राजनीति र समसामयिक विषयमा निरन्तर कलम चलाउँदै आएका छन्।


प्रतिक्रिया!!

सम्बन्धित खबर