नविन नरसिंह नेपाली / काठमाण्डौं,१७ पुस । पुसको कठ्याङ्ग्रिँदो जाडोमा विपन्न परिवारहरू न्याय र न्यानोको पर्खाइमा छटपटाइरहेका बेला बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ हेलिकप्टरमा चढेर सिरहामा ‘शाही बनभोज’ मनाउन पुगेको खबरले आम नागरिकको मनमा चिसो पसेको छ ।

यो घटनाले सत्तासीनहरूको संवेदनहीनता र सुविधाभोगी प्रवृत्तिको नाङ्गो प्रदर्शन गरेको छ ।

अहिले पुसको मध्य छ । तराईका जिल्लाहरूमा बाक्लो हुस्सु र शीतलहरले जनजीवन अस्तव्यस्त छ । दिनानुदिन चिसोका कारण वृद्धवृद्धा र बालबालिकाको ज्यान गइरहेको समाचारहरू आइरहेका छन् । गाउँघरमा दाउरा बालेर ज्यान जोगाउने प्रयास भइरहेको छ ।

गरीब तथा विपन्न परिवारका लागि एक छाक राम्रोसँग टार्न र एकसरो न्यानो कपडा जुटाउन पनि धौ-धौ छ । सरकारी अस्पतालहरूमा सामान्य सिटामोल नपाएर बिरामी छटपटाइरहेका छन् ।

यस्तो विषम परिस्थितिमा प्रदेशको नेतृत्व गरिरहेका मुख्यमन्त्री बानियाँ माउन्टेन एयरको हेलिकप्टर चढेर हेटौंडाबाट सिरहाको एक भव्य वनभोजमा सहभागी हुन पुगेका छन् । नेपाली कांग्रेस सिरहाका सभापति रामचन्द्र यादवले आयोजना गरेको यो ‘शाही वनभोज’ नयाँ वर्षको अवसरमा आयोजना गरिएको बुझिएको छ ।

‘व्यक्तिगत खर्च’ को हास्यास्पद दाबी

मुख्यमन्त्रीका स्वकीय सचिव मिलन पुडासैनीले मुख्यमन्त्री बानियाँ ‘आफ्नो व्यक्तिगत खर्चमा हेलिकप्टर चढेर सिरहा गएको’ दाबी गरेका छन् । तर, के एउटा प्रदेशको मुख्यमन्त्रीको ‘व्यक्तिगत खर्च’ यति धेरै हुन्छ कि उनी आम नागरिकले कल्पना पनि गर्न नसक्ने गरी हेलिकप्टरमा यात्रा गर्न सक्छन् ? यस्तो दाबीले सामान्य नागरिकको विवेकमाथि नै उपहास गरेको छ ।

आम जनतालाई एक छाक टार्न धौ-धौ परिरहेका बेला एउटा मुख्यमन्त्री हेलिकप्टर चढेर वनभोज खान जानु, र त्यसलाई ‘व्यक्तिगत खर्च’ भन्नुले जनताको भावनामाथि ठूलो चोट पुर्‍याएको छ ।

प्रश्नहरू जसको उत्तर छैन

के एक मुख्यमन्त्रीको व्यक्तिगत खर्चमा हेलिकप्टर चार्टर गर्न मिल्छ ? यदि मिल्छ भने त्यसको स्रोत के हो ?

प्रदेश सरकारको नेतृत्व गरिरहेको व्यक्तिले यस्तो संकटको बेला जनताको दुःखमा मलमपट्टी लगाउनुको सट्टा सुविधाभोगी जीवनशैली देखाउनु कत्तिको नैतिक हो ?

‘व्यक्तिगत खर्चमा हेलिकप्टर चढेर जाँदा पनि राज्यको सुरक्षा संयन्त्र र अन्य स्रोतसाधन प्रयोग भएको हुन्छ कि हुँदैन ?

यो घटनाले सत्तामा पुगेपछि नेताहरू कसरी जनसरोकारबाट टाढिँदै जान्छन् भन्ने ज्वलन्त उदाहरण पेस गरेको छ । पुसको जाडोमा कठ्याङ्ग्रिएका जनताले न्यानोको अपेक्षा गरिरहेका बेला मुख्यमन्त्रीको यो हेलिकप्टर यात्राले ‘नेता र जनताको नियति’ कति फरक छ भन्ने कुरालाई उजागर गरेको छ । यो घटनाले सुशासन र जनउत्तरदायित्वको नारा दिने नेताहरूको दोहोरो चरित्रलाई छर्लङ्ग पारेको छ ।

नवीन नरसिंह नेपाली

लेखकको बारेमा

नवीन नरसिंह नेपाली

लेखकबाट थप

पत्रकार नेपाली कोशी टेलिभिजनका सम्पादक, सामुदायिक रेडियो प्रसारक संघ(अकोराब)का केन्द्रीय उपाध्यक्ष तथा नेपाल पत्रकार महासंघका प्रदेश सदस्य हुन्। उहाँले खोज, राजनीति र समसामयिक विषयमा निरन्तर कलम चलाउँदै आएका छन्।


प्रतिक्रिया!!

सम्बन्धित खबर