नविन नरसिंह नेपाली/राजविराज ,१७ पुस । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि अब ६३ दिन मात्र बाँकी छ। जाडो छिप्पिँदै गए पनि सप्तरीको राजनीतिक माहोल भने तात्न थालेको छ। चोक, चौतारा र चिया पसलहरूमा अहिले चुनावी बहसले प्राथमिकता पाएको छ। बदलिँदो राजनीतिक परिदृश्यका बीच प्रमुख दलहरूले अधिकांश पुराना अनुहारलाई नै पुनः चुनावी मैदानमा उतार्ने तयारी गरेका छन्।

सप्तरीका चार निर्वाचन क्षेत्रमध्ये सबैभन्दा बढी चर्चा क्षेत्र नं. २ को छ। गत निर्वाचनमा जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवलाई दोब्बर मतान्तरले पराजित गरेपछि यो क्षेत्र राष्ट्रिय राजनीतिको केन्द्रविन्दु बनेको थियो। यसपटक पनि जनमतले राउत र जसपाले यादवलाई नै सिफारिस गरेपछि यहाँ पुनः ‘हाइप्रोफाइल’ भिडन्त हुने निश्चित देखिएको छ।

क्षेत्र नं. २: भिडन्त रोचक बन्दै

यस क्षेत्रमा जनमत पार्टीका पूर्व नेता तथा निवर्तमान मुख्यमन्त्री सतिश कुमार सिंहले पनि स्वतन्त्र वा अन्य हैसियतमा चुनाव लड्ने घोषणा गरेका छन्। सिंहको व्यक्तिगत पकड पनि यस क्षेत्रमा राम्रो मानिन्छ। नेपाली कांग्रेसबाट जिल्ला उपसभापति रामकुमार यादवको चर्चा छ भने नेपाली कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी/माओवादी धार) बाट पूर्व सिंचाई मन्त्री उमेश यादव मैदानमा उत्रिने तयारीमा छन्।

यस्तै, राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष राजेन्द्र महतोको नाम पनि यसै क्षेत्रबाट सिफारिस भएको छ। महतोले यो क्षेत्र रोजेको खण्डमा प्रतिस्पर्धा अझै बहुकोणीय हुनेछ। यदि महतो अन्य क्षेत्रमा गएमा सोही पार्टीबाट केशव झा उम्मेदवार बन्ने पक्का देखिन्छ। नेकपा एमालेले भने यस क्षेत्रमा हालसम्म कसैको नाम अगाडि सारेको छैन।

क्षेत्र नं. ३ र ४: दाबेदारहरूको लर्को

निर्वाचन क्षेत्र नं. ३ मा जनमत पार्टीले डा. सीके राउतसहित सुरेन्द्र शर्मा र डा. जयकान्त राउतको नाम सिफारिस गरेको छ। मधेशवादी दलहरूबीच भइरहेको मोर्चाबन्दीका कारण यहाँ चुनावी तालमेलको सम्भावना पनि उत्तिकै छ। जसपाबाट पूर्वमन्त्री शैलेन्द्र प्रसाद साह, नेकपा एमालेबाट ताराकान्त चौधरी र नेपाली कांग्रेसबाट निवर्तमान सांसद दिनेश यादवको चर्चा छ। र नेपाली कम्युनिष्ट पार्टीबाट अरुण कुमार शाह (अनिल) को नाम युवावर्गमा चर्चामा छ। राष्ट्रिय मुक्ति पार्टीबाट गजेन्द्र कुमार मण्डल र अनिश अंसारी लगायतको नाम चर्चामा छ।

क्षेत्र नं. ४ मा नेपाली कांग्रेसका निवर्तमान सांसद तेजुलाल चौधरी बलियो दाबेदार मानिएका छन्। जनमत पार्टीले यहाँ पनि डा. सीके राउतको नाम सिफारिस गरेको छ। यद्यपि, जसपाका नेता शैलेन्द्र प्रसाद साहलाई यस क्षेत्रबाट लड्न स्थानीय कार्यकर्ताले दबाब दिइरहेका छन्।यसबारे साह भन्छन्, “नेता र कार्यकर्ताको चाहना हुनु स्वाभाविक हो, तर पार्टीको आधिकारिक निर्णय र चुनावी समीकरण अनुसार नै म अगाडि बढ्नेछु।”

क्षेत्र नं. १: युवा नेताहरूको दाबेदारी

सप्तरीको क्षेत्र नं. १ मा नेपाली कांग्रेसका युवा नेता एवं संविधानसभा सदस्य रञ्जित कर्णको चर्चा सबैभन्दा बढी छ। उनलाई चुनाव लड्न स्थानीय युवा र कार्यकर्ताले उत्साह थपिरहेका छन्। नेकपा एमालेबाट दिवाकर देवकोटाको नाम चर्चामा आए पनि आधिकारिक निर्णय हुन बाँकी छ। जनमतले यहाँ पनि डा. राउत दाजुभाइको नाम अगाडि सारेको छ भने नेपाली कम्युनिष्ट पार्टीबाट अशोक मण्डल वा सूर्यनाथ यादवमध्ये एक जना उम्मेदवार बन्ने आकलन गरिएको छ।

नयाँ शक्ति र मतदाताको अवस्था

भदौ २३ र २४ को ‘जेनजी’ (Gen Z) आन्दोलनपछि दलहरूबीच एकता र गठबन्धनको प्रयास भइरहेकाले धेरै क्षेत्रमा उम्मेदवारको अन्तिम टुंगो लाग्न ढिलाइ भएको देखिन्छ। अचम्मको कुरा के छ भने, राष्ट्रिय स्तरमा चर्चामा रहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रभाव सप्तरीमा न्यून देखिएको छ।

मतदाता तथ्याङ्क: जिल्ला निर्वाचन कार्यालयका अनुसार सप्तरीमा कुल ४ लाख ४६ हजार ४ सय २ मतदाता रहेका छन्।

  • महिला: २,१३,२८३

  • पुरुष: २,३३,०९६

  • अन्य: २३

प्रतिनिधिसभा निर्वाचन क्षेत्र अनुसार मतदाताको संख्याः

  • क्षेत्र नं.१ मा १ लाख १९ हजार ४३

  • क्षेत्र नं.२ मा १ लाख ५ हजार ९ सय २२

  • क्षेत्र नं.३ मा १ लाख ११ हजार ८ सय ७१

  • क्षेत्र नं.४मा १ लाख ९ हजार ५ सय ६६ मतदाता रहेको छ ।

पुराना हस्तीहरू र नयाँ उदय भएका शक्तिहरूबीचको यो लडाइँले सप्तरीको चुनावी परिणाम कस्तो ल्याउला भन्ने कौतुहलता अहिले आम सर्वसाधारणमा छाएको छ।

नवीन नरसिंह नेपाली

लेखकको बारेमा

नवीन नरसिंह नेपाली

लेखकबाट थप

पत्रकार नेपाली कोशी टेलिभिजनका सम्पादक, सामुदायिक रेडियो प्रसारक संघ(अकोराब)का केन्द्रीय उपाध्यक्ष तथा नेपाल पत्रकार महासंघका प्रदेश सदस्य हुन्। उहाँले खोज, राजनीति र समसामयिक विषयमा निरन्तर कलम चलाउँदै आएका छन्।


प्रतिक्रिया!!

सम्बन्धित खबर