राजविराज,१२ पुस । पुसको दोस्रो सातादेखि तराई–मधेशका जिल्लामा शीतलहर क्रमिक रूपमा तीव्र बन्दै गएको छ। बिहान र बेलुका बाक्लो हुस्सु लाग्ने, चिसो हावा चल्ने र तापक्रम एकाएक घट्ने अवस्थाले जनजीवन कष्टकर बन्दै गएको छ। शीतलहरले सामान्य जनजीवन मात्र होइन, सवारी साधनको आवतजावतसमेत प्रभावित बनाएको छ।
विशेषगरी बिहान–बेलुकाको अत्यधिक चिसो हावा र कम तापक्रमका कारण बालबालिका, वृद्धवृद्धा, सुत्केरी महिला तथा साना बच्चालाई दूध खुवाइरहेका आमाहरू उच्च जोखिममा रहेको बालरोग विशेषज्ञ डा. लोकराज शाह बताउँछन्। “यस किसिमको चिसोले निमोनिया, श्वासप्रश्वाससम्बन्धी संक्रमण, ज्वरो र अन्य जटिल स्वास्थ्य समस्या निम्त्याउन सक्छ,” उनले भने, “यी समूहलाई विशेष सतर्कता र संरक्षण आवश्यक छ।”

शीतलहरको असर शहरभन्दा बढी ग्रामीण भेगमा देखिएको छ। खासगरी दलित बस्ती र न्यून आय भएका दैनिक ज्यालादारी गरेर जीविकोपार्जन गर्ने परिवारहरू अत्यन्तै प्रभावित छन्। पर्याप्त न्यानो कपडा, ओढ्ने–ओछ्याउनेको अभावमा उनीहरू कठोर चिसोसँग जुध्न बाध्य छन्। दैनिक मजदुरीमा निर्भर उनीहरू चिसोकै कारण काममा निस्कन नसक्दा झन् ठूलो संकटमा परेका छन्।
सप्तरी जिल्लाको रुपनी गाउँपालिकाका वडा नं. १, २ र ६ मा रहेका दलित तथा न्यून आय भएका बस्तीहरूमा हालसम्म राज्यका कुनै पनि निकायबाट सहयोग नपुगेको स्थानीयको गुनासो छ। रुपनी गाउँपालिका वडा नं. २ स्थित मुसहर बस्तीका अगुवा गेना लाल सदाका अनुसार, “अहिलेसम्म न त राज्यले हेरेको छ, न त स्थानीय सरकारले, न त सामाजिक संघ–संस्थाले नै कुनै राहत दिएको छ। हामी जाडोमा काँप्दै रात बिताउन बाध्य छौँ।”
स्थानीय तह, प्रदेश सरकार तथा सरोकारवाला निकायले समयमै राहत वितरण, न्यानो कपडा, कम्बल र स्वास्थ्य सचेतना कार्यक्रम सञ्चालन नगरे शीतलहरले थप मानवीय संकट निम्त्याउने जोखिम बढ्दो छ। कमजोर र सीमान्तकृत समुदायलाई प्राथमिकतामा राख्दै तत्काल सहयोग पुग्नु अहिलेको सबैभन्दा ठूलो आवश्यकता बनेको छ।






