रौतहट, कटहरिया — रौतहटको कटहरिया नगरपालिका–९ मा रहेको ज्योति डिस्टिलरीमा आज बिहान ब्वाइलर विस्फोट हुँदा एक कामदारको मृत्यु भएको छ भने छ जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विष्णु बस्यालका अनुसार विस्फोटमा सोही नगरपालिका–९ बलुवाका ४५ वर्षीय लक्ष्मण यादवको घटनास्थलमै मृत्यु भएको हो। विस्फोटका कारण डिस्टिलरीमा कार्यरत अन्य छ जना कामदार घाइते भएका छन्।

प्रहरीका अनुसार घाइते सबैका हातखुट्टा जलेका छन्। उनीहरूलाई थप उपचारका लागि वीरगन्ज पठाइएको छ। घाइतेहरूको अवस्था मध्यम रहेको जनाइएको छ।
विस्फोटको कारण अहिलेसम्म खुल्न सकेको छैन। घटनाबारे विस्तृत अनुसन्धान सुरु गरिएको र आवश्यक प्राविधिक परीक्षणपछि कारण सार्वजनिक गरिने प्रहरीले जनाएको छ।






