राजविराज, १२ पुस – सप्तरीको राजगढ गाउँपालिका–२ स्थित प्रस्तावित बनैनियाँ माध्यमिक विद्यालयमा रेट्रो फिटिङ शिर्षकको १५ लाख रुपैयाँको बजेट विवादले हलचल मच्चाएको छ। अवकाश प्राप्त प्रधानाध्यापक सुभाष चन्द्र दासले भूकम्पीय विपद (रेट्रो फिटिङ) शिर्षकको बजेट व्यवस्थापन समितिको अनुमतिबिना खर्च गरेको आरोप विद्यालयमा उब्जिएको हो।
विद्यालयका वर्तमान प्रधानाध्यापक प्रयागलाल यादवले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सत्यदेव यादवबाट अनावश्यक दबाब र अपमान भोगेको भन्दै पदबाट राजीनामा दिएका छन्। यादवले भनेका छन्, “प्रधानाध्यापक पद त्याग्छु, तर गलत काम गर्दिन।” श्रोतका अनुसार, काम सम्पन्न नभएको बजेटलाई सम्पन्न भएको भनी निर्णय गर्न अध्यक्ष यादवले दबाब दिइरहेको थिए।

विद्यालय व्यवस्थापन समितिले प्रअ यादवको राजीनामा स्वीकृत गर्दै सबैभन्दा जुनियर शिक्षक असर्फी यादवलाई प्रधानाध्यापक नियुक्त गर्ने निर्णय गाउँपालिकामा निवेदन पठाएको छ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सत्यदेव यादवले भने, “प्रधानाध्यापक यादवले व्यक्तिगत घरको कारणले पदबाट राजीनामा दिनुभयो। मैले राजीनामा फिर्ता गर्न बारम्बार अनुरोध गरेँ, तर उहाँले स्वीकार गर्नुभएन। कुनै प्रकारको अपमान वा दबाब दिएको छैन।” अध्यक्ष यादवले थपे कि अवकाश प्राप्त प्रधानाध्यापक दासले उक्त रकमबाट निजी स्रोतका शिक्षकलाई १० लाख ७० हजार रुपैयाँ तलव भुक्तानी गरेको बैक स्टेटमेन्डबाट खुलेको छ।
प्रधानाध्यापक यादवले भने, फोनमा टिप्पणी गर्न चाहन्नन् र भेटेर मात्र सत्य तथ्य सार्वजनिक गर्ने बताए। पूर्व प्रधानाध्यापक दासले भने, “विद्यालय व्यवस्थापन समितिको निर्णय अनुसार सबैको सहमतिमा निजी शिक्षकलाई तलब भुक्तानी गरिएको हो। मैले कुनै अनियमितता गरेको छैन र विद्यालयको पैसा व्यक्तिगत खर्चमा प्रयोग भएको छैन। रेट्रो फिटिङ शिर्षकको बाँकी रकम विद्यालयको खातामा नै रहेको छ।”
दासले विद्यालयमा व्याप्त राजनीतिकरणका कारण समस्या सिर्जना भएको बताउँदै भने, “विद्यालयमा समस्या व्यवस्थापन समितिको दुरुपयोग र राजनीतिक हस्तक्षेपका कारण आएको हो।”








