राजविराज,१२ पुस। तराई–मधेसको ‘लाइफ लाइन’ मानिने हुलाकी राजमार्गअन्तर्गत सिराहा र धनुषा जिल्लाको सिमानामा पर्ने कमला नदीमा निर्माणाधीन बहुचर्चित कमला पुल अन्ततः पूरा हुने आशा पलाएको छ। ठेक्का सम्झौता भएको १४ वर्ष बितिसक्दा पनि अधुरो रहेको यो पुल अब आगामी चैतभित्रै सञ्चालनमा ल्याउने लक्ष्यसहित बाँकी काम तीव्र गतिमा अघि बढाइएको छ।

कमला नदीमा पुल नहुँदा वर्षौंदेखि स्थानीय बासिन्दा, यात्रु र व्यवसायीले असह्य सास्ती खेप्दै आएका छन्। दैनिक उपभोग्य वस्तु ओसारपसारदेखि बिरामी बोकेर अस्पताल पुग्नेसम्मका सामान्य यात्रासमेत जोखिमपूर्ण बन्नु यहाँको यथार्थ हो। बर्खायाममा नदीमा पानी बढेपछि त आवतजावत झन् कठिन हुँदै आएको छ।

मन्त्रीको अनुगमनपछि कामले गति

ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले गत ५ मंसिरमा स्थलगत अनुगमन गरेपछि पुल निर्माणले नयाँ गति लिएको छ। मन्त्री घिसिङले निर्माण कार्यमा ढिलाइ भए ठेक्का तोड्ने चेतावनी दिँदै जतिसक्दो छिटो काम सम्पन्न गर्न निर्देशन दिएका थिए।

उनले वैकल्पिक व्यवस्थाका रूपमा हाल नदी रहेको स्थानमा ह्युम पाइप राखी अस्थायी आवतजावतको व्यवस्था गर्नसमेत निर्देशन दिएका थिए। सोहीअनुसार ठेक्का व्यवस्थापन भई पाइप राख्ने काम पनि अघि बढिरहेको छ, जसले स्थानीयलाई केही हदसम्म राहत दिएको छ।

बाढीले पुर्‍याएको क्षति र पुनर्निर्माण

१७ असार २०७८ मा कमला नदीमा आएको बाढीले पुलका दुईवटा जग भासिनुका साथै चारवटा स्लावमा क्षति पुगेको थियो। प्राविधिक अध्ययनअनुसार सिराहा ९पूर्व०तर्फका दुई स्लाव हटाइएका छन् भने धनुषा ९पश्चिम०तर्फका दुई स्लाव हटाउन नपर्ने निष्कर्ष निकालिएको छ।

भासिएको जगलाई थप मजबुत बनाएर अब स्लाव लिफ्टिङको काम सुरु हुने तयारी गरिएको छ। यसका लागि विज्ञ प्राविधिकहरूले स्थल भ्रमण, निरीक्षण र अध्ययन गरी कार्ययोजना तयार गरिरहेका छन्।

प्राविधिक प्रगति कहाँसम्म ?

हाल पुलको पूर्वतर्फ ९सिराहा० को सब–स्ट्रक्चरको काम सम्पन्न भइसकेको छ। सिराहातर्फ हटाइएका दुई स्लाव र भासिएको एउटा जगको स्थानमा दुईवटा नयाँ जग राखी सब–स्ट्रक्चर तयार गरिएको छ। अब प्लेट गडर जडान गर्न बाँकी छ।

पुलमा जडान गरिने प्लेट गडर हाल चितवनमा निर्माण भइरहेको छ। गडर तयार भएपछि कमलामा ल्याई जडान गरिने निर्माण व्यवसायीले जनाएको छ।

पहुँच सडक र नदी नियन्त्रण अझै चुनौती

ठेक्काअन्तर्गत पर्ने नदी नियन्त्रण र पहुँच सडक निर्माण भने अझै सुरु हुन सकेको छैन। गत असोजमा आएको बाढीपछि कमला नदीको धार परिवर्तन भएकाले डिजाइन परिमार्जनबारे छलफल भइरहेको जनाइएको छ। डिजाइन टुंगो लागेपछि मात्रै उक्त काम सुरु हुनेछ।

ठेक्का, लागत र बारम्बार म्याद थप

कमला पुल निर्माणका लागि २०६८ साल जेठमा २४ करोड ९१ लाख रुपैयाँ ९भ्याटसहित० मा पप्पु लुम्बिनी जेभी सँग ठेक्का सम्झौता भएको थियो। प्रारम्भिक सम्झौताअनुसार पुल २०७१ मंसिरभित्रै सम्पन्न हुनुपर्ने थियो।

तर निर्माण सम्पन्न हुन नसक्दा हालसम्म सातपटक म्याद थप भइसकेको छ। अन्तिम थपिएको म्याद पनि गत असारमा सकिएको थियो। अहिले निर्माण व्यवसायीले आगामी असारसम्म म्याद थप का लागि प्रस्ताव पेस गरेका छन्, जुन प्रक्रियामा रहेको छ।

हालसम्म पुल निर्माणमा २० करोड ४३ लाख रुपैयाँ ९भ्याटसहित० भुक्तानी भइसकेको छ। बाँकी काम हाल लुम्बिनी पक्षले गरिरहेको छ।

पुलसँग जोडिएको जनजीवन

कमला पुल केवल कंक्रिट र फलामको संरचना मात्र होइन, यो सिराहा–धनुषा मात्र नभई सम्पूर्ण तराई–मधेसको आर्थिक, सामाजिक र मानवीय जीवनसँग जोडिएको सेतु हो। पुल सञ्चालनमा आएपछि दूरी घट्नेछ, जोखिम कम हुनेछ र स्थानीयको दैनिकी सहज बन्नेछ।

१४ वर्षको प्रतीक्षा पछि अब कमला नदीमाथि स्थायी पुल निर्माण पूरा हुने संकेत देखिँदा स्थानीयवासीमा आशा र विश्वास दुवै पलाएको छ। अब यो आशा समयमै साकार हुन्छ कि फेरि लम्बिन्छ—त्यसको उत्तर आगामी केही महिनाले दिनेछ।

नवीन नरसिंह नेपाली

लेखकको बारेमा

नवीन नरसिंह नेपाली

लेखकबाट थप

पत्रकार नेपाली कोशी टेलिभिजनका सम्पादक, सामुदायिक रेडियो प्रसारक संघ(अकोराब)का केन्द्रीय उपाध्यक्ष तथा नेपाल पत्रकार महासंघका प्रदेश सदस्य हुन्। उहाँले खोज, राजनीति र समसामयिक विषयमा निरन्तर कलम चलाउँदै आएका छन्।


प्रतिक्रिया!!

सम्बन्धित खबर