एसपी यादव/सर्लाही, कात्तिक १५ गते । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले पार्टी एकतालाई थप सुदृढ बनाउँदै संगठन विस्तार तथा नेता-कार्यकर्ताको राजनीतिक र वैचारिक क्षमता अभिवृद्धि गर्ने उद्देश्यसहित सर्लाहीमा जिल्ला एकता बैठक तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।

नेपाली कम्युनिस्ट पार्टी सर्लाही जिल्ला समितिको आयोजनामा आइतबार सदरमुकाम मलंगवामा आयोजित कार्यक्रमको उद्घाटन पार्टीका केन्द्रीय संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पानसमा बत्ती बालेर गरेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले मुलुकको असाधारण राजनीतिक परिस्थितिका कारण राष्ट्रिय जागरण अभियान सुरु गर्नुपरेको बताए । उनले राष्ट्रिय जागरण अभियानका तीनवटा मुख्य उद्देश्य रहेको उल्लेख गरे । पहिलो राष्ट्र र राष्ट्रिय स्वाधीनताको रक्षाका लागि आन्दोलनको तयारी गर्नु, दोस्रो पार्टीलाई वैचारिक रूपमा सुदृढ बनाउनु र तेस्रो महाधिवेशनको तयारीलाई तीव्रता दिनु अभियानको प्रमुख लक्ष्य रहेको उनले स्पष्ट पारे ।

त्यसैगरी पार्टीका केन्द्रीय सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले विश्वभर वामपन्थी शक्ति बलियो हुँदै गएको दाबी गरे । उनले ब्राजिलमा वामपन्थी नेता लुइज इनासियो लुला दा सिल्भा राष्ट्रपतिमा निर्वाचित भएको उदाहरण प्रस्तुत गर्दै अन्तर्राष्ट्रिय वामपन्थी आन्दोलनको अवस्थाबारे चर्चा गरे ।
नेपालले नेकपा जनताको न्याय, जातीय विभेदको अन्त्य तथा नागरिकको अधिकार र सम्मान सुनिश्चित गर्दै देशको भविष्य निर्माणका लागि क्रियाशील रहेको बताए । जनताका आधारभूत सवाल र सामाजिक न्यायका मुद्दालाई पार्टीले प्राथमिकतामा राखेको उनको भनाइ थियो ।

यसैगरी सम्बोधनका क्रममा पार्टीका मधेस प्रदेश इन्चार्ज एवं पूर्वसंघीय मन्त्री महिन्द्र राय यादवले मधेसवादी दलहरू जातिवाद र परिवारवादमा केन्द्रित रहेको बताउँदै अब मधेसका मुद्दालाई नेकपाले प्राथमिकताका साथ अगाडि बढाउने बताए ।
यादवले मधेससहित समग्र देशको राजनीतिक तथा सामाजिक परिवर्तनका लागि आन्दोलनको तयारी गर्नुपर्नेमा जोड दिए । देश र जनताको समृद्धि तथा अधिकार सुनिश्चित गर्न पार्टीले अग्रणी भूमिका निर्वाह गर्ने उनको भनाइ थियो । साथै उनले आगामी स्थानीय तह निर्वाचनको तयारीमा जुट्न नेता तथा कार्यकर्तालाई निर्देशन दिए ।

पार्टीको संगठनात्मक एकता, आन्तरिक समन्वय, राजनीतिक कार्यदिशा तथा आगामी कार्ययोजनालाई प्रभावकारी बनाउने विषयमा केन्द्रित कार्यक्रममा प्रचण्ड प्रमुख अतिथि तथा माधवकुमार नेपाल विशिष्ट अतिथिका रूपमा सहभागी भएका थिए ।
कार्यक्रममा पार्टीका मधेस प्रदेश इन्चार्ज एवं पूर्वसंघीय मन्त्री महिन्द्र राय यादव तथा केन्द्रीय संयोजन समिति सदस्य एवं पूर्वसंघीय मन्त्री मातृका यादवसहितका नेताहरू अतिथिका रूपमा उपस्थित थिए ।
कार्यक्रमको अध्यक्षता नेपाली कम्युनिस्ट पार्टी सर्लाही जिल्ला समितिका संयोजक रामेश्वर राय यादवले गरेका थिए । कार्यक्रममा पार्टीका सर्लाही जिल्ला समिति सहसंयोजक अख्तर मिकरानीले स्वागत मन्तव्य राखेका थिए भने सर्लाही जिल्ला समिति सहसंयोजक शिवनाथ चौधरीले कार्यक्रम सञ्चालन गरेका थिए ।
कार्यक्रममा पार्टीका केन्द्रीय तथा प्रदेशस्तरका नेताहरू, जिल्ला समितिका पदाधिकारी तथा स्थानीय तहका नेता-कार्यकर्ताहरूको उल्लेख्य सहभागिता रहेको थियो ।
एकता बैठक तथा प्रशिक्षणमार्फत पार्टीको संगठनात्मक एकता, वैचारिक स्पष्टता, राजनीतिक कार्यदिशा र आगामी योजनाबारे छलफल गरिएको आयोजकले जनाएको छ । कम्युनिस्टलाई थप एकताबद्ध र संगठित बनाउँदै जनताका सवालमा प्रभावकारी भूमिका निर्वाह गर्ने उद्देश्यसहित आयोजित कार्यक्रमलाई सर्लाहीमा पार्टीको संगठनात्मक गतिविधि विस्तार तथा सुदृढीकरणको प्रयासका रूपमा हेरिएको छ ।






