काठमाडौँ। काठमाडौँको चम्पादेवी डाँडामा हाइकिङ गर्ने क्रममा अचानक बिरामी परेका नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवको मुटुको सफल शल्यक्रिया गरिएको छ।

राजदूत श्रीवास्तवको धापासीस्थित ग्रान्डी इन्टरनेसनल अस्पतालमा उपचार भइरहेको छ। अस्पतालका अनुसार उनको इन्टेन्सिभ केयर युनिट (आईसीयू) मा उपचार भइरहेको छ र शल्यक्रियापछि स्वास्थ्य अवस्था स्थिर रहेको छ।

अस्पताल स्रोतका अनुसार राजदूत श्रीवास्तवलाई मुटुको देब्रे नशामा हृदयाघात भएको थियो। मुटुमा स्टेन्ट राखी ब्लकेज हटाइएको र शल्यक्रिया सफल भएको अस्पतालले जनाएको छ।

भारतीय दूतावास स्रोतका अनुसार हाइकिङका क्रममा राजदूत श्रीवास्तव एक्कासी अचेत भएर ढलेका थिए। अवस्था गम्भीर भएपछि उनलाई नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरी तत्काल ग्रान्डी इन्टरनेसनल अस्पताल लगिएको थियो।

घटनाको जानकारी पाएपछि महानगरीय प्रहरी वृत्त कीर्तिपुरबाट प्रहरी निरीक्षकको नेतृत्वमा करिब दुई दर्जन सुरक्षाकर्मी भस्मेसुर डाँडातर्फ खटिएका थिए। प्रहरीका अनुसार भिरालो भूभाग र जंगलका कारण घटनास्थल पहिचान गर्न केही समय लागेको थियो। ‘हामी पुग्दा उहाँ बेहोस अवस्थामा हुनुहुन्थ्यो,’ टोलीमा सहभागी एक सुरक्षाकर्मीले बताए।

बेहोस अवस्थामा अस्पताल पुर्‍याइएका राजदूतलाई हृदयाघात पुष्टि भएपछि तत्काल शल्यक्रिया गरिएको थियो। सर्जरीपछि उनको स्वास्थ्य अवस्था नियन्त्रणमा रहेको अस्पतालले जनाएको छ।

हाइकिङका क्रममा राजदूत श्रीवास्तवसँग भारतीय दूतावासका दुई जना अधिकारी पनि साथमा रहेका थिए।

कोशी टेलिभिजन

लेखकको बारेमा

कोशी टेलिभिजन

लेखकबाट थप


प्रतिक्रिया!!

सम्बन्धित खबर