काठमाडौँ— पूर्वी तराईका गाउँ–गाउँमा रात पर्नासाथ गीत, बाजा र बाँसको मठ गुञ्जिन थालेको छ। दिदी–भाइको प्रेम, स्नेह र आत्मीयताको प्रतीक पर्व समाचकेवा सुरु भएको छ। थारू समुदायको मौलिक सांस्कृतिक परिचय मानिने यो पर्व भाइटीकाको भोलिपल्टदेखि कात्तिक पूर्णिमासम्म मनाइन्छ।

यो पर्वमा दिदी–बहिनीहरूले साँझपख गाउँका चौकमा भेला भएर बाँसका सन्ठी (मन्दिर) बनाएर पूजा गर्छन्, गीत गाउँछन् र लोककथा मार्फत प्रेम, पीडा र आत्मगौरवको कथा सुनाउँछन्।

रुपनी गाउँपालिका–१, सप्तरीका थारू संस्कृतिविद् भुलाई चौधरी भन्छन्,-
“समाचकेवा थारू सभ्यता र इतिहासको जीवित दस्तावेज हो। यो केवल दिदी–भाइबीचको स्नेहको कथा होइन, थारू समाजको सामाजिक संरचना, पीडा र आत्म–गौरवको प्रतीक हो।”

उनका अनुसार समाचकेवा पर्व करिब दुई हजार वर्षअघिको गरभा राजा र राजकुमारी समाको वास्तविक कथा हो। राजाले चुगला (कुरौटे)को झूटो कुरा सुनेर छोरीलाई वनबास दिएपछि भाइहरूले उनलाई लिन जंगल पुगे, तर त्यतिबेलासम्म समा चरामा रूपान्तरण भइसकेकी थिइन्। यो वियोगान्त कथा अहिले पनि गीत र प्रतीकात्मक मन्दिरमार्फत थारू समाजले जिउँदो राखेको छ।

भुलाई चौधरी थप्छन्, “समाचकेवामा पात्रहरू — समा, चुगला, बिरदाबोनी, मौहौतिया, मालिन, कुकुर, तितिर, नटुवा, जोकर र भमरा — सबै थारू समाजको जीवनशैलीका प्रतिबिम्ब हुन्। यो केवल कथा होइन, एउटा सामाजिक नाटक हो, जसले थारू सभ्यताको आत्मा बोकेको छ।”

सिरहा, हाल काठमाडौँ लोकन्थलीमा बसोबास गर्दै आएका थारू अगुवा सियाराम चौधरी भन्छन्,-
“समाचकेवा केवल चाड होइन, यो हाम्रो पहिचानको स्मृति हो। बसाइसराइ र आधुनिकताले धेरै कुरा परिवर्तन गरे पनि यो पर्वले हामीलाई हाम्रो जरा सम्झाइरहन्छ।”

उनका अनुसार यो पर्वले समुदायमा एकता, सहिष्णुता र सामाजिक सन्तुलनको सन्देश दिन्छ।
“थारूका दिदी–बहिनीहरू साँझमा गाउँको चौकमा भेला भएर समा–चकेवा खेल्छन्। गीतका माध्यमबाट उनीहरूले प्रेम, असत्यविरुद्धको सन्देश र सामाजिक न्यायको आवाज उठाउँछन्,” उनी भन्छन्।

सिरहाको लहानस्थित रेडियो मिताका प्रबन्ध निर्देशक जिवछ चौधरी पछिल्ला वर्षहरूमा थारू भाषा र संस्कृतिको जगेर्नामा सक्रिय छन्।
“आजको पुस्ता मोबाइल र सामाजिक सञ्जालमा रमाउन थालेको छ,” उनी भन्छन्, “त्यसैले हामीले रेडियोबाट आफ्ना गीत, कथा र परम्परालाई पुनर्जीवित गरिरहेका छौं।

धरानमा सरकारी जागिर गर्दै आएकी सप्तरीकी कल्पना चौधरी भन्छिन्, “समाचकेवा हाम्रो आत्माको पर्व हो। हामी हरेक साँझ बाँसको सन्ठी बनाएर पूजा गर्छौं, गीत गाउँछौं र अन्तिम दिन समालाई पोखरीमा बिदाइ गर्छौं। त्यो क्षण अत्यन्त भावनात्मक हुन्छ।”

त्यस्तै, सखुवानंङ्कालाकी सपना चौधरीका अनुसार, “यो महिलाको अभिव्यक्तिको पर्व पनि हो। यसमा दुःख, प्रेम, संघर्ष र सन्देश सबै मिसिएका छन्। हामी गीतमार्फत असत्य र अन्यायको विरोध गर्छौं, सत्यको पक्षमा आवाज उठाउँछौं।”

समाचकेवाको ऐतिहासिक जरा

भुलाई चौधरीले बताउँछन्, “करिब दुई हजार वर्षअघि गरभ देशमा गरभा नामका राजा थिए। उनले चुगला कुरौटेको झूटो कुरा सुनेर छोरी समालाई वनबास दिए। सात भाइहरूले बहिनीलाई फकाउन खोजे तर उनी चरामा रूपान्तरण भइसकेकी थिइन्। त्यस वियोगले ‘समा–चकेवा’को जन्म दियो।”

थारू लोकगीतमा आज पनि त्यो पीडा यसरी गुञ्जिन्छ—
‘केहेन गौरव हे गरभा राजा, चुगलाके चुगलीमे, पैरके बेटीके देलह वनबास…’

संस्कृतिको निरन्तरता र साझा सम्पदा

पुस्तान्तरणका क्रममा समाचकेवा अहिले अन्य समुदायले पनि मनाउन थालेका छन्। भुलाई चौधरी भन्छन्,
“थारू सभ्यता अब साझा सांस्कृतिक सम्पदा बन्दैछ। यही नै हाम्रो समृद्धिको मूल सूत्र हो।”

थारू समाजमा यो पर्व केवल श्रद्धा होइन, चेतनाको प्रतीक बनेको छ— जसले सन्देश दिन्छ, “प्रेम, सत्य र आत्मगौरव कहिल्यै मर्दैन।”

नवीन नरसिंह नेपाली

लेखकको बारेमा

नवीन नरसिंह नेपाली

लेखकबाट थप

पत्रकार नेपाली कोशी टेलिभिजनका सम्पादक, सामुदायिक रेडियो प्रसारक संघ(अकोराब)का केन्द्रीय उपाध्यक्ष तथा नेपाल पत्रकार महासंघका प्रदेश सदस्य हुन्। उहाँले खोज, राजनीति र समसामयिक विषयमा निरन्तर कलम चलाउँदै आएका छन्।


प्रतिक्रिया!!

सम्बन्धित खबर