एसपी यादव/सर्लाही, जेठ २१ गते । जिल्लाको बलरा नगरपालिकामा ट्याक्टरको ठक्करबाट एक ५ वर्षीया बालिकाको घटनास्थलमै मृत्यु भएको छ ।
सर्लाही प्रहरीका प्रवक्ता एवं डिएसपी वेद प्रसाद गौतमका अनुसार, बिहीबार दिउँसो करिब १२ बजे बलरा नगरपालिका-६ मिर्जापुरस्थित भित्री सडक खण्डमा सिमेन्ट र छड लोड गरी गडहियाबाट मिर्जापुरतर्फ आउँदै गरेको ना.४ त. ८८३४ नम्बरको ट्याक्टरले विद्यालयबाट घर फर्किंदै गरेकी स्थानीय अर्जुन साहकी ५ वर्षीया छोरी अंकिता कुमारी साहलाई ठक्कर दिएको थियो । ठक्करबाट गम्भीर घाइते भएकी बालिकाको घटनास्थलमै मृत्यु भएको उनले जनाएको छ ।

अंकिता आधारभूत विद्यालय मिर्जापुरबाट पढाइ सकेर घर फर्किने क्रममा दुर्घटनामा परेकी थिइन् ।
प्रहरीले दुर्घटनामा संलग्न ट्याक्टरलाई नियन्त्रणमा लिएको जनाएको छ । ट्याक्टर चालक बलरा नगरपालिका-६ कै तेजा साहका १८ वर्षीय छोरा कृष्णकुमार साह भने घटनापछि फरार रहेका छन् । फरार चालकको खोजी तथा घटनाबारे थप अनुसन्धान भइरहेको डिएसपी गौतामले बताएको छ ।
दुर्घटनापछि स्थानीयवासी शोकाकुल बनेका छन् भने बालबालिकाको सुरक्षालाई ध्यानमा राख्दै विद्यालय आसपासका सडकमा सवारीसाधनको गति नियन्त्रण गर्न स्थानीयले माग गरेका छन् ।






