जनकपुरधाम, २९ असोज । मधेश प्रदेशमा नयाँ सत्ता गठबन्धनको गठनसँगै मन्त्रालय बाँडफाँटको खाका पनि तयार पारिएको छ। लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), जनता समाजवादी पार्टी (जसपा), जनमत पार्टी, माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) मिलेर बनेको पाँचदलीय गठबन्धनले बहुमतसहित सरकार निर्माणको तयारी गरिरहेको छ।
विश्वसनीय स्रोतका अनुसार, गठबन्धनभित्र मन्त्रालय बाँडफाँटको प्रारम्भिक सहमति भइसकेको छ। जसअनुसार जसपाले अर्थ मन्त्रालयसहित ४ मन्त्रालय पाउने भएको छ भने जनमत पार्टीले भौतिक पूर्वाधार तथा विकास मन्त्रालयसहित ४ मन्त्रालय सम्हाल्नेछ।

त्यस्तै, लोसपा, माओवादी केन्द्र र नेकपा (एस) लाई प्रत्येकलाई २–२ मन्त्रालय दिने सहमति जुटाइएको बताइएको छ। गठबन्धनमा सहभागिता जनाइरहेका दलहरूबीच मन्त्रालयको संख्या र विभागका विषयमा अन्तिम टुंगो लाग्न बाँकी भए पनि मुख्यमन्त्रीमा जितेन्द्र सोनलको नाम प्रस्ट भइसकेको छ।
गठबन्धन विस्तारका लागि राप्रपा, संघीय समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीसँग पनि छलफल चलिरहेको स्रोतले जनाएको छ। ती दललाई सरकारमा सहभागी गराउने गरी मन्त्रालय बाँडफाँटका थप समीकरण बनाइँदैछ।
५४ सांसदको समर्थन दाबी गर्दै सरकार गठनको तयारी गरिरहेको गठबन्धनले प्रदेशमा लामो समयदेखि चलेको सत्ता समीकरणमा ठूलो फेरबदल ल्याउने संकेत देखिएको छ।






