जनकपुरधाम,२९ आश्विन ।
मधेश प्रदेशमा बहुप्रतीक्षित राजनीतिक भूचाल आएको छ। बहुसंख्यक मधेशी जनताको प्रतिनिधित्व गर्ने दलहरूबीच नयाँ सत्ता गठबन्धन बनेको छ, जसले पुराना शक्ति समीकरणलाई भत्काउँदै मधेश मैत्री नयाँ समिकरण बनेको छ ।

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का जितेन्द्र सोनल प्रदेशको नयाँ मुख्यमन्त्री बन्ने पक्का भएको छ। लोसपा, जसपा, जनमत, माओवादी केन्द्र र नेकपा (एस) मिलेर बनेको ५ दलीय गठबन्धनले ५४ जना सांसदको बहुमतसहित सोनललाई मुख्यमन्त्री बनाउने दाबी गर्दैछ।

 मधेशको राजनीतिमा मधेशी दलहरूको एकता

यो गठबन्धन मधेशी समुदायका लागि सिर्जनात्मक मोड हो। तीन दिनदेखि जनकपुरमै बसेर लोसपाका अध्यक्ष महन्थ ठाकुर र जसपाका अध्यक्ष उपेन्द्र यादवको नेतृत्वमा कांग्रेस-एमाले गठबन्धनलाई तोडेर मूलधारका मधेशी दलहरूबीच गहिरो समझदारी बनेको छ। यसले अब मधेशमा मधेशी जनताको आवाज, सपना र चाहनाअनुसार सरकार संचालन हुने आशा बलियो बनाएको छ।

 कुन दललाई कति मन्त्रालय?

विश्वसनीय स्रोतका अनुसार, मन्त्रालय बाँडफाँटको खाका तयार भइसकेको छ:

  • जसपा – अर्थ मन्त्रालयसहित ४ मन्त्रालय

  • जनमत – भौतिक पूर्वाधार तथा विकास मन्त्रालयसहित ४ मन्त्रालय

  • लोसपा, माओवादी (केन्द्र), नेकपा (एस) – प्रत्येकलाई २–२ मन्त्रालय

यसका साथै राप्रपा, संघीय समाजवादी पार्टी, र नागरिक उन्मुक्ति पार्टीलाई पनि समेट्ने गृहकार्य अन्तिम चरणमा पुगेको छ।

कांग्रेस–एमाले समीकरण धराशायी

यस नयाँ समीकरणसँगै कांग्रेस र एमालेको संयुक्त सरकार बनाउने प्रयास पूर्णरूपमा विफल भएको छ। कांग्रेसले नेकपा (एस)सँग अन्तिम क्षणसम्म छलफल गरे पनि आवश्यक बहुमत जुटाउन असफल भएको देखिन्छ। यसले मधेशमा मधेशी दलहरूको पकड अझ बलियो बनेको संकेत दिन्छ।

मधेश प्रदेशको यो सत्ता समीकरण केवल राजनीतिक परिवर्तन होइन, मधेशी समुदायको आत्मसम्मान, पहिचान र अधिकारको पुनर्स्थापना पनि हो। जितेन्द्र सोनल नेतृत्वको सम्भावित सरकार मधेशका जनताका मुद्दा, भाषा, संस्कृति र विकासको एजेन्डालाई प्राथमिकता दिने कुरामा मधेशी जनताले ठूलो आशा राखेका छन्।

नवीन नरसिंह नेपाली

लेखकको बारेमा

नवीन नरसिंह नेपाली

लेखकबाट थप

पत्रकार नेपाली कोशी टिभी डट कम न्युज पोर्टल र कोशी टेलिभिजनका सम्पादक तथा नेपाल पत्रकार महासंघका सदस्य, सामुदायिक रेडियो प्रसारक संघका केन्द्रिय उपाध्यक्ष हुन । पत्रकार नेपाली कोशी टेलिभिजनका लागि खोज, राजनीति र समसामयिक विषयवस्तुमा कलम चलाउँछन् ।


प्रतिक्रिया!!

सम्बन्धित खबर